नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दलहरूको सहमतिमा संविधान संशोधन गरिने बताएका छन् ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति देउवाले संविधान संशोधन गर्न दुईतिहाइ बहुमत आवश्यक भएकाले दलहरूबिच वार्ता एवं सहमति कायम गर्ने प्रस्ट पारे । उनले प्रधानमन्त्री केपी ओलीको हालैको चीन भ्रमणको वेला बेल्ट एन्ड रोड इनिसिएटिभ बिआरआईमा ऋणसम्बन्धी सम्झौता नभएको उल्लेख गरे ।
वर्तमान गठबन्धन सरकारप्रति जनताको कुनै असन्तुष्टि नभएको सभापति देउवाको भनाइ थियो । मुलुकमा राजनीतिक स्थायित्व कायम हुनुका साथै मुलुक समृद्धितर्फ अगाडि बढेको उनको धारणा थियो । सभापति देउवाले पार्टीको महाधिवेशन तोकिएकै समयमा हुने र निर्वाचनवाट नेतृत्व चयन हुने बताए । उनी शनिबार विराटनगरमा हुने कांग्रेसको प्रदेशस्तरीय सम्मेलनमा सहभागी हुन यहाँ आएका हुन् ।