मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ९ आइतबार
  • Sunday, 24 November, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ मङ्सिर ९ आइतबार o६:५८:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मनकामना केबुलकार २७औँ वर्षमा, साढे १३ लाखलाई सेवा दिने लक्ष्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ मङ्सिर ९ आइतबार o६:५८:oo

मनकामना दर्शन प्रालि (मनकामना केबुलकार) २७औँ वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवका अवसरमा कम्पनीले यसका प्रणेता स्व. लक्ष्मणबाबु श्रेष्ठलाई श्रद्धाञ्जलि अर्पण गर्दै उनको योगदानलाई स्मरण गरेको छ ।

कम्पनीले सेवा सुरु गरेको २६ वर्षपछि केबुलकारको मुख्य लट्ठा फेर्ने र डिजिटल डी–कनेक्ट प्रणालीमा स्तरोन्नति गरिसकेको छ । कम्पनीले ५० करोड रुपैयाँ लगानीमा दुई महिना लगाएर केबुलकारको स्तरोन्नति गरेको थियो । नेपालको पहिलो केबुलकार मनकामना केबुलकार सञ्चालनमा आएपछि प्रसिद्ध तीर्थस्थल मनकामना साथै यसवरिपरिका क्षेत्र भारतलगायत विश्वभरमा नै एक प्रमुख गन्तव्यका रूपमा स्थापित भएको मनकामना दर्शन प्रालिले जनाएको छ ।

मनकामना दर्शन प्रालिका प्रबन्ध निर्देशक राजेशबाबु श्रेष्ठका अनुसार केबुलकार हाताभित्र सुविधासम्पन्न रिसोर्टको निर्माण अन्तिम चरणमा पुगेको छ । रिसोर्टमा स्विमिङ पुल, हेल्थ क्लब, सभा–सेमिनार हल र रेस्टुरेन्टको सुविधा हुनेछ । रिसोर्ट सञ्चालनमा आएपछि मनकामना र वरिपरिका क्षेत्रलाई धार्मिक साथै अन्य पर्यटकीय महŒवका साथ गन्तव्य बनाउने लक्ष्य रहेको श्रेष्ठले बताए । केबुलकार सञ्चालनमा आएपछि मनकामनामा सुरुवाती वर्षमा १० लाख यात्रुलाई सेवा दिएकोमा यो क्रमशः बढ्दै गएको र हाल वार्षिक १२ लाख यात्रुलाई सेवा दिँदै आएको श्रेष्ठको भनाइ छ । यस वर्ष १३ लाख ५० हजार यात्रुलाई सेवा दिने लक्ष्य लिएको पनि उनले बताए ।

कम्पनीले मनकामना र आसपासका क्षेत्रमा विकास, स्वास्थ्य, शिक्षा तथा विपन्न वर्ग जातिहरूलाई सहयोग गर्दै आएको जनाएको छ । टिकट आम्दानीको कुल २ प्रतिशत रकम सहिद लखन गाउँपालिका गोरखा र इच्छाकामना गाउँपालिका चितवनलाई विकास निर्माण, शिक्षा, स्वास्थ्य, संस्कृति सम्पदा जगेर्ना, विपन्न वर्गको हित तथा दैवी प्रकोपका लागि भनी बर्सेनि सहयोग गर्दै आएको छ ।