मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर २३ आइतबार
  • Thursday, 26 December, 2024
लुम्बिनीविरुद्ध विकेट लिएपछि सुदूरपश्चिमका खेलाडी । तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका
रमेश सुवेदी काठमाडाैं
२o८१ मङ्सिर २३ आइतबार o७:१४:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपाल प्रिमियर लिग २०२४ : सुदूरपश्चिमको प्लेअफ सम्भावना बलियो

लगातार तेस्रो खेल मात्र जितेन, सुदूरपश्चिम राम्रो रनरेटका साथ शीर्ष स्थान उक्लियो 

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ मङ्सिर २३ आइतबार o७:१४:oo

इंग्ल्यान्डका २६ वर्षीय सैफ जैवको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल)मा लगातार तेस्रो जित निकाल्दै प्लेअफ सम्भावना बलियो बनाएको छ । त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले तेस्रो जित हात पार्ने क्रममा लुम्बिनी लायन्सलाई ४५ रनले हरायो । सैफले ९० रनको योगदान र तीन विकेट लिएका थिए । लगातार तेस्रो हारपछि लुम्बिनीको प्लेअफ सम्भावना कमजोर बनेको छ । 

टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले ४ विकेट गुमाउँदै एक सय ८७ रनको योगफल बनायो । प्रत्युत्तरमा लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाउँदै एक सय ४२ रन बनायो । सुदूरपश्चिमले पहिलो खेलमा काठमाडौंलाई ७३ र विराटनगरलाई ९० रनले हराएको थियो । सुदूरपश्चिम र जनकपुरले समान ६ अंक जोडेका छन् । लुम्बिनी पहिलो खेलमा पोखरासँग १० र विराटनगरसँग २ विकेटले पराजित भएको थियो । तालिकामा लुम्बिनी पुछारमा छ । 

ब्याटिङमा विवेक मात्रै चले
लक्ष्य पछ्याएको इनिङ्समा लुम्बिनीका विवेक यादव मात्र चले । उनले ५४ बलमा तीन चौका र सात छक्काको सहयोगमा ७७ रन बनाए । विवेकले १७.३ ओभरमा ४२ बल सामना गरी दुई चौका र पाँच छक्कासहित अर्धशतकीय इनिङ्स खेले । उनी एनपिएलमा अर्धशतक बनाउने १२औँ र नेपालबाट सातौँ खेलाडी हुन् । लुम्बिनीको ब्याटिङमा सन्दीप जोरा र विवेक यादवले ३७ रनको साझेदारी गर्नुबाहेक अन्य ठुलो साझेदारी हुन सकेन । सन्दीपले २६ बलमा एक छक्कासहित २० रन जोडे । 

कमजोर सुरुवात गरेको लुम्बिनीले ३.३ ओभरमा १९ रन जोड्दा पाँच विकेट गुमाएको थियो । लुम्बिनी १.५ ओभरमा ९–३ को अवस्थामा थियो । ओपनर अर्जुन साउद गोल्डेन डकआउट भए । भारतलाई यू–१९ विश्वकप जिताएका उन्मुक्त चन्द चार, कप्तान रोहितकुमार पौडेल पाँच, टम मुर्स सात, सान विन जफर गोल्डेन डक र दीनेश अधिकारी १४ रनमा आउट भए ।

सुदूरपश्चिमका ओपनिङ तीव्र गतिका बलर ब्रान्डम म्याकमुलेन र स्कट कुगुलेइनले पावर प्लेमा घातक बलिङ गरेका थिए । स्कटल्यान्डका २५ वर्षीय म्याममुलेनले चार ओभरमा २१ रन खर्चिएर तीन विकेट लिए । न्युजिल्यान्डका लागि ३ टेस्ट खेलेका ३२ वर्षीय स्कटले चार ओभरमा १९ रन खर्चिएर २ विकेट लिएका हुन् । पहिलो खेलमै पाँच विकेट लिएका नरेन साउद विकेटविहीन रहे । 

नर्भस नाइन्टिजको सिकारमा जैब
पहिलो इनिङमा इंग्ल्यान्डका २६ वर्षीय बायाँहाते अलराउन्डर सैफ जैबले नर्भस नाइटिजको सिकार भए । सुदूरपश्चिमका लागि विस्फोटक ब्याटिङ गरेका जैव ९० रनमा आउट भए । उनले ६१ बलमा ६ चौका र ५ छक्का प्रहार गरेका थिए । रोहितकुमार पौडेल र आन्द्रेस गौसपछि एनपिएलमा ९० रन कटाउने उनी तेस्रो खेलाडी हुन् । पोखराका गौसले शुक्रबार लुम्बिनीविरुद्ध १०४ रन बनाएका थिए । 

सुदूरपश्चिमका कप्तान दीपेन्द्रले १९ बलमा चार चौका र २ छक्कासहित अविजित ३९ रनको योगदान दिए । दीपेन्द्र र जैवबिच तेस्रो विकेट लागि ५३ रनको साझेदारी भएको थियो । ओपनर विनोद भण्डारीसँग जैवले पहिलो विकेटका लागि ४९ रनको साझेदारी गरे । आरिफ सेख गोल्डेन डक आउट भए । 

कर्णालीको लगातार दोस्रो जित
ओपनर देव खनाल र विलियम बासिस्टोको अर्धशतकको सहयोगमा कर्णाली याक्सले लगातार दोस्रो जित निकालेको छ । कर्णालीले विराटनगर किंग्सलाई ७ रनले हरायो । टस हारेर ब्याटिङ गरेको कर्णालीले २० ओभरमा सबै विकेट गुमाउँदै एक सय ३५ रन बनाएको थियो । प्रत्युत्तरमा विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै मात्र एक सय २६ रन बनायो । अन्तिम ओभरमा विराटनगरलाई १५ रन चाहिएको थियो । 

नन्दन यादवले अन्तिम ओभर फ्याँक्दा विराटनगरका कप्तान सन्दीप लामिछाने र प्रतिश जिसी क्रिजमा थिए । नन्दनले ७ रन खर्चिँदै कर्णालीलाई जित दिलाए । जितपछि कर्णालीको चार अंक भएको छ । विराटनगरले पहिलो खेलमा जनकपुरसँग ८ विकेट तथा सुदूरपश्चिमसँग ९० रनले पराजित भएको थियो । तेस्रो खेलमा लुम्बिनीविरुद्ध २ विकेटले विजयी भएको थियो ।

चम्किए नन्दन र विपिन
कर्णालीका बलर नन्दन र विपिन शर्माले घातक बलिङ गर्दा विराटनगरले कुनै पनि विकेटका लागि ठूलो साझेदारी गर्न सकेन । विराटनगरका निकोलास किर्टन र दीपक बोहराले ४४ रनको साझेदारी गरेका थिए । नन्दनले १७.१ ओभरमा १८ रन बनाएका दीपकलाई बोल्ड गरे । ३९ बलमा चार चौका र एक छक्कासहित ४० रन बनाएका किर्टनलाई उनले बोल्ड गरे । क्रिस सोललाई सोमपालले १९औँ ओभरमा डकआउट गराए । कर्णालीका लागि नन्दन यादवले तीन तथा स्पिनर विपिन शर्माले दुई विकेट हात पारे । 

देव र बोसिस्टाको शतकीय साझेदारी
कर्णालीको पहिलो इनिङ्ससमा तेस्रो विकेटका लागि ओपनर देव खनाल र चौथो नम्बरका बोसिस्टोबिच १०३ रनको बलियो साझेदारी भएको थियो । एनपिएलको एकै इनिङ्समा दुई खेलाडीले अर्धशतक बनाएको पहिलोपटक हो । दुई खेलाडीपछि कर्णालीका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

अस्ट्रेलियालाई यू–१९ विश्वकपमा उपविजेता बनाएका ३१ वर्षीय दायाँहाते बोसिस्टोले ४९ बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ६६ रन बनाए । यसैगरी, ४८ बलमा चार चौका र दुई छक्काको सहयोगमा ५३ रन बनाए । बोसिस्टोको अर्धशतकसँगै १६.३ ओभरमा चार विकेट गुमाउँदै कर्णालीले ११४ रन बनाएको थियो ।

कर्णालीका विराटनगरका प्रतिश जिसीले सर्वाधिक चार विकेट लिए । उनले ४ ओभरमा एक मेडनसहित १७ रन खर्चिए । अन्तिम ओभर लिएर आएका प्रतिशले एक रनआउटसँगै थप दुई विकेट लिएका थिए । क्रिस सोल र बसिर अहमदले समान दुई विकेट लिँदा अकिव इल्यासको नाममा एक विकेट रह्यो ।