मतदानको दिन १६ मंसिर आउन एक साता बाँकी रहँदा उपनिर्वाचनका लागि आवश्यक मतपत्र छपाइ सकिएको छ । निर्वाचन आयोगका अनुसार दुर्गममा मतपत्रसहितका निर्वाचन सामग्री पठाइसकिएको छ । ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा छन् ।
आयोग प्रवक्ता नीता पोखरेल अर्यालले निर्वाचन क्षेत्रको भौगोलिक अवस्था हेरेर मतपत्र छपाइ तथा ढुवानीको काम गरिएकोमा दुर्गम क्षेत्रमा यसअघि नै छापेर पठाइएको र उपत्यका तथा उपत्यकाभित्रका लागि शनिबारसम्म छपाइ सकिएको बताइन् । ‘आयोगले समयमै मतपत्र पु¥याउने गरी टाढाका निर्वाचन क्षेत्रलाई प्राथमिकतामा राखेर मतपत्र छपाइ गर्दै ढुवानी गरेको छ । दुर्गममा निर्वाचन सामग्री पुगिसकेका छन् । सुगमका निर्वाचन क्षेत्रको मतपत्र छपाइ शनिबार साँझसम्म भयो । सबै स्थानमा समयमै मतपत्रसहितका निर्वाचन सामग्री पठाउने गरी आयोगले काम गरिरहेको छ,’ उनले भनिन् ।
तीन स्थानमा निर्विरोध निर्वाचित
रिक्त ४४ पदका लागि दलहरूबाट २८९ को उम्मेदवारी परेकोमा स्वतन्त्र १२१ उम्मेदवारले मनोनयन दर्ता गराएका थिए । यीमध्ये ३१ ले उम्मेदवारी फिर्ता लिएका थिए । ओखलढुंगा र कैलाली जिसस प्रमुखमा कांग्रेसका टेकराज भट्टराई र टीकाकुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित बने । त्यस्तै, रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका– २ को वडाध्यक्षमा माओवादीका जगत घर्ती निर्विरोध निर्वाचित भए । तीन स्थानमा निर्विरोध निर्वाचित भएसँगै ४१ स्थानका लागि मतदान हुँदै छ । निर्वाचन आयोगले दल र स्वतन्त्र गरी ३७६ उम्मेदवार मैदानमा रहेको जनाएको छ । दल दर्ता गराए पनि हाम्रो नेपाल पार्टी, नेकपा माले, कांग्रेस बिपी, नेपाली जनता दल र आम जनता पार्टीले भने कुनै पनि पदमा उम्मेदवारी दिएनन् ।