मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १६ आइतबार
  • Sunday, 01 December, 2024
गणेश लम्साल विराटनगर
२o८१ मङ्सिर १६ आइतबार o६:१९:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

कोशीका मन्त्रीहरूको सम्पत्ति : मुख्यमन्त्री कार्कीको झापा र काठमाडौंमा गरी तीन घर 

कृषिमन्त्री खगेनसिंह हाङगामसँग उपहारमा प्राप्त ४५ तोला सुन

Read Time : > 2 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ मङ्सिर १६ आइतबार o६:१९:oo

कोशी सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । सार्वजनिक विवरणअनुसार मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँग झापामा दुई र काठमाडौंमा एउटा घर, ६ तोला सुन, १० तोला चाँदी र तलबभत्ताबापतको एक लाख ८१ हजार रुपैयाँ मौज्दात रहेको पाइएको छ ।

यसैगरी, मुख्यमन्त्री कार्कीको ड्रिमल्यान्ड हाउजिङ कम्पनीमा १० लाखबराबरको एक हजार कित्ता सेयर, सहिद मेमोरियल अस्पताल कलंकीमा एक लाख पाँच हजारबराबरको १५ सय कित्ता सेयर र लिभरपुल एजुकेसन नेटवर्क प्रालिमा श्रीमती अञ्जना पाण्डेको नाममा २१ लाख ३८ हजार लगानी रहेको छ । त्यसैगरी, तीन लाखबराबरको झापा गौरादहमा कृषिफर्म रहेको छ । कार्कीले झापाको गौरादह नगरपालिका १ र ३ मा पैतृक सम्पत्ति बिक्री गरेर दाजु दीपक कार्की र आफ्नो संयुक्त स्वामित्वमा घर निर्माण गरेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । त्यस्तै, ललितपुर महालक्ष्मी नगरपालिका–४ मा श्रीमती अञ्जना कार्कीको नाममा ९० लाख रुपैयाँ एभरेष्ट बैंकबाट ऋण लिएर जम्मा एक करोड ४० लाख रुपैयाँको घर–जग्गाखरिद गरेको उल्लेख गरेका छन् । 

सदानन्द मण्डलसँग तीन करोड १९ लाखको घर 
पर्यटन वन तथा वतावरणमन्त्री सदानन्द मण्डलको सुनसरीको कोशी गाउँपालिकामा तीन करोड १९ लाखको घर छ । यो उनको पैतृक सम्पत्ति हो । त्यसैगरी, १० तोला सुन, २५ तोला चाँदी, एउटा कृषि फर्म, २० लाख मूल्यबराबरको दुईपांग्रे सवारीसाधन, ५० हजार मूल्यबराबरका चौपाया आफूसँग रहेको उनले उल्लेख गरेका छन् । तीन करोड ६० लाख रुपैयाँ ऋण रहेको पनि उनको सम्पत्ति विवरणमा उल्लेख छ । 

खगेनसिह हाङगाम : हाइड्रोपावरमा ३० लाख बराबरको सेयर 
कृषि सहकारी तथा उद्योगमन्त्री खगेनसिंह हाङगामको ताप्लेजुङ मरिङदेन गाउँपालिका र सिरिजंगा गाउँपालिका – ४ मा जम्मा नौ कित्ता पैतृक जमिन, उपहारका रूपमा प्राप्त भएको ४५ तोला सुन र २० तोला चाँदी रहेको छ । यसैगरी, सेवा–सुविधाबापतको बैंकमा नगद एक लाख ५० हजार मौज्दात, ३० लाखबराबरको विभिन्न हाइड्रोपावरमा सेयर रहेको छ । तीन लाख २० हजार बराबरको एक स्कुटर र एक पल्सर बाइक उनको सम्पत्तिका रूपमा रहेको छ । उनले सम्पत्ति विवरणमा उल्लेख गरेअनुसार २५ लाखबराबर विभिन्न बैंक र वित्तीय संस्थामा ऋण रहेको छ ।

सामाजिक विकासमन्त्री पाँचकर्ण राईको खोटाङमा ६ रोपनी जग्गामा पुख्र्यौली घर, ६ रोपनी बारी र ६० रोपनी खेत, अनि भक्तपुरमा आफैँले कमाएको एउटा घर रहेको छ । उनीसँग नगद २० हजार र १० तोला सुन रहेको छ भने दुई वटा बैंक र एउटा हाइड्रोपावरमा सेयर रहेको छ । सवारीसाधनको नाममा एउटा स्कुटी र एउटा मोटरसाइकल रहेको छ ।
खानेपानी सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीको झापाको विर्तामोड नगरपालिका ७ र २ र बिर्तामोड गरामनीमा कुल नौ कित्ता जग्गा, साढे १० तोला सुन र पन्ध्र तोला चाँदी अनि बैंकमा एक लाख २५ हजार, वित्तीय संस्थामा ५५ हजार नगद मौज्दात र एउटा दुईपांग्रे सवारी रहेको छ । मन्त्री कार्कीले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उनको करोडभन्दा बढी ऋण रहेको छ । 

विना विभागीय राज्यमन्त्री सिर्जना राईको भोजपुर नगरपालिका र टेम्केमैयुङ गापामादुई कित्ताजग्गा, डेढ तोलाको सुनको सिक्री, एक तोलाको तिलहरी, एक तोलाको जन्तर, आधातोलाको सुनको औँठी र २५ तोलाचाँदी रहेको छ । उनले विभिन्न बैंकहरूबाट ५५ लाखभन्दा बढी ऋण लिएको जनाएकी छिन् ।

आर्थिक मामिलामन्त्री रामबहादुर राना मगरसँग इलामको देउमाई नगरपालिका मंगलबारेमा विभिन्न ठाउँमा गरेर आठ कित्ता जग्गा छ । त्यस्तै, उनीसँग ६ आना सुन छ । दाइजोमा श्रीमतीले पाएको पाँच तोला सुन गहना पनि उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । चिया कम्पनीमा एक लाखबराबरको सेयर, फर्निचर उद्योगमा १२ लाखबराबरको सेयर र सहकारी संस्थामा २० हजार बराबरको सेयर रहेको सम्पत्ति विवरणमा उल्लेख छ । चौपायाको हकमा एउटा गाई र पाँचवटा बाख्रा रहेका छन् । सार्वजनिक सम्पत्ति विवरणअनुसार मन्त्री मगरको कृषि विकास बैंकमा ३५ लाख र सहकारीमा तीन लाख ५० हजार ऋण रहेको छ । 

भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राईको खोटाङमा माटोले बनेको टिनको छाना भएको दुईवटा घर र जग्गा, खोटाङकै दिप्रुङ र चुइचम्पा दिक्तेल र उदयपुरको त्रियुगामा पैतृक सम्पत्तिका रूपमा १६ स्थानमा जग्गा रहेको छ । यसैगरी, कागती फर्म, जडीबुटी फर्म र श्रीमतीले सञ्चालन गरेको आइएमई सेवासमेत सम्पत्तिको रूपमा रहेको छ । श्रीमती सेयर खरिद–बिक्रीमा सक्रिय रहेको र गैरसरकारी संस्थासमेत सञ्चालन गरिरहेको उनले जनाएका छन् । उनको एउटा सेन्ट्रो कार र श्रीमतीको एउटा स्कुटी रहेको छ । मन्त्री राईले विभिन्न व्यक्तिहरूबाट १० लाख रुपैयाँ ऋण लिएको विवरणमा उल्लेख गरेका छन् ।

भौतिक पूर्वाधार राज्यमन्त्री भूमिप्रसाद राजवंशीको झापाको कचनकबल– ३ मा चार हजार दुई सय ६५ वर्गमिटरको पैतृक जग्गा, कचनकबल–३ मै विभिन्न नौ कित्ता जग्गा र श्रीमतीको नाममा पनि जग्गा रहेको छ । उनीसँग २० तोला सुन र १२४ तोलाचाँदी रहेको छ । विभिन्न बैंकहरूमा ३१ लाख बराबर नगद मौज्दात रहेको छ । यसबाहेक उनको एउटा मोटरसाइकल र एउटा माछापोखरी रहेको छ । साथै, बुबाबाट नामसारी भइ आएको १२ बोरको टोटा बन्दुक पनि रहेको छ ।