मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक २१ मंगलबार
  • Friday, 27 December, 2024
सञ्जीव कार्की
२o८o कार्तिक २१ मंगलबार o७:३१:oo
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

निराशा मात्रै छैन नेपालमा

संकटबाट बच्ने रणनीति, चुनौती सामना गर्ने ल्याकत, पर्खने धैर्य, निरन्तर लगाव र श्रमप्रतिको निष्ठा कायम गर्न सकेको दिन हामी अवश्य उठ्छौँ

Read Time : > 5 मिनेट
सञ्जीव कार्की
नयाँ पत्रिका
२o८o कार्तिक २१ मंगलबार o७:३१:oo

सबै बिग्रियो, सबै भत्कियो । बर्बादै भयो । यता नि भएन, उता नि भएन । जताततै खराब नै खराब छ । अब यस्तो देशमा को बस्छ ? नेपालमा कि निरीह बस्छन् कि लुटेरा मात्रै भन्ने चौतर्फी निराशा, दुःख, पीडा मात्र भएको भाष्य बनाइएको छ । कतै आशाको सञ्चार गर्ने र शुभ खबर सम्प्रेषण हुन्न । निराशा, असफलता र अवहेलनाको साम्राज्य मात्र तयार गरिँदै छ । देशको खराब हविगतको चर्चा हुन्छ । कर्मचारीको तलब खुवाउन ऋणको कुरा आउँछ । राष्ट्रको शक्ति क्षय भएको कुरा बेजोड प्रचार गरिन्छ । जीवनवृत्तिका लागि झन्डै ७० लाख युवा नेपालबाहिर रहेको आँकडा सुनाइन्छ । हो, देशको अवस्था नाजुक छ, तर राष्ट्र असफल बनिसकेको छैन । देश असफलतातर्फ उन्मुख छ भन्ने सत्य हुँदाहुँदै पनि यो सुध्रनै नसक्ने गरी असफल भयो भनिन्छ भने त्यो सर्वथा गलत हो । 

के नेपाल अब बस्न लायक नै छैन त ? यहाँ सबै सम्भावनाको अन्त्य भएको हो ? देशको अर्थतन्त्र भिरमा पुगेको हो ? लडेका मान्छे उठेर हिँडेको उदाहरण देशको सन्दर्भमा मिल्छ कि मिल्दैन ? गरिब धनी भएको उदाहरण संसारमा छैन र ? धनी गरिब हुन सक्छ विभिन्न परिबन्द र कारणले, तर गरिब धनी पनि त हुन सक्छ र भएका पनि त छन् । देश एसियाकै नम्बर एक गरिबमा दर्ज भएको भए पनि के अब हामी पुनः लगन र मिहिनेतसाथ आहोरात्र काम गरेर धनी हुन सक्दैनौँ र ? के हामी ढलिसकेका हौँ र कहिल्यै नउठ्ने गरी ? हाम्रा लागि सबै गन्तव्यका ढोका बन्द भइसकेका हुन् र ? के अब नेपाल बन्दै बन्दैन ? के आजसम्म केही बनेन ? नेपालमा खराब राजनीतिज्ञ र कामचोर कर्मचारी अनि कर्तव्यहीन नागरिक मात्रै बस्छन् हो ? 

सबै व्यापारी ठग, सबै ठेकेदार चोर, सबै पत्रकार दलाल, सबै बुद्धिजीवी भाट अनि सबै सुरक्षा निकाय निकम्मा मात्रै छन् ? त्यसो होइन, नेपालमा असल मान्छे पनि छन् । असल राजनीतिज्ञ पनि छन् । राम्रा दल पनि छन् । नयाँ हुन् या पुराना, सबै दलमा राम्रा र असल नेता पनि छन् । 

एउटा तीतो सत्य के हो भने हामी खराब हालतमा छौँ । यसको मतलव यो होइन कि नेपाल कहिल्यै उठ्न नसक्ने गरी थला परेको र मृतप्रायः भएको छ । दुर्भाग्य, नेपाल मृतप्रायः स्थितिमा रहेको अफवाह फैलाइएको छ । हाहाकार मच्चाउन खोजिएको छ । विदेशबाट ज्ञान, सिप, प्रविधि र पुँजी लिएर फर्कने मन भएकालाई हतोत्साहित बनाउने काम भएको छ । विदेश पलायन ठिक, स्वदेश बसाइ गलत भन्ने अवधारणा बनेको छ । के यसलाई सच्याउन सकिन्न र ? 

हामीकहाँ जानेलाई रोक्ने र आउनेलाई स्वागत गर्ने यथोचित वातावरण बनाउने काम भएको छैन । आश्वस्त बनाउने कुनै कार्यक्रम छैन । मानव तस्करीमा रमाउने देश बन्यो या बनाइयो । ठूला भनिएका नेताहरू नै बिनाढेउवा विदेश जान पाइन्छ । फ्री भिसा, फ्री टिकट पाइन्छ भनेर जनतालाई देशनिकाला गर्न आतुर छन् । त्यस्ता गलत विचार र चिन्तनलाई ‘करेक्सन’ गर्नुपर्छ । पीडा र आँसु धेरै बेचियो । सफलता र सम्भावनालाई उपेक्षा गरियो । प्रोपोगान्डा धेरै तथ्य बहुत कम पस्कियो । अब यथार्थ कुरा भन्दै सकारात्मक ऊर्जाका लागि नवीन भाष्य र चिन्तनको माहोल निर्माण गर्नुपर्छ । हामीसँग नकारात्मकता मात्रै छैनन् । सम्भावना र आशाको उज्यालोको प्रचार भएको खोइ ?

हाम्रा खोलानालामा पानी कम भएको होला, सुकेको छैन । हाम्रो जमिन भासिएको या हराएको छैन । जलवायु परिवर्तनले हिमालमा हिउँ कम भएको होला, तर सौन्दर्य हराउने गरी घटेको छैन । हामीलाई गरिखाने ठाउँको अभाव छैन । त्यसैले, हामी गरिब छैनौँ ।
 

प्राकृतिक र धार्मिक सम्पदाको ‘मार्केटिङ’ : हामीसँग प्रशस्त प्राकृतिक र धार्मिक सम्पदा छन् । हामीले तिनको यथोचित ‘मार्केटिङ’ गर्न सकेनौँ या जानेनौँ । प्रकृतिले वरदानस्वरूप दिएका नदीनाला, हिमाल, तालतलैया, पहाड र वनसम्पदाको उपयोगिता गर्न चुक्यौँ । झुटो आत्माभिमान र भ्रान्तिमा बाँच्न सिक्यौँ । आफ्नो मौलिक वैभव भुल्यौँ । हामीसँग भएका लुम्बिनी, पशुपति, मुक्तिनाथ, जनकपुरधाम, हलेसी, कालिन्चोक, पाथिभरालगायत थुप्रै पवित्र तीर्थस्थल र दर्शनीय ठाउँको उचित प्रचारप्रसार दुई छिमेकी भारत र चीनमा मात्र गर्न सकियो भने पनि हामीलाई असाधारण आम्दानीको स्रोत प्राप्त हुन्छ । नेपालका परम्परागत रैथाने ज्ञान र क्षमताको विश्वबजारीकृत गर्न हामीले जानेनौँ । 

प्राकृतिक सम्पदाको प्रचार विश्वमा गर्न सक्दा र पर्यटन व्यवसायको उचित र सानदार प्रवद्र्धन गर्न सकियो भने हामी सधैँ गरिब नै रहनुपर्दैन । त्यसैले हामी गरिब छैनौँ । हाम्रा खोलानालामा पानी कम भएको होला, सुकेको छैन । हाम्रो जमिन भासिएको र हराएको छैन । जलवायु परिवर्तनका कारण हिमालमा हिउँको कमी भएको होला, तर सौन्दर्य हराउने गरी घटेको छैन । हामीलाई गरिखाने ठाउँको अभाव छैन । त्यसैले, हामी गरिब होइनौँ । गरिब भयौँ र छौँ भन्ने भाष्य नितान्त गलत छ । त्रुटिपूर्ण अवधारणा निर्माण गरेर हाम्रो मनोविज्ञान गिराउने काम राज्यस्तरबाटै हुँदै आएको छ । 

धमिलो पानीमा माछा मार्ने ‘हिरो’हरू धेरै भए, तर पानी संग्ल्याउने प्राकृतिक हिरो कोही भएनन् । कृत्रिम हिरो अर्थात् राजनीतिको टेस्ट्युब बेबी जन्मिए । तर, माटो खेलेर माटो खाएर हुर्किएकाहरूलाई भिलेन मानियो । पन्जाबको आलु सस्तोमा बिक्यो, नेपाली किसानको आलु बजार नपाएर त्यसै कुहियो । त्यसैले, हामी सही नीति निर्माण गर्नबाट चुक्यौँ । हाम्रो कृषि र उत्पादनको अवमूल्यन भयो । आत्मनिर्भर बन्न कृषिले पाउनुपर्ने प्राथमिकता पाएन । समग्रमा हामी हाम्रो आवश्यकता र अवसरलाई प्राथमिकीकरण गर्न असमर्थ भयौँ । हामी सबै लुटाहा ठग र फटाहाको कुरा मात्र सुन्न विवश बन्यौँ । सबै दुर्दशाको मात्रै कुरा गर्छन् । भाग्य (अवसर) सिर्जना गर्ने र भाग्य जन्माउनेको कुरा गर्दैनन् । त्यसैले, हामी पछि परेका छौँ । सकारात्मक फलदायी र उत्प्रेरक सन्देश सम्प्रेषण गर्न अब ढिलो गर्न हुन्न ।

न्याय मरिसकेको भाष्य पनि गलत छ :  खराब गर्नेहरू सबै जेल गएका छैनन् । खराबको संरक्षण राजनीति गर्नेहरूबाट भएका छन्, तर शक्तिशाली भनिएकाहरू जेल गएका उदाहरण पनि यथेष्ट छन् । खुमबहादुर खड्का, चिरञ्जीवी वाग्ले, जयप्रकाश गुप्ता, कृष्णबहादुर महरा, बालकृष्ण खाण, टोपबहादुर रायमाझी इत्यादि राजनीतिका शक्तिशाली खेलाडी नै जेल गएका छन् । अदालतले शक्तिशाली प्रधानमन्त्री गिरिजाप्रसाददेखि केपी ओलीको खिलाफमा फैसला सुनाएको छ । बहालवाला मन्त्रीलाई जेल हाल्ने न्यायाधीश यहीँकै हुन् । राजाकै शासनकालमा समेत शाही आयोग खारेज गरिदिने हिम्मत देखाएको छ हाम्रो अदालतले । त्यसैले, यहाँ न्याय नै छैन र निर्भीकतापूर्वक न्याय सम्पादन भएको छैन भन्नु सत्य होइन । 

यहीँ केही गर्न सकिन्छ । यहाँ गर्नेहरू पनि छन् । केही सकारात्मक सूचक पनि छन् । झुटा सूचनाको बाढी आएको छ नेपालमा भन्छन् प्राडा युवराज संग्रौला । ‘फेक’ सूचना चिर्ने संयन्त्रको खाँचो छ । त्यो संयन्त्र पत्रकारिता हो । सबै पत्रकार हन्डी खाने मात्र छैनन् । सत्य लेख्ने र देख्ने पनि छन् । कर्मशील किसान, व्यवसायी र नीति–निर्माताको खडेरी परेको होइन, केहीमा विचलन आएको मात्रै हो । 

चिन्तक होमराज आचार्य भन्छन्– देश किन बनेन भन्ने भाष्य गलत छ । अब देश किन बनाएनौँ या बनाउन सकेनौँबाट समीक्षा सुरु गर्नुपर्छ । देश बनाउने जिम्मेवारी प्रत्येक नागरिकको हो भन्ने भाष्य सिर्जना गरेर तदनुकूल आचरण देखाउनु आवश्यक छ । देशको नकारात्मक प्रचार भनेको घर बालेर आगो ताप्नु जस्तै हो । 

कामको उचित नियमन र निरन्तरता दिन थालियो भने हाम्रो अवस्थामा पक्कै परिवर्तन आउनेछ । देश वृद्धाश्रम मात्रै हो ? केटाकेटी, अशक्त, अनाथ र वृद्धवृद्धा बस्ने स्थल मात्र हो ? रुकुमको गाउँ नै रित्याएर करिब करोड तिरेर अमेरिका जान सक्ने जनशक्तिलाई किन यतै रोक्न सकिएन ? त्यति ठूलो रकमले नेपालमा नै केही गर्न सकिन्नथ्यो र ? विदेशमा मोल्ने जोखिम नेपालमै मोल्न किन सकिन्न ? यहाँ अप्ठ्यारो पर्दा सरकार छ भन्ने विश्वासिलो वातावरण निर्माण गर्नु छ । बिदेसिएका युवाको कर्मशील पाखुरी र सिर्जनशील दिमागलाई रोक्ने नीतिको खाँचो छ । तीन ‘सिफ्ट’ काम गर्ने मेकानिज्मको खाँचो छ । 

समस्या जहाँ पनि छ :  विदेशमा पनि काम नहुँदा भोकै बस्नुपर्छ । यदि विदेश स्वर्ग हुन्थ्यो भने जापानमा संसारकै सबैभन्दा बढी आत्महत्याको दर हुने थिएन । अमेरिका बलात्कार र गोलीकाण्डका लागि बदनाम हुने थिएन । देशमै बसौँ । देशमैँ रमाऔँ । देशमै परिवर्तन ल्याऔँ । भ्रष्ट तथा निकम्मा पुस्तालाई सर्वत्र वर्जित गरौँ र नयाँ तथा क्षमतावान्लाई रोजौँ । यसो गरे नेपाल स्वर्ग नबन्ने कुरै छैन । 

हामीसँग समयको खराब चक्रव्यूहबाट उम्कने आँट र हिम्मत छ । हामी लडेका हौँ । थला बसेका होइनौँ । हामी निरुपाय भएका होइनौँ । हामीले नजानेका या नगरेका मात्र हौँ । तर, गर्न खोज्ने पुस्ता र दस्ता यो मुलुकबाट निख्रिसकेको छैन । विदेश बस्नेलाई पनि देशको माया छ । जन्मभूमिप्रति कसोकसो लगाव र आस्था हुन्छ नै । देश फर्कन मन नभएकाहरूको मनमा पनि देशमै भएका हामीले देश फर्कने मन हालिदिन सक्नुपर्छ । त्यो मन हालिदिने काम ‘मोटिभेसनल स्पिकर’हरूको पनि हो । विद्वान्, कलाकार साहित्यकार र हरेक जिम्वेवार नागरिकको हो । 

समस्या सिर्जना भएको छ । तमाम समस्या छन् । साथै, समस्याको समाधान पनि छ । हामी समस्याको समाधान गर्न नसक्ने अन्तहीन शृंखलामा पुगिसकेका छैनौँ । हामीसँग उपायहरू बाँकी छन् । संकटबाट बच्ने रणनीति, पीडा खप्ने बुता, चुनौती सामना गर्ने ल्याकत, पर्खने धैर्य, निरन्तर लगाव र श्रमप्रतिको निष्ठा कायम गर्न सकेको दिन हामी उठ्छौँ । हामी उठ्दै छौँ । आज नेपालमा जहाँ र जे–जे राम्रो भएको छ, त्यो ब्रह्माजी आएर बनाएका पक्कै होइनन् । त्यो हामीले नै बनाएका हौँ ।
(कार्की अनुसन्धाता हुन्)