नेपाल पत्रकार महांघको आगामी २८ मंसिरमा हुने महाधिवेशनमा चारजना अध्यक्षका उम्मेदवार भएका छन् । अध्यक्षमा उम्मेदवारी दिनेमा निर्मला शर्मा, रमेश विष्ट, देवीप्रसाद सापकोटा र लालसिंह लामा छन् । तर अध्यक्षमा शर्मा र विष्टबिच प्रतिस्पर्धा हुने निश्चित भएको छ । शर्मा प्रेस चौतारी र नेपाल प्रेस युनियनका उम्मेदवार हुन् । विष्ट प्रेस युनियनबाट विद्रोही उम्मेदवार हुन् ।
महासंघको यसपटकको महाधिवेशनमा चौतारी र युनियनबिच ‘अलाइन्स’ भएको छ । जसमा चौतारीले अध्यक्षसहित महिला उपाध्यक्ष, समावेशी सचिव, कोषाध्यक्षसहित २२ पदाधिकारीमा उम्मेदवार उठाएको छ भने युनियनले वरिष्ठ उपाध्यक्ष, महासचिव, खुला सचिव, मधेसी सचिवसहित २८ पदाधिकारीमा उम्मेदवार उठाएको छ ।
तर, विद्रोही उम्मेदवार विष्टलाई प्रेस सेन्टर, समाजवादी प्रेस संगठनसहितको ६ संगठनले समर्थन गरेपछि दुईबिचको प्रतिस्पर्धा रोचक बन्न पुगेको हो । अध्यक्षका उम्मेदवार विष्टले भने, ‘मैले महासंघको केन्द्रीय कार्यसमितिमा रहेर १३ वर्ष बिताएँ । यसक्रममा श्रमजीवी पत्रकारको पक्षमा डटेर लागियो । अब पनि डटेर लाग्ने योजनासहित उम्मेदवार बनेको छु । आशा छ, मुलुकभरका पत्रकार साथीहरूको मलाई साथ रहनेछ ।’
१६ चैत ०१२ मा स्थापना भएको महासंघले हालसम्म २६ अध्यक्ष पाइसकेको छ । तर, हालसम्म महासंघको नेतृत्वमा महिला पुग्न सकेका छैनन् । शर्मा यसपटक महासंघको नेतृत्वमा पुगेर इतिहास बनाउने तयारीमा छिन् । अघिल्लो महाधिवेशनमा पनि अध्यक्षको उम्मेदवार बनेकी शर्माले भनिन्, ‘महासंघ स्थापना भएको ६९ वर्ष बित्यो । यसबिचमा २६ वटा महाधिवेशन भए, सबै अध्यक्ष पुरुष छानिए । यसपटकको महाधिवेशनले नयाँ इतिहास रच्नेछ । नेतृत्वमा महिला अध्यक्ष पुग्नेछ । श्रमजीवी पत्रकारका मुद्दा समेट्नुपर्ने दायित्व हुने नै भयो । आशा छ यसपटक म सफल हुनेछु ।’
विष्ट यसअघि महासंघमा वरिष्ट उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र कार्यसमिमि सदस्य थिए । सञ्चारिका समूहकी पूर्वअध्यक्ष शर्मा भने अघिल्लो महाधिवेशनमा युनियनकै उम्मेदवार विपुल पोखरेलसँग अध्यक्षमा पराजित भएकी थिइन् ।