मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष १२ बिहीबार
  • Thursday, 26 December, 2024
सञ्जीव कार्की
२o८o पौष १२ बिहीबार o७:१o:oo
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

नयाँमाथि जहिल्यै अविश्वास

पुरानो पुस्ताले नयाँ पुस्तामा जहिल्यै खोट देख्छ, पुस्तान्तरणमा भाँजो हाल्छ, तर सब बाधा–व्यवधान पन्छाउँदै नयाँ पुस्ता अघि बढिरहन्छ

Read Time : > 5 मिनेट
सञ्जीव कार्की
नयाँ पत्रिका
२o८o पौष १२ बिहीबार o७:१o:oo

हरेक कालखण्डमा अघिल्लो पुस्ताले नवीन पुस्ताको सोच, शैली, अवधारणा र तरिका अनैतिक, अव्यावहारिक र आलाकाँचो ठान्छ, हत्तपत्त रुचाउँदैन । चलनचल्तीको भन्दा पृथक् गतिविधि, सोच्ने तरिका, प्रश्न गर्न नसकिने भनिएकाहरूलाई प्रश्न गर्नेहरूलाई समाजविरोधी मानिन्छ । जे अगाडि देख्यो, त्यो नै आखिरी सत्य हो भनिएको समाजमा सत्य अर्को पनि हुन सक्छ है भन्ने खोज अपराध कर्म र निकृष्ट हर्कतका रूपमा दरिन सक्छ ।

नयाँ विचार दण्डित हुने परम्परा मानव समाजमा नौलो मानिन्न । चाहे त्यो आधुनिक विश्वको वैज्ञानिक सभ्यता होस् या अन्धविश्वासी समाजको पुरातन सभ्यता, प्रत्येक नयाँ पुस्ता पुरानो पुस्ताको ताडना र कोपभाजनबाट अभिशप्त छ । विश्व इतिहासमा यस्ता धेरै दृष्टान्त पाइन्छन् । नयाँ विचारको भ्रूण हुर्काउनु, पाल्नु र समाजमा स्थापित गर्नु सुगम कर्म मानिन्न । नयाँ विचारको भ्रूणमै हत्या हुने खतरादेखि पुष्पित र पल्लवित हुँदा हरपल खतराको सामना गर्दै हुर्केको हुन्छ । नयाँले आगोमा टेक्ने, आँधीमा उभिने, हिउँपानी, घाम, ओस सबै सहने पचाउने ल्याकत राख्दै खारिनुपर्छ । 

चेप्टो भनिएको सूर्य गोलो छ भनेर २५०० वर्षपहिले अनुमान गर्ने र प्रमाणित गर्ने ग्रिक गणितज्ञ पाइथागोरस र दार्शनिक एरिस्टोटललाई आफ्नो निष्कर्ष सुनाउन र बुझाउन हम्मेहम्मे परेको थियो । उनीहरूका कुरा समाजले सहजै पत्याएन, बहुला ठान्यो । आकाशको सूर्य हेरेर समयको अनुमान गर्ने समयमा पोप सिल्भेस्टरले सन् ९६६ मा घडीको आविष्कार गरेर समय व्यवस्थापन गर्न सजिलो बनाइदिँदा त्यसको चर्को विरोध भयो र उनलाई समाजको लय भत्काउने अवाञ्छित तत्व भनियो । 

आजसम्म नयाँ पुस्ताले जे–जस्ता चिन्तन अघि सारेर समाजमा तरंग पैदा गरे, ती सब तत्कालीन समयका लागि अराजक, अनैतिक र अयुगीन विचार मानिएका थिए 
 

ईश्वर नै आदि र अन्तिम सत्य भनिएको वेला ईश्वरमाथिको हमला र बज्रपात असामान्य हिम्मतको कुरा थियो । पापी, हठी, अपराधी र अधर्मी देखिने चुनौती थियो । ईश्वरीय विधि र विधानविरुद्ध आजको मान्छेको क्रियाकलाप केन्द्रित छ । आविष्कार, चिकित्सा अन्तरिक्षको खोज, विज्ञानको अनेकौँ चमत्कार ईश्वरप्रतिकूल अवधारणा हुन् । ईश्वरसँगको निर्भरता छोड्ने प्रथम कदम नै ईश्वरसँग मान्छेको विद्रोह र प्रगतिको यात्रा थियो । दार्शनिक फ्रेडरिक नित्सेले ईश्वर मरेको घोषणा गरे । तर, त्यो हिम्मत आजपर्यन्त गर्न मुस्किल छ । विश्वका आठ अर्ब मानिसमा १५ प्रतिशत मान्छे मात्र भौतिकवादी छन् भनिन्छ । ईश्वर एक मात्र सत्य मानिने समयमा ईश्वर मरेको घोषणालाई कति अराजक मानियो होला, अनुमान लगाउन कठिन छैन ।

इसापूर्व करिब ६०० को समयमा पूर्वीय भूमिमा वेदको निन्दा (ब्रह्म सत्य जगत् मिथ्यालाई) गरेर भौतिक तत्वलाई (अग्नि, जल, तेज, वायु र आकाश) मात्र सृष्टिको आदितत्व र चेतनालाई विशिष्ट गुण मान्ने चार्वाक मत सम्भवतः पहिलो भौतिकवादी विचार तत्कालीन समाजका लागि विवर्जित विषय थियो । २५०० वर्षअघि गौतम बुद्धले अवलम्बन गरेको शान्तिको मार्ग पनि कम कठिन र अनालोच्य थिएन । यसर्थ, नयाँ विचार, नयाँ आविष्कार र नयाँ अध्याय जहिल्यै र जुनसुकै समाजले सहजै स्विकार्न सक्दैन । 

आजसम्म नयाँ पुस्ता र दस्तालाई सहजै ठाउँ छोडेको, बाटो खोलिदिएको इतिहास बिरलै होला । नयाँले हामीलाई चौतर्फी घेराबन्दी गरे भन्ने गुनासो इतिहासको अध्ययनको कमीमा आएको धारणा हो । घेराबन्दी तोड्ने संकल्प र हिम्मत मात्र जायज हो । कुनै पनि विचार निरन्तर टिक्न त्यसमा खिया लाग्नु हुँदैन । विचारहरू पनि समयक्रममा भुत्ते हुन्छन्, जसलाई निरन्तर धार लाउने र खिया झार्ने, आरन र खलाँती आवश्यक हुन्छ ।

हवाईजहाज बनाउने राइट दाजुभाइको परिकल्पना १९०३ को सफल परीक्षण र लगातार परीक्षणपश्चात् मात्रै मान्यता पाएको वैज्ञानिक आविष्कारले नै आज आवाजभन्दा छिटो उड्ने सुपर सोनिक हवाईजहाजसम्मको यात्रा तय भएको मानिन्छ । समाजले हरेक नयाँ परिकल्पनालाई पागलपनको संज्ञा दिन्छ । सुप्रसिद्ध दार्शनिक, राजनीतिक, अर्थशास्त्री, इतिहासकार, माक्र्सवादका प्रणेता, समाजशास्त्री कार्लमाक्र्स विचार र दर्शनको दुनियाँमा १९४८ मा ‘कम्युनिस्ट पार्टीको घोषणापत्र’ लेखेयता सबैभन्दा बढी पढिएका र विरोध गरिएका विचार हुन् । विचारको सत्तामा माक्र्स जहिल्यै केन्द्रमा छन् । उनका विचारको विरोध होस् या समर्थन, विचारहरू घर्षणमा छन्, विचारकहरू घोत्लिएका घोत्लिएकै छन् ।

मार्क्स  पनि तत्कालीन समाजका लागि अराजक नै हुन् । सर्वहारा, मजदुर, भूमिहीन र किसानका हितको कुरा गर्ने मार्क्स  व्यवस्थाविरोधी, समाजविरोधी र सामाजिक मूल्यविरोधी मानिन्छन् । परम्परागत समाजका प्रचलित मानक भत्काएर नयाँ मानवीय मानक सिर्जना गर्ने माक्र्सको दृष्टिकोण शक्ति र सत्ताको हालीमुहालीमा एकछत्र राज गरेर बस्नेको नजरमा बिझाइरह्यो र अझै सयौँ वर्ष बिझाइरहनेछ । 

वि.सं. १९९७ मा मारिएका चार सपुत, जसले राणा शाहीविरुद्ध प्रजातन्त्रको विगुल फुकेको परिणाममा मारिनुप¥यो । २००७ सालको परिवेशमा राजनीतिमा क्रियाशील दलहरू, प्रजापरिषद्, नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी त्यतिखेर समाजविरोधी अराजक र अनैतिक गतिविधिका वाहक मानिन्थे । व्यवस्था परिवर्तनका लागि क्रान्ति र आन्दोलनको पक्षमा भएकाले उनीहरू तत्कालीन सत्ताको नजरमा आँखी हुने नै भए । ०१६ मा बिपी कोइरालाको मन्त्रीमण्डलमा पहिलो महिलामन्त्री द्वारिकादेवी ठकुरानीको नियुक्ति आजको स्विट्जरल्यान्डमा महिलालाई मताधिकार दिनुभन्दा १२ वर्षपहिलेको घटना थियो । त्यो घटना नेपाली समाजको चेतभन्दा धेरै अघि भएको कारण सहजै ग्राह्य विषय थिएन । 

राजा महेन्द्रको ०१७ को राजनीतिक कुपछि पनि नेपाली कांग्रेस, नेकपालगायत राजनीतिक शक्तिहरू अराष्ट्रिय तŒव भनेर प्रतिबन्धित थिए । त्यसैले ०४६ को परिवर्तन नआएसम्म दण्डका भागीदार बनेर जेल गए, निर्वासनमा बसे या भूमिगत बने । २००६ सालमा लमजुङमा हलो जोत्ने अगुवाइ गरेका हरिभक्त, शेषकान्त र तोयानाथलगायत (२७ बाहुन) ले गरेको प्रतीकात्मक विद्रोह, समतावादी चेत वैसम्य समाजले पचाउन सकेन । त्यसैले परिवर्तन र विद्रोहको चेतलाई गीतमार्फत व्यंग्य गरियो– ‘शेषकान्त लेप्टेन, हरिभक्त तिघ्रे, तोयानाथ पण्डित, हलो जोती बिग्रे’ । बाहुनले पनि हलो जोत्न हुन्छ अनि कुनै पनि काम जातका आधारमा निषेध र अयोग्य हुँदैनन् भन्ने अभिप्रायः हलो जोत्नेहरूको देखिन्छ ।

समाजले बिग्रेको, बहुलाएको, जात फालेको, अपसकुनको काम गरेको भनेर चित्रण गरेर परिवर्तनकारी चेतनालाई खिज्याएर जेल कोचेको थियो । समाजमा नयाँ विचार अपच हुन्छन् । यो हरेक समयको, हरेक समाज र देशको विडम्बनायुक्त परिस्थिति हो । नयाँलाई निषेध, प्रतिरोध र हतोत्साहित गर्न सत्ताले अनेकन् हथकण्डा प्रयोग गर्छ । समाजमै प्रतिकारको भाष्य निर्मित गरेर लडाउन र सामाजिक अस्वीकृतिका लागि ज्यादती गर्छ । दमन र उत्पीडनको सहारा लिन्छ । प्रतिकूल परिस्थिति निर्माण गरिदिन्छ ।

लक्ष्मीप्रसाद देवकोटाले साहित्यमा नयाँ लहर ल्याइदिए, तर शासकहरू उनको चेतविरुद्ध थिए र उनी पनि बहुला बनाइए । बालकृष्ण समले आधुनिक नेपाली महाकाव्यमा परम्परागत महाकाव्य लेखनको केन्द्र कुलीन र सम्भ्रान्त नायक बनाउने चलनलाई विस्थापन गर्दै ‘चिसो चुलो’ महाकाव्य (२०१५) मा अछुत भनिएको समुदायको एक सामान्य पात्रलाई नायक बनाएर महाकाव्यमा नयाँ नायकको प्रस्तावना गरेर एउटा क्रमभंग गरिदिए । यो साहित्यिक कर्मको पनि शास्त्रीयतावादीहरूले व्यापक र धुवाँदार विरोध गरे । ०६२ मा ‘बिसे नगर्चीको बयानमा’ कवि श्रवण मुकारुङले पृथ्वीनारायण शाहको समकक्षता प्रदान गरेकामा पनि विमति राखियो । पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणको एकलौटी जस दिएको पढ्दै आएको समाजले बिसेले यो राज्य मेरो पनि हो यसमा मेरा पुर्खा र सबै नेपालीको इतिहास रक्षा र इतिहास परिवर्तनको हिस्सा मागेको कविता लेख्दा अपच ठानियो ।

०५२ सालको जनयुद्ध र सत्ता परिवर्तनको हुँकार पनि सरकारको नजरमा आतंककारी गतिविधि थियो । सरकारले प्रचण्ड, बाबुराम, मोहन वैद्यलगायत माओवादी नेतालाई ‘आतंककारी’ घोषणा गरी हतियारद्वारा नियन्त्रण र नियोजन गर्ने बाटो समायो । प्रचण्डहरूको टाउकाको मोल तोकियो र बहालवाला मन्त्रीहरू टाउकाको मूल्य तोकिएकाको टाउको झोलामा हालेर ल्याउनेलाई झोलाभरि पैसा दिने भाषण गर्दै हिँडे । ०५५ जेठदेखि माओवादी विद्रोहीविरुद्ध ‘किलो सेरा टु’ नामक घातक अप्रेसनलगायत अनेक कारबाही गरिए । सेना परिचालन गरियो । माओवादीलाई कानुन हातमा लिने अराजक जत्था र आतंककारी भनियो । यी सब त्यो समयका विद्रोही चेतमाथिको संगठित र योजनाबद्ध गरिएको भौतिक आक्रमण थियो । राजाहरूको विरोध गर्नेले बन्दुकको जवाफ पाउँथे । राजाविरुद्ध बोल्नु अपराध र पापको श्रेणीमा पथ्र्यो । 
नयाँ विचार बोक्दैमा या नयाँ हुँदैमा सबै टिक्दैनन् । कति–कति नयाँ विचार नयाँ मान्छे र सोचको विलुप्तीकरण भएको छ । नेपालको राजनीतिक इतिहासमा प्रजा परिषद् एकादेशको कथा बन्यो । नयाँ भन्नेबित्तिकै राम्रो हुन्छ भन्ने भाष्य गलत छ । नयाँलाई परीक्षित नहुन्जेल शंकाको लाभ प्राप्त हुन्छ । 

आजसम्म यो युगमा नयाँ पुस्ताले जेजस्ता चिन्तन अघि सारेर समाजमा तरंग पैदा गरे, ती सब तत्कालीन समयका लागि अराजक, अनैतिक र अयुगीन विचार मानिएका थिए । विचार उत्पादन हुन्छन्, विमर्शमा जान्छन्, ज्ञान बन्छन् र समाजमा वितरित हुन्छन् । सहज हुँदैन पुरानोलाई प्रतिस्थापन गर्न, तर पुनस्र्थापित भएरै छोड्छन्, नयाँ विचार र मानकहरू । सामान्य मान्छेले परिकल्पना गरेभन्दा पृथक् परिकल्पना नै समाज रूपान्तरण र परिवर्तनको आजको अवस्थाको निरन्तरता हो । 

कुनै समय छाता ओढ्नेहरू दलितले छोएको खानेहरू र सबै मान्छे समान हुन् भन्नेहरू, पत्रपत्रिका पढ्नेहरू, फ्लिम हेर्ने र खेल्नेहरू, रेडियो सुन्नेहरू, प्रेम विवाह गर्नेहरू, स्कुल खोल्नेहरू, आधुनिक गीत, संगीत सुन्ने र गाउनेहरू, ¥याप गाउनेहरू, कविता लेख्नेहरू, प्रेमपत्र कोर्नेहरू, क्लब जानेहरू, डिस्को छिर्नेहरू, चर्पी बनाउनेहरू, झन् घरभित्रै चर्पी बनाउनेहरू समाज भँडुवा मानिन्थे । आज पनि नयाँ पार्टी खोल्नेहरू, नयाँ चिन्तन र विचारमा काम गर्नेहरू विचार नभएका ठानिन्छन् । प्रिन्ट मिडिया चलाउनेले केही समयअघिसम्म अनलाइन मिडिया खोल्नेहरूलाई अराजक भन्थे । अहिले पनि युटुबमा पत्रकारिता गर्नेहरूलाई पत्रकार मानिँदैन । पुरानो पुस्ताले नयाँ पुस्तामा जहिल्यै खोट देख्छ, पुस्तान्तरणमा भाँजो हाल्छ, तर सब बाधा व्यवधान पन्छाउँदै नयाँ पुस्ता अघि बढिरहन्छ र यो नै समाज विज्ञानको नियम नै हो । 
(कार्की अनुसन्धाता हुन्)