मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ७ शुक्रबार
  • Friday, 22 November, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ मङ्सिर ७ शुक्रबार o६:३४:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

‘बी’ डिभिजन लिग १३ माघबाट गर्ने एन्फाको तयारी

एन्फाको बिहीबार बसेको बैठकमा १४ मध्ये चार क्लबले लिगको निर्णयमा सहमति जनाए

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ मङ्सिर ७ शुक्रबार o६:३४:oo

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ‘बी’ डिभिजन लिग १३ माघबाट सुरु गर्ने तयारी गरेको छ । सातदोबाटोस्थित केन्द्रीय कार्यालयमा बिहीबार एन्फा र क्लबका पदाधिकारीबिचको बैठकले १३ माघबाट लिग गर्ने निर्णय गरेको हो । लिगमा सहभागी हुन क्लबले १३ मंसिरसम्म दर्ता गर्नुपर्नेछ । खेलाडी दर्ताको अन्तिम मिति २४ मंसिर रहेको छ । बैठकले लिगको खेल तालिका १३ पुसमा सार्वजनिक गर्ने जनाएको छ ।

बैठकमा १४ मध्ये १० क्लबका पदाधिकारी उपस्थित भएनन् । १० क्लबका पदाधिकारीले बक्यौता रकम नदिँदासम्म लिगमा सहभागी नहुने अडान राखेका छन् । श्री कुमारी, श्री भगवती, बाँसबारी र प्लानिङ ब्वाइजका पदाधिकारी मात्रै सहभागी भएका थिए । एन्फाबाट अध्यक्ष पंकजविक्रम नेम्वाङ, उपाध्यक्ष दावा लामा, सदस्यहरू मणिराज विष्ट, मनीष जोशी, टीका लामा तथा महासचिव किरण राई, सिइओ इन्द्रमान तुलाधार, प्रवक्ता सुरेश शाह तथा सहमहासचिव बद्री भट्टराई र विजय घलेको उपस्थिति थियो ।

एन्फा महासचिव किरण राईले सात दिनअघि नै बैठक बस्ने सूचना ‘बी’ डिभिजन क्लबहरूलाई पठाएका थिए । प्लानिङ ब्वाइजका अध्यक्ष दावा लामा, एन्फा उपाध्यक्ष तथा श्री भगवतीबाट एन्फा सदस्य मनीष जोशी सहभागी भए । श्री कुमारीबाट नकुल हमाल र बाँसबारीबाट उपस्थित भएका रमेश कार्की गत साता मात्रै नेपाली राष्ट्रिय फुटबल टोलीसँग ताजकिस्तान पुगेका थिए । उनीहरू बैठकमा उपस्थत हुने सर्तसहित ताजकिस्तान पुगेको आरोप अन्य क्लबहरूको छ ।

१० क्लबका माग बक्यौता फस्र्योट 
असन्तुष्ट १० क्लबका पदाधिकारीले बक्यौता फस्र्योट भए मात्र एन्फाले बोलाएको बैठकमा सहभागी हुने जनाएका छन् । ‘बैठकमा बोलाइएको थियो, तर एन्फाले हाम्रो माग अहिलेसम्म पूरा गरेका छैन, त्यसकारण बैठकमा गएनौँ,’ बी डिभिजन लिग संयोजक कुमार राजभण्डारी भने, ‘एन्फाले तीन क्लबका पदाधिकारीलार्ई बैठकमा राखेर अवैधानिक निर्णय गरेको छ, यो कस्तो खालको निर्णय हो ?’ यसअघि प्रतियोगिता ०७९ चैतमा गर्ने एन्फाको तयारी थियो । त्यसवेला क्लबहरूले बक्यौता र तयारी खर्च नपाएको जनाउँदै लिग खेल्न आनाकानी गरेका थिए ।

दुई वर्षदेखि पटक–पटक ‘बी’ डिभिजन लिगको मिति तय गरे पनि प्रतियोगिता आयोजना हुन सकेको छैन । एन्फाले मध्यपुर युथ एसोसिएसनलाई कारबाही गरेपछि बैठक सौहार्दपूर्ण हुन सकेको छैन । ‘पाँच क्लबको बक्यौता ६ लाख ५० हजार सुरुमा दिएपछि लिग खेल्ने भनेका छौँ, तर एन्फा तयार छैन,’ राजभण्डारीले भने, ‘एन्फाले बक्यौता दिएपछि मात्र लिग खेल्न तयार छौँ ।’ एन्फाले ०७९ र ०८० मा सहिद स्मारक ‘ए’ डिभिजन लिग सम्पन्न गरेको थियो । तर, सो लिगमा रेलिगेसनको विवाद चल्यो । एन्फाले विवादको सम्बन्धमा कुनै निर्णय सुनाएको छैन । यसैबिच एन्फाले ‘सी’ डिभिजन लिग आयोजना गरेको छ । तर, क्लबहरूको विवादका कारण ‘बी’ डिभिजन लिग नहुँदा ‘साइकल’ पूरा भएको छैन ।

एन्फा मुख्यालयमा तीन घण्टा तालाबन्दी
सिस्नेरी एन्फा एकेडेमी घटनामा ६ बालक गुमाएका पीडित परिवारले बिहीबार एन्फाको मुख्यालयमा तीन घण्टा तालाबन्दी गरेका छन् । पीडित परिवार मुख्यालय गेटअगाडि धर्नासमेत बसे । नेपाल प्रहरीले उनीहरूलाई हटाएको थियो । एन्फा मुख्यालयमा अहिले ललित स्मृति यू–१८ लिग चलिरहेको छ । पीडितले तालाबन्दी गरेपछि खेल हेर्न जाने र खेल्न जाने खेलाडी नै केही घण्टा बाहिर बस्नुपरेको थयो । यद्यपि, ‘बी’ डिभिजनको बैठक बस्ने तयारी भइरहेका कारण एन्फा पदाधिकारी भित्र प्रवेश गर्न सकेनन् ।

१२ असोजमा आएको पहिरोमा मकवानपुरस्थित सिस्नेरीमा सञ्चालित एन्फा एकेडेमीका ३० मध्ये ६ विद्यार्थीको निधन भएको थियो । पहिरोमा प्रियान्स आचार्य, अनुपम घलान, विकल रेग्मी, साइमन योञ्जन, आदित्य बलम्पाखी र विवश बानियाँले ज्यान गुमाएका थिए । पीडित ६ परिवारले एक सातादेखि न्यायका लागि विभिन्न कार्यक्रम गरिरहेका छन् । एन्फाले ५५ दिनसम्म कुनै ठोस योजना नल्याएको भन्दै मुख्यालयमै तालाबन्दी गरेको उनीहरूले बताए । ‘हामी न्यायका लागि काठमाडौं आएका थियौँ, तर एन्फाले कुनै चासो नै देखाएन, उल्टै प्रहरी परिचालन गरी हटायो,’ प्रियान्स आचार्यकी आमाले भनिन् ।

एन्फाले घटनाको सत्यतथ्य छानबिन गर्न समिति नै गठन गरेको छ । सो समितिले प्रभावकारी रूपमा छानबिन नगरेको उनीहरूले दाबी गरेका छन् । उनीहरूले शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा पनि धर्ना बस्ने जनाए ।