खेलकुद विकास ऐन, २०७७ अनुसार राखेप बोर्ड बैठक हरेक वर्ष कम्तीमा दुईपटक बस्नुपर्ने भए पनि २८ भदौ ०८० पछि बसेको छैन
राष्ट्रिय खेलकुद परिषद् (राखेप) बोर्ड बैठक एक वर्षपछि आगामी शुक्रबार बस्ने भएको छ । खेलकुुदमन्त्री तेजुलाल चौधरीले राखेपका सदस्यसचिव टंकलाल घिसिङलाई ११८औँ बैठक राख्न आइतबार निर्देशन दिएका छन् । ‘बोर्ड बैठक शुक्रबार बस्ने भएको छ,’ सदस्यसचिव टंकलाल घिसिङले नयाँ पत्रिकासँग भने । खेलकुद मन्त्रालयमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरेर ६ एजेन्डा पठाएको राखेपका एक बोर्ड सदस्यले बताएका छन् ।
तत्कालीन खेलकुदमन्त्री डिकबहादुर लिम्बूले अन्तिमपटक राखेपको बोर्ड बैठक २८ भदौ ०८० मा राखेका थिए । लिम्बूपछि मन्त्री बनेका विराजभक्त श्रेष्ठले पनि बैठक राख्न सकेनन् । राखेपका सदस्यसचिव घिसिङले बैठक राख्न मन्त्री चौधरीलाई तीनपटक आग्रह गरेका थिए । तर, मन्त्री चौधरीले बैठक राखेका थिएनन् ।
राखेपकै विधानअनुसार बोर्ड बैठक वर्षमा कम्तीमा दुईपटक बस्नुपर्ने हुन्छ । खेलकुद विकास ऐन, २०७७ को परिच्छेद १ को बुँदा १० को उपदफा १ मा भनिएको छ, ‘परिषद्को बैठक वर्षको कम्तीमा दुईपटक बस्नेछ ।’ खेलकुदमन्त्री र सदस्यसचिवबिचको टकरावका कारण बोर्ड बैठक बस्न नसकेको एक सदस्यले बताए ।
दशौँ राष्ट्रिय प्रतियोगिताको बाटो खुल्ने
राखेपकै बोर्ड बैठक बस्न नसक्दा दशौँ राष्ट्रिय खेलकुद तोकिएको समयमा हुन सकेन । राखेपले नै कर्णाली प्रदेशमा २–९ मंसिरमा प्रतियोगिताको मिति घोषणा गरेको थियो । आयोजक कर्णालीले प्रतियोगिताको सबै तयारी गरिसकेको थियो । सरकारले प्रतियोगिता आयोजना गर्न ६० करोड रुपैयाँ विनियोजनसमेत गरिसकेको छ ।
बोर्ड बैठकबाट नयाँ मिति तय हुने मन्त्री चौधरीले बताएका छन् । ‘अब बोर्ड बैठक बस्नेछ, दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको २५ फागुनलाई नयाँ मितिको प्रस्ताव हुनेछ,’ उनले भने । आगामी शुक्रबार बस्ने बैठकबाट प्रतियोगिताको कार्यविधि पास हुनेछ । कार्यविधि पास भएसँगै स्थानीय तह, जिल्ला र प्रदेशको आन्तरिक खेलाडी छनोट हुनेछ ।