माओवादीले एक्लै चुनाव लड्न सक्दैन भन्नेहरूको आरोपलाई यसपालिको उपनिर्वाचनको नतिजाले खारेज गरिदिएको छ
यही १६ मंसिरमा सम्पन्न भएको स्थानीय निकायको उपनिर्वाचनले परम्परागत र वैकल्पिक भनिएका दुवैथरी दललाई स्पष्ट र बुझिने सन्देश दिएको छ । उपनिर्वाचनलाई जनमत परीक्षणको आँखीझ्याल र भावी राजनीतिको दिशानिर्देश गर्ने अवसरका रूपमा लिइन्छ । उपचुनावको राजनीतिक दलहरूका लागि विशेष महत्व रहेको हुन्छ । आफ्नो मूल्यांकन, समीक्षा र वस्तुनिष्ठ अवस्था बोधबारे उपनिर्वाचनले जानकारी दिन्छ । शक्ति परीक्षणका मौकाका रूपमा लिइने यस्ता उपनिर्वाचनले राजनीतिक दललाई आफ्नो शक्तिको ऐना पनि देखाइदिन्छ ।
यसपटकको उपनिर्वाचन परिणाममार्फत उचित, भरपर्दो, विश्वासिलो र भविष्य सुनिश्चित गर्ने नेता, नीति र नेतृत्व नपाएसम्म जनताले पुरानामध्येका तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रलाई नै आलोपालो र आफूअनुकूल मतदान गरेर आवधिक रूपमा आफ्नो भाग्य र भविष्य सुम्पने संकेत दिएका छन् । जनता परिवर्तनका आकांक्षी भए पनि उनीहरू पत्रु विकल्प होइन, उन्नत राजनीतिक सोच र शैलीको सुसंस्कृतिक विकल्प चाहन्छन् । जसको पुष्टि जनताले दलहरूले जित्दै आएका आआफ्ना किल्ला भनिएका ठाउँमा अर्को–अर्को दललाई मतदान गरेर जिताएबाट प्रस्ट हुन्छ ।
मुस्किलले एक–दुई ठाउँ जित्नुलाई संयोग मानिन्छ । देशैभर जनअभिमत वृद्धि गर्नुलाई शक्ति आर्जन र शक्तिको पुनरावृत्तिका रूपमा लिन सकिन्छ । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले भनेझैँ ‘माओवादीले एक्लै चुनाव लड्न सक्दैन भन्नेहरूको आरोपलाई यसपालिको नतिजाले खारेज गरिदिएको छ ।’ यसपटकको स्थानीय चुनावमा माओवादीले आफ्नो हैसियत बढाएर माओवादी अब एक्लै चुनाव लड्न सक्दैन भन्ने कांग्रेस, एमालेको बुझाइलाई थोरै भए पनि ‘काउन्टर’ दिएको छ । मतपरिणामले माओवादी नेता–कार्यकर्तामा स्वाभिमान उठेको र आत्मबल बढाएको देखिन्छ ।
देशभर स्थानीय निकाय ७५३ र जनप्रतिनिधि ३५ हजार २२१ छन् । उपनिर्वाचन तीमध्ये जम्मा ४४ स्थानमा मात्र भएको हो । तसर्थ यो उल्लेख्य संख्या होइन । यद्यपि, उपनिर्वाचनले राजनीतिक पार्टीको जनमत कता जाँदै छ, कसको प्रभाव फराकिलो बन्दै छ र कुन पार्टीको जनमत संकुचनमा धकेलिँदै छ भन्ने विषयमा विचार–विमर्श र आत्मसमीक्षा गर्ने अवसर प्रदान गर्छ ।
वैकल्पिक शक्तिको दाबी र स्थिति : विषय जनअभिमतको समग्र स्थिति के हो भन्ने हो । थोरै ठाउँमा प्राविधिक रूपमा चुनाव जित्नु या हार्नु ठुलो विषय होइन । पुराना दल सुध्रिन नयाँ दलले हिर्काउनैपर्थ्यो । नयाँ दलको प्रहारले पुराना कि सिद्धिन्थे कि सुध्रिन्थे । आमअपेक्षा नयाँ दलले दुई–चार बाघे झापु लगाउनु भन्ने नै थियो । बाघे झापु लाउन उच्च नैतिक धरातल (पुरानोको भन्दा ज्यादा नैतिक जिम्मेवारी र जवाफदेहिता), काम गर्ने ढंग र जनविश्वास आवश्यक हुने रहेछ, जुन नयाँ भनिएकाहरूमा देखिएन । त्यसैले, रास्वपा, जनमत र नागरिक उन्मुक्ति पार्टी देशको नेतृत्व हाम्रो हो भन्ने दाबा गर्ने स्थितिबाट प्रतिरक्षात्मक स्थितिमा पुगेका छन् ।
०८४ को निर्वाचनलाई लक्षित गरी आफ्नो बहुमतको मिसन सार्वजनिक गरेको रास्वपाले निर्वाचन भएका ४२ मध्ये १६ स्थानमा ‘वाकओभर’ दिएर आफ्नो हैसियत चुनावअघि नै प्रदर्शन गर्यो । एक ठाउँमा जितबाहेक अन्यत्र प्रभावशाली उपस्थिति कहीँ कतै देखाउन सकेन । उसले सम्मानजनक मत कतै पाएन ।
नेपालको राजनीतिक भूमि कम्युनिस्टहरूका लागि मलिलो र उर्वर भएजस्तै वर्तमान स्थितिमा वैकल्पिक राजनीतिक शक्तिका लागि पनि नेपालको राजनीतिक मैदान फराकिलो र ऊर्जायुक्त नै छ । तर, कैयौँ चिरामा विभक्त कम्युनिस्टले आफ्नो ल्याकत देखाउन सकेनन्, त्यो बेग्लै प्रसंग हो ।
रास्वपा, जनमत र नागरिक उन्मुक्तिलगायत वैकल्पिक शक्तिले आफ्नो ल्याकत देखाउन नसक्दा आउने परिणाममा चामत्कारिक र आकस्मिक उदय हुने कुनै शक्तिबाहेक करिब–करिब तीन दल कांग्रेस, एमाले र माओवादी अलिकति यताउता या तलमाथिबाहेक अन्यथा हुने देखिन्न । २०७९ को स्थानीय चुनावमा काठमाडौंबाट बालेन शाह, धरानबाट हर्क साङपाङ र धनगढीबाट गोपी हमालको जस्तो स्थिति बने फरक कुरा हो, यसबिच नयाँ पार्टी बनेर प्रभाव विस्तार गरे अर्को कुरा हो, नत्र सम्भावित परिणाम उलटपुलट हुने संकेत देखिन्न ।
स्थानीय निर्वाचन ०७९ र उपनिर्वाचन ०८१ को तुलना : उपनिर्वाचन भएका ४२ स्थानमा कांग्रेसले यसपटक कुल ४४ हजार ५५७ मत ल्याएको देखिन्छ । यो ०७९ को निर्वाचनमा उसले प्राप्त गरेको मतको तुलनामा ११ हजार ३११ मत कम हो । समग्र मत घटे पनि कांग्रेसको मत २१ स्थानमा बढेको र २१ स्थानमा घटेको देखिन्छ । यस उपनिर्वाचनमा माओवादीले कुल ३५ हजार ६९९ मत ल्याएको छ । यो २०७९ सालको निर्वाचनमा सो पार्टीले प्राप्त गरेको मतको तुलनामा १० हजार २५४ मत बढी हो । माओवादीले उम्मेदवारी दिएकामध्ये २२ स्थानमा मत बढाएको र १९ स्थानमा गुमाएको देखिन्छ । समग्र परिणामले माओवादीको मनोबल उकासिएको देखिन्छ ।
आफ्नो सुशासन, समृद्धि र समाजवादको नारालाई मतदाताले पुनः अनुमोदन गर्ने संकेतका रूपमा उसले अर्थ्याएको छ । एमालेले यसपटक कुल ३८ हजार ९९८ मत ल्याएको देखिन्छ । यो ०७९ को निर्वाचनमा एमालेले प्राप्त गरेको मतको तुलनामा एक हजार ४०८ कम हो । समग्र मत घटे पनि एमालेको मत २२ स्थानमा बढेको र १९ स्थानमा घटेको तथ्यांकले देखाउँछ । जसपाले दुई, नेकपा एसले एक, रास्वपाले एक र स्वतन्त्र उम्मेदवारले एक स्थान जिते पनि राप्रपा र जनमत पार्टीलाई भने उपनिर्वाचन परिणामले सुखद सन्देश दिएन । राप्रपा कुनै पनि स्थानमा प्रतिस्पर्धामै आउन सकेन । मधेशमा जबर्जस्त उपस्थिति देखाएको जनमत पार्टीले कुनै पनि स्थानमा जित हासिल गर्न नसक्नुले उसको भविष्य यसै होला भन्न सकिने अवस्था देखिन्न ।
माओवादीले कांग्रेस र एमालेले भन्दा तुलनात्मक रूपमा आफ्नो मत वृद्धि गरेको छ । कांग्रेस र एमाले विगतमा भन्दा मतमा घाटामा गएका छन् । माओवादी १० हजार २५४ मत थप्न सफल भएको छ । माओवादी गणतन्त्र र धर्मनिरपेक्षता स्थापनार्थ सबैभन्दा बढी लडेको, रगत बगाएको र जोखिम मोलेको दल हो । माओवादी अध्यक्ष प्रचण्ड एक्लै कम्युनिस्ट नेतृत्व गरेका र जनयुद्धको रथ हाँकेर व्यवस्था पल्टाउने कमान्डर हुन् । गणतन्त्रका लागि सबैभन्दा धेरै जोखिम मोलेर युद्ध गर्ने तर गणतान्त्रिक व्यवस्था परिवर्तनको जस नपाएको दल माओवादी र नेता प्रचण्ड नै हुन् । प्रचण्ड राजनीति र सत्ताको मामलामा चञ्चल स्वभावका मानिन्छ र यसमा सत्यता छ । तर, प्रचण्डलाई चञ्चल बनाउन ‘ग्राउन्ड’ तयार गरिदिने दलहरू पनि दोषमुक्त छैनन् ।
माओवादीको तागत : माओवादीसँग जनयुद्धका क्रममा दुःख पाएका, परिवार र आफन्त गुमाएका, १० वर्ष कठिन संघर्ष गरेका नेता–कार्यकर्ताको ठुलो समूह र तिनका परिवार देशभर छन् । तिनले माओवादीबाहेक अन्यत्र भोट हाल्दैनन् । माओवादी नेता–कार्यकर्तालाई अरूले हियाएको इख पनि थियो । विगतमा फुटेर गएका माओवादी नेता–कार्यकर्ता पनि माओवादीले चुनाव जित्दा र माओवादी शक्तिशाली हुँदा मात्र आफूलाई सुरक्षित महसुस गर्ने स्थितिमा थिए, जसका कारण पनि माओवादीको भोट बढ्यो । माओवादीका जनवर्गीय संगठनहरू देशभर क्रियाशील छन् । राजनीतिक पार्टीका लागि यस्ता संगठन मेरुदण्ड नै हुन् । माओवादीलाई यसपटक आफ्नो ल्याकत आफ्नै खुट्टामा टेकेर जाँच्नु पनि थियो, जसका लागि प्रचण्डले जनयुद्धकालीन आँट र ऊर्जा प्रयोग गरे र पार्टी एमालेभन्दा पनि ठुलो हुन पुग्यो । वर्तमान केपी ओलीको गठबन्धन सरकारको असफलता, अकर्मण्य स्थिति र जनतालाई कुनै विशेष सन्देश दिन नसकेको परिस्थति पनि नेकपा माओवादीका लागि आफ्नो औचित्य स्थापित गरी जनतामा जान अत्यन्तै सहयोगी बन्यो । तथापि, माओवादी कमब्याक हुने पूर्वावस्थामा आउने विषय हाललाई संकेतका रूपमा मात्र मान्न सकिन्छ, निर्णायक फैसला त जनताले आगामी दिनमा गर्नेछन् ।
सत्ता सञ्चालन प्रभावकारी : माओवादी प्रचण्ड ०६४ मा ठुलो शक्ति भएर आउँदा सत्ता सम्हाल्न नजानेका र चुकेकै हुन् । तर, पछि माओवादीले राज्य सञ्चालनका तौरतरिका सिक्दै र अनुभव गर्दै गयो । फलस्वरूप अस्थिरको आरोप लागे पनि ०७९ पछि एमाले, कांग्रेस र फेरि एमालेसँगको सत्ता सहकार्य माओवादीका लागि तुलनात्मक रूपमा फलदायी रह्यो ।
आर्थिक घोटालाका कुनै ठुला काण्ड घटेनन्, नीतिगत भ्रष्टचारका कुरा बाहिर आएनन् । बरु आफ्नै नेता कृष्णबहादुर महरासहित एमालेका टोपबहादुर रायमाझी, कांग्रेसका बालकृष्ण खाँडलगायत अन्य शक्तिशाली नेता र व्यक्तिहरू भ्रष्टाचार र बेथितिको आरोपमा समातिए, जसले प्रचण्ड नेतृत्वको सरकारलाई जनतामाझ भ्रष्टचारविरोधी देखाउन सहयोग पुग्यो । जनताले एकपटक माओवादीलाई पुनः आशाको नजरले हेरे र त्यसैको परिणाम अहिलेको स्थानीय निकायको उपनिर्वाचनमा माओवादीलाई नाफा हुने गरी सत्ताको नेतृत्व गरेको एमालेलाई पछि पार्ने जनसमर्थन प्राप्त भयो ।
उपनिर्वाचनमा आलोपालो गरेर पुराना दल जनताको रोजाइमा परे पनि यो केवल झिनो संकेत मात्र हो । दलहरू सुध्रिनुपर्ने एक ठाउँमा मात्र होइन, सर्वत्र छ । आफ्नो सिद्धान्त, निष्ठा र इमानमा दलहरू खरो उत्रन नसकेको खण्डमा भोलिका दिनमा परिणाम जे पनि आउन सक्छ । माओवादी केन्द्रको शक्तिको बढोत्तरी खास परिस्थतिको खास विश्लेषण मात्र हुन पनि सक्छ ।
माओवादीले आफूलाई बदलेर गर्नुपर्ने थुप्रै काम बाँकी छन् । माओवादी पुनः शक्तिशाली भएर सत्तामा कमब्याक हुन सामान्य प्रयत्न र निष्ठाले पुग्दैन । आफूभित्रको मैलो धुन सक्यो भने माओवादीको कमब्याक शक्ति सन्तुलन र बहुआयामिक यथार्थ बन्नेछ । माओवादीभित्रको अनेकता जनवर्गीय संगठनभित्रको अन्योल, अखिल क्रान्तिकारीजस्तो आफ्नो नर्सरीमा मौलाएको फंगस आदिको विहंगम विश्लेषण गरी पार्टीको आवश्यक पुनर्संरचना गर्न सक्दा र जनतासँग बढेको दूरी घटाउन सक्दा माओवादीको भविष्य ‘रेडजोन’ मुक्त भएर ‘ग्रिन जोन’मा पर्दापण गर्ने सम्भावना देखिन्छ ।