मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १५ शुक्रबार
  • Thursday, 26 December, 2024
सञ्जीव कार्की
२o८o मङ्सिर १५ शुक्रबार o६:४४:oo
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

निरपेक्ष होइन, सापेक्षिक स्वतन्त्रताको पक्षमा

मर्यादित स्वतन्त्रताभित्र पत्रकारिताका आधारभूत सिद्धान्तहरू शुद्धता, सन्तुलन, विश्वसनीयता, शिष्टता, नैतिकता, स्वच्छता सबै सन्निहित रहन्छन् 

Read Time : > 4 मिनेट
सञ्जीव कार्की
नयाँ पत्रिका
२o८o मङ्सिर १५ शुक्रबार o६:४४:oo

स्वतन्त्रताको अर्थ नेपाली बृहत् शब्दकोशमा यसरी गरिएको छ, ‘कुनै प्रकारको शासनिक बाधा, बन्धन आदि नभई उचित कार्य र व्यवहार गर्न पाउने अधिकार ।’ यसले उचित कार्य र व्यवहार गर्न पाउने अधिकार भनेर स्वतन्त्रतामा उचित शब्द पनि थपिदिएको छ । स्वतन्त्रता भनेको मनलाग्दी गर्न पाउने व्यवस्था नभएर योग्य र सुयोग्य सूचना पाउने नागरिक हक भएको प्रस्ट छ । सबै सूचना र समाचार प्रसारण, प्रकाशनलायक हुँदैनन् । त्यसैले पत्रकारसँग समाचार स्क्रिनिङको योग्यता र आचरण आवश्यक हुन्छ । त्यो योग्यता र आचरणसहितको स्वतन्त्रता नै उसको अभिव्यक्ति स्वतन्त्रता हो ।  

स्वतन्त्रताको निरपेक्ष अर्थ खोज्न थालियो भने स्वतन्त्रता मर्यादाविहीन र अराजक बन्छ । स्वच्छन्दता स्वतन्त्रता हुन सक्दैन । बेलगामपनलाई स्वतन्त्रताको अर्थ भिराइयो भने समाज बढ्दो रूपले अराजक बन्दै जानेछ । पाएजति सूचना बजारमा पठाउनु स्वतन्त्रताको दुरुपयोग हुन्छ । नियमको उल्लंघन हुन थालेपछि नियन्त्रण र नियोजनको विषय पनि उठ्छ नै । कानुन आकर्षित बन्छ । त्यसैले हाम्रो प्रेसलगायत अन्य सामाजिक सञ्जालको स्वतन्त्रता नियन्त्रणउन्मुख बन्दै छ । हामीले नियमन र निषेध दुई फरक कुरा हुन् भनेर बुझ्न आवश्यक छ । 

मर्यादित स्वतन्त्रता आजको आवश्यकता हो । प्रेस स्वतन्त्रताको नाममा जुन हदका कार्य भएका छन्, तिनले प्रेस स्वतन्त्रताको खिल्ली नै उडाएका छन् । स्वतन्त्रताको परिभाषामा अराजकता थपेका छन् । आममान्छेको चासो र स्वतन्त्रताको लडाइँ लडेकाहरूको चिन्ता अनि चर्चाको विषय अशिष्ट स्वतन्त्रताको विपक्षमा छ ।

 स्वतन्त्रता सामाजिक नैतिकताको विषय हो । अभद्र र अश्लील स्वतन्त्रता जंगली अभ्यास हुन्छ । मानवीय, सभ्यता र शिष्ट अनुशासित समाजमा मर्यादित स्वतन्त्रताकै अभ्यास गरिन्छ । पंक्तिकार मर्यादित पत्रकारितामा मर्यादित स्वतन्त्रताको पक्षधर हुन रुचाउँछ । वाक्–स्वतन्त्रताको अर्थ वाक्–मर्यादा गुमाउनु हुन सक्दैन । मर्यादित स्वतन्त्रताको पक्षधर हुनु अधिकार र गौरवको विषय हो, हीनताको होइन । मर्यादित स्वतन्त्रताभित्र पत्रकारिताका आधारभूत सिद्धान्तहरू शुद्धता, सन्तुलन, विश्वसनीयता, शिष्टता, नैतिकता, स्वच्छता सबै सन्निहित रहन्छन् ।  

वक्–स्वतन्त्रतालाई लोकतन्त्रको प्राणवायु मानिन्छ । स्वतन्त्रताको महत्व के र कति हुन्छ, त्यो स्वतन्त्रताको उपयोग गर्न नपाएका पुस्ता र विश्वमा वाक्–स्वतन्त्रता खोसिएका मुलुकका मानिसहरूले अभिव्यक्त गर्ने पीडामा देख्न सकिन्छ । ‘मेरो कलम नभाँच, मेरो बोल्ने मुख नथुन, मेरो हातगोडामा नेल नठोक’ भन्ने बिपी कोइरालाका समकालीन सबै कम्युनिस्ट कांग्रेस र ०४६ सालसम्मको स्थिति व्यहोर्ने आममानिसलाई स्वतन्त्रताको अर्थ राम्ररी थाहा छ । राजा ज्ञानेन्द्रले ०६१ सालमा सञ्चार माध्यममा गरेको निषेधको परिणति के भयो दुनियाँ जगजाहेर छ । 

छिमेकी मुलुक चीन, उत्तर कोरिया, लाओस, भियतनाम, क्युवाजस्ता कम्युनिस्ट शासन भएका मुलुकका जनता र तिनको उकुसमुकुस र छटपटीमा वाक्–स्वतन्त्रताको तिर्खा व्याप्त भएको देख्न सकिन्छ । हाम्रै छिमेकी मुलुक भुटानमा पनि राजनीतिक स्वतन्त्रताको हक कुण्ठित छ, जसको पीडा एक लाखभन्दा बढी भुटानी शरणार्थीलाई आश्रय दिँदा हामीले पनि केही अनुभूत गरेकै हो । प्रजातन्त्रको मौलिक हक हो, वाक्–स्वतन्त्रता । नेपालका ००७ साल, ०२९ साल ०३६ र ०४६ साल ०५२ र ०६२/०६३ सालका सशस्त्र, निःशस्त्र, सत्याग्रह, जनयुद्ध मधेश आन्दोलन आदिमा भएको प्रदर्शन, पोखिएको रगत, सुम्पिएको जीवनको अभीष्ट हरेक तह र तप्का हरेक भूगोलका मान्छेहरूको प्रजातान्त्रिक स्वतन्त्रता सुनिश्चित गर्नकै लागि थियो । 

सामाजिक सद्भाव बिथोलिने, समाज भड्किने, प्रविधिबाट नभएर प्रयोगकर्ताबाट हो । यसर्थ, नयाँ र प्रविधिमैत्री पुस्तालाई सामाजिक विमर्श र ज्ञान उत्पादनमा सहजीकरण गरौँ । गलत ज्ञान र गलत अफवाहबारे सचेत गराऔँ ।  प्रविधिको नियमन गरौँ । 
 

प्रेस स्वतन्त्रतालाई लोकतान्त्रिक व्यवस्थाको मेरुदण्ड मानिन्छ । कसैको हस्तक्षेप, नियन्त्रण र नियोजनविना स्वतन्त्र तवरले कार्य गर्ने लेख्ने, बोल्ने, संघसंगठन खोल्न वा निर्बाध रूपमा आफ्ना गतिविधि गर्न पाउने अवरोधरहित अवस्थाको प्रावधान हो स्वतन्त्रता । लोकतान्त्रिक मूल्य, मान्यता र अस्मिताको जीवन्तता र गतिशीलतालाई वाक्–स्वतन्त्रताको परिधिको रूपमा व्याख्या विश्लेषण गरिन्छ । विचार अभिव्यक्तिको स्वतन्त्रताले खुला समाजको वृद्धि र विकासमा बहुकोणबाट मद्दत पुर्‍याइरहेको हुन्छ । विचार प्रवाह गर्ने, आफ्नो मार्गनिर्देश सम्प्रेषण गर्ने स्वतन्त्रताले नागरिकलाई बलियो बनाउन र अन्यायको विरुद्ध प्रथम प्रतिरोध गर्न बल प्रदान गर्छ । 

स्वतन्त्र र निष्पक्ष ढंगले गर्ने टिप्पणी आलोचना र विरोधले गलत प्रवृत्तिलाई सचेत गराउने र केही हदसम्म नियन्त्रण गर्ने काम पनि गर्छ । तर, संवैधानिक हकको रूपमा नै सुरक्षित अभिव्यक्ति स्वतन्त्रता प्रयोग गर्न नजान्दा यसको मर्यादा उल्लंघन हुन पुग्छ । यसमा नेता, पत्रकारलगायत सबै बारम्बार चुकेका छन् । आधुनिक सूचना प्रविधिका कारण हरेक मान्छेको हातमा सञ्चारमाध्यमका थरीथरी साधन पुगेका छन् । आज, एक क्लिकमा कुनै पनि अभिव्यक्ति तत्क्षण विश्वव्यापी हुन सक्ने अवसर प्राप्त छ । परिणामतः जुनसुकै घटना पनि सामाजिक सञ्जालमा पुग्छ र तत्काल टिप्पणी प्रतिटिप्पणी हुन थालिहाल्छ । यसर्थ पनि सञ्चार क्षेत्र अत्यन्तै संवेदनशील क्षेत्र हो भन्ने भुल्नु हुँदैन । वाक्–स्वतन्त्रताको नाममा छाडा बोली, अश्लीलताको प्रदर्शन र असभ्य टिप्पणीले यसको मूल मर्मलाई नै घात गर्छ । 

हामी स्वतन्त्रताको नाममा जुन कुरा गरिरहेका छौँ र निर्बाध पाउने हक भनिरहेका छौँ, त्यो मर्यादामाथिको उपहास हो । स्वतन्त्रताको पनि मर्यादा र नैतिकताका सीमारेखा छन् । ‘ब्रेकिङ न्युज’को होडले लोकप्रिय बन्ने ध्याउन्न र अभिव्यक्ति अधिकारको नाममा कतै हामीले कर्तव्य र जिम्मेवारी बिर्सिरहेका त छैनौँ ? 

जान–अन्जानमा हतारोमा विचार अभिव्यक्त गर्दा क्षणमै कसैको जिन्दगी बर्बाद पार्ने र सामाजिक हैसियत धुलिसाथ पारिदिने कामसमेत भएका छन् । गलत सन्देश प्रवाह गर्दा र कतिपय संवेदनशील विषयका सन्देश प्रकाशन गर्दा पर्ने दीर्घकालीन असरलाई, व्यक्तिगत चरित्र हत्यालाई संवैधानिक बन्दोबस्तीले मात्रै बचाउन सकिन्न । त्यसैले सचेतता अत्यन्तै जरुरी हुन्छ र छ । लोकतन्त्र बलियो बनाउन हरेक विषयमा जनमत, सचेत खबरदारी र पारदर्शिता अपरिहार्य हुन्छ । तर, सबै विषयमा पारदर्शिताको माग गर्दै स्वतन्त्रताको कुरा गर्नु कर्तव्यप्रति आँखा चिम्लनु पनि हो । 

स्वच्छ आलोचना, स्वस्थ र सैद्धान्तिक टिप्पणीले समाजलाई अग्रगमनको मार्गदर्शन मिल्छ । प्रवृत्तिगत आलोचनाले व्यक्तिको मानमर्दन हुँदैन । यसैगरी, विचारमा बहुलता भएको समाजमा सबैको एकै विचार मान्यता र विश्वास पाउन सकिँदैन । त्यसैले कतिपय अभिव्यक्ति अलि असहज र अस्वाभाविक तवरमा पनि आउँछन् । यस्तोमा, दमनको हतियारले तह लगाउने नभएर नैतिक दबाबसहित मर्यादा र सीमामा बसेर प्रतिरोध गर्नुपर्छ ।

लोकतन्त्रको आधारभूत तत्व अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता नै हो । तर, यो मर्यादित, अनुशासित र अनुकरणीय भने हुनुपर्छ । यसर्थ, वाक्–स्वतन्त्रता मर्यादासहितको विशिष्ट संस्कृतिसमेत हो । नैतिक र जवाफदेही स्वतन्त्रताले मात्रै लोकतन्त्र मजबुत हुन सक्छ ।

प्रविधिको क्षणिक लाभ र कस्मेटिक आकर्षणभन्दा यसले पार्ने दूरगामी जोखिममा ध्यान पुग्नु जरुरी छ । समग्र मिडियामा निषेध नभएको र अभिव्यक्तिको स्वतन्त्रता प्रकट गर्ने ठाउँ अरू पनि भएको अवस्थामा टिकटकमाथिको सरकारी प्रतिबन्ध विशेष आपत्तिको विषय नहुनुपर्ने हो । यद्यपि समस्या कन्टेनको हो, माध्यमको होइन । सामाजिक सद्भाव बिथोलिने, समाज भड्किने, प्रविधिबाट नभएर प्रयोगकर्ताबाट हो । यसर्थ, नयाँ र प्रविधिमैत्री पुस्तालाई सामाजिक विमर्श र ज्ञान उत्पादनमा सहजीकरण गरौँ । गलत ज्ञान र गलत अफवाहबारे सचेत गराऔँ ।  प्रविधिको नियमन गरौँ । वाक्–स्वतन्त्रताको जति नै मूल्य, महत्व र अर्थ वाक्–मर्यादाको पनि छ । निर्बाध वाक्–स्वतन्त्रताको माग गर्नेले वाक्–मर्यादाको पक्ष कहिल्यै बिर्सन नमिल्ने विषय हो ।  

संवैधानिक व्यवस्था : नेपालको संविधान ०७२ को धारा १७ ले विचार तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ । धारा १७ (२) (क) मा प्रत्येक नागरिकलाई ‘विचार र अभिव्यक्तिको स्वतन्त्रता हुने’ उल्लेख गर्दै प्रतिबन्धात्मक वाक्यांशमा त्यस्तो अधिकार भए पनि त्यस व्यवस्थाले ‘नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता र स्वाधीनता वा संघीय एकाइ वा विभिन्न जात, जाति, धर्म सम्प्रदायबीचको सुसम्बन्धमा खलल पार्ने, जातीय भेदभाव वा छुवाछुतलाई दुरुत्साहन गर्ने, श्रमप्रति अवहेलना गर्ने, गालीबेइज्जती, अदालतको अवहेलना हुने अपराध गर्न दुरुत्साहन गर्ने वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने कार्यमा प्रतिबन्ध लगाउने गरी ऐन बनाउन रोक लगाएको मानिनेछैन’ भनी उल्लेख छ । यसले सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने कार्यमा प्रतिबन्ध लगाउन सकिने भन्छ ।

 अधिकारसँग कर्तव्यजस्तै वाक्–स्वतन्त्रतासँग वाक्–मर्यादा, वाक्–सीमा र वाक्–कर्तव्यका पक्षहरू अन्योन्याश्रित भएर रहेका हुन्छन् । वाक्–स्वतन्त्रता र वाक्–मर्यादा एकै सिक्काका दुई पाटा हुन् । जसरी सिक्काको दुई पाटोविना सिक्का खोटो हुन्छ, त्यसैगरी वाक्–मर्यादा र वाक्–स्वतन्त्रताविनाको समाज खोटो हुन पुग्छ । 

वाक्–स्वतन्त्रता अनुशासित र मर्यादित भए मात्र सभ्य समाज र संस्कृति निर्माण सहज हुन सक्छ । यसर्थ, वाक्–मर्यादाको सवाललाई वाक्–स्वतन्त्रताको संकुचन नभएर कर्तव्य र अधिकारलाई सँगसँगै बुझिने कडीको रूपमा लिइनुपर्छ । तर, वाक्–स्वतन्त्रता मर्यादित तब मात्र हुन्छ, जब शासन र शासक मर्यादित र जिम्मेवार हुन्छन् । जिम्मेवार निकाय र सरकारलाई मात्र गैरजिम्मेवार स्वतन्त्रताको हनन गर्ने हक र नैतिक तागत रहन्छ । नियन्त्रित स्वतन्त्रताको विरोध र मर्यादित स्वतन्त्रताको पक्षमा आजको प्रेस र सामाजिक सञ्जाल रहनु जरुरी छ । वाक्–स्वतन्त्रता विशिष्ट प्रयोग हो, अश्लील अभ्यास किमार्थ होइन । स्वतन्त्रता निरपेक्ष होइन, सापेक्षित हुँदा नै यसको मर्यादा रहन्छ । अनियन्त्रित स्वतन्त्रता सामाजिक र नैतिक जोखिम हो भन्ने भुल्न हुँदैन ।  
(कार्की विधावारिधिका शोधार्थी हुन्)