मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ५ बुधबार
  • Wednesday, 20 November, 2024
२o८१ मङ्सिर ५ बुधबार o८:२४:oo
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

अर्थतन्त्र पुरानै प्रवृत्तिमा : निरन्तर थुप्रिँदै पैसा, हुँदैन परिचालन

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ मङ्सिर ५ बुधबार o८:२४:oo

नेपालको अर्थतन्त्र पुरानै प्रवृत्ति अर्थात् शिथिल अवस्थामै देखिएको छ । कोरोनापछि तङ्ग्रिन लागेको अर्थतन्त्र विभिन्न कारणले पछिल्लो डेढ–दुई वर्षदेखि शिथिल अवस्थामा छ । यो अवस्था अझै कायमै रहेकोे नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति विषयक असोज मसान्तसम्मको प्रतिवेदनले देखाएको छ ।

यद्यपि, आर्थिक वृद्धि विकासका लागि पर्याप्त अवसर भएको संकेत पनि उक्त प्रतिवेदनले गरेको राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाको भनाइ छ । उनले प्रतिवेदनअनुसार विदेशी मुद्रा सञ्चिति बढ्दै गएको छ । साथै, शोधनान्तर बचत पनि बढ्दो छ । यसैगरी ब्याजदर, आयात–निर्यात र मूल्यवृद्धि दर पनि घट्दो क्रममा छन् । यसले अर्थतन्त्र शिथिल अवस्थामै रहेको र सुधारको संकेत पनि नदेखिएको हो ।’  

अर्थतन्त्र चलायमान भएको अवस्थामा विदेशी मुद्रा सञ्चिति, शोधनान्तर स्थिति, ब्याजदर, मुद्रास्फीतिलगायतका सूचकमा दबाब सिर्जना हुने थियो । साथै, आयात–निर्यात पनि बढ्ने थियो । तर, उक्त प्रतिवेदनले यस्ता सूचकहरूमा कुनै पनि चाप परेको देखाएको छैन । 

प्रतिवेदनअनुसार असोज महिनासम्म कुल विदेशी मुद्रा सञ्चिति बढेर २२ खर्ब ३२ अर्ब २८ करोड पुगेको छ, जुन हालसम्मकै उच्च हो । गत आवको असोजमा १६ खर्ब ४३ अर्ब नौ करोड विदेशी मुद्रा सञ्चिति थियो । गत असारसम्म आउँदा त्यो बढेर २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ पुगेको थियो ।   

पछिल्लो समय विदेशी मुद्रा सञ्चितिले निरन्तर नयाँ रकेर्ड राख्दै आएको छ । यसले १७.६ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने राष्ट्र बैंकको भनाइ छ । आयात नबढ्दा, पुँजी परिचालन गर्न नसक्दा विदेशी मुद्रा सञ्चिति बढ्दै गएको विज्ञहरू बताउँछन् । 

यस्तै, ब्याजदर पनि निरन्तर घट्दै गएको तथ्यांकले देखाएको छ । गत आवको असोजमा वाणिज्य बैंकहरूको ब्याजदर औसतमा ७.९० प्रतिशत रहेकोमा चालू आवको असोजमा ५.२४ प्रतिशतमा सीमित भएको छ । कर्जाको ब्याजदर पनि गत आवको असोजमा १२.११ प्रतिशत रहेकोमा चालू आवमा ९.३३ प्रतिशत भयो । पछिल्लो १६ महिना (भदौ ०८० देखि मंसिर ०८१ सम्म) देखि निक्षेप तथा कर्जाको ब्याजदर निरन्तर ओरालो लागेको छ । बढी भएको तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले पहिलो तीन महिनामा पटक–पटक गरी ७८ खर्ब ३३ अर्ब ४० करोड रुपैयाँबराबरको तरलता प्रशोचन गरेको छ ।

यस्तै, मूल्यवृद्धि दर पनि घटेको छ । गत आवको असोज महिनामा मूल्यवृद्धि दर ७.५० प्रतिशत थियो । चालू आवको असोजमा त्यो ४.८२ प्रतिशत रहेको छ । यद्यपि, गत भदौ महिनाको तुलनामा त्यो बढी हो । भदौमा मुद्रास्फीति दर ३.८५ प्रतिशत थियो । ११–१२ असोजको बाढीले सडक बिग्रिएर ढुवानी अवरुद्ध भएपछि मूल्यमा चाप परेको विज्ञहरू बताउँछन् । 

समीक्षा अवधिमा निर्यात पनि घटेको प्रतिवेदनले देखाएको छ । गत आवको पहिलो तीन महिनामा ४० अर्ब ८७ करोडको निर्यात भएको थियो । चालू आवको पहिलो तीन महिनामा ६.१ प्रतिशत कम अर्थात् ३८ अर्ब ३८ करोडको निर्यात भएको छ । समीक्षा अवधिमा आयात पनि ४.२ प्रतिशतले घटेको छ । गत आवको पहिलो तीन महिनामा चार खर्ब सात अर्ब ७६ करोड रुपैयाँको आयात भएकोमा चालू आवमा तीन खर्ब ९० अर्ब ७५ करोडको मात्रै आयात भएको छ । 

यस्तो आँकडाले अर्थतन्त्र थप शिथिल भएको संकेत गर्ने राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन् । ‘राष्ट्र बैँकको यो तथ्यांक अर्थतन्त्र झन् शिथिलतातर्फ गएको संकेत गरेको छ, सुधारको संकेत नै देखिएको छैन । अर्थतन्त्र चलायमान भएमा आयात बढ्ने थियो, आयात बढ्दा विदेशी मुद्रा सञ्चितिमा चाप पर्ने थियो । साथै, कर्जाको माग बढ्न गई ब्याजदरमा पनि दबाब पर्ने थियो । त्यसले गर्दा मुद्रास्फीतिमा पनि थप चाप पर्ने थियो । साथै, राजस्व संकलन पनि राम्रो हुने थियो’ उनले भने, ‘तर, विदेशी मुद्रा सञ्चितिले निरन्तर नयाँ रकेर्ड कायम गर्दै आएको छ । ब्याजदर घट्नु त राम्रो हो, तर निरन्तर घट्नु मन्दीको संकेत हो । पछिल्लो समय निरन्तर ब्याजदर घटेको छ । मूल्यवृद्धिमा पनि चाप परेको देखिन्न ।’ 

आवश्यकताअनुसार आर्थिक गतिविधि भएको अवस्थामा मात्रै विदेशी मुद्रा सञ्चिति बढ्नु, ब्याजदर घट्नु, मूल्यवृद्धि दर कम हुनु र आयात घट्नुलाई राम्रो मान्न सकिने उनको भनाइ छ । ‘आर्थिक गतिविधि भएर, पर्याप्त पुँजी परिचालन गरेर, पर्याप्त आयातसमेत गरेर विदेशी मुद्रा सञ्चिति बढ्छ भने राम्रो हो । त्यो अवस्थामा आयात घट्ने तथा ब्याजदर र मूल्यवृद्धि दर पनि कम हुन्छ, राम्रो नै मान्नुपर्छ,’ उनले भने, ‘तर, अहिले आर्थिक गतिविधि राम्रो भएर अर्थतन्त्रका यस्ता सूचक बढेका होइनन् । आर्थिक गतिविधि नभएर विदेशी मुद्रा सञ्चितिलगायतका पुँजी थुप्रिएका हुन् । त्यसकै कारण ब्याजदर र मूल्यवृद्धि पनि कम भएको हो । आयात–निर्यात पनि यसकै कारण घटेका हुन् । तसर्थ, विदेशी मुद्रा सञ्चिति बढ्यो, ब्याजदर कम छ, मूल्यवृद्धि  पनि नियन्त्रणमा छ भने मख्ख परेर बस्न हुँदैन ।’

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले यस्ता सूचकले आर्थिक विकासका लागि ठुलो अवसर प्रदान गर्ने बताए । ‘असोज महिनाको तथ्यांकका आधारमा अर्थतन्त्रमा कुनै परिवर्तन छैन, पुरानै प्रवृत्ति नै कायम छ । अर्थात्, निरन्तर विदेशी मुद्रा सञ्चिति बढेको छ । ब्याजदर घटेको छ । 

समग्रमा बाह्य क्षेत्र झन् बलियो हुँदै गएको छ । यसले उच्च मात्रामा आर्थिक विकास गर्न सकिने अवसर सिर्जना गरेको छ,’ उनले भने, ‘पर्याप्त तरलता छ भने ब्याजदर पनि सस्तो छ । यसो वेलामा लगानी बढाउँदा ब्याज खर्च कम हुने भयो । साथै, पुँजीगत आयात बढाउन विदेशी मुद्राको सञ्चिति पनि पर्याप्त छ । समग्रमा यो तथ्यांकले आर्थिक विकासका लागि ठुलो अवसर देखाएको छ । यो अवसर सदुपयोग गर्न अन्य निकायहरू पनि अग्रसर हुनुपर्छ ।’

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट भन्छन्– 
असोजसम्म पुरानै प्रवृत्ति नै कायम छ । अर्थात्, निरन्तर विदेशी मुद्रा सञ्चिति बढेको छ । ब्याजदर घटेको छ । समग्रमा बाह्य क्षेत्र झन् बलियो हुँदै गएको छ । यसले उच्च मात्रामा आर्थिक विकास गर्न सकिने अवसर सिर्जना गरेको छ । पर्याप्त तरलता छ भने ब्याजदर पनि सस्तो छ । यसो वेलामा लगानी बढाउँदा ब्याज खर्च कम हुने भयो । साथै, पुँजीगत आयात बढाउन विदेशी मुद्राको सञ्चिति पनि पर्याप्त छ । समग्रमा यो तथ्यांकले आर्थिक विकासका लागि ठुलो अवसर देखाएको छ ।

राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा भन्छन्–
आर्थिक गतिविधि भएर, पर्याप्त पुँजी परिचालन गरेर, पर्याप्त आयातसमेत गरेर विदेशी मुद्रा सञ्चिति बढ्छ भने राम्रो हो । त्यो अवस्थामा आयात घट्ने तथा ब्याजदर र मूल्यवृद्धि दर पनि कम हुन्छ, राम्रो नै मान्नुपर्छ, तर अहिले आर्थिक गतिविधि राम्रो भएर अर्थतन्त्रका यस्ता सूचक बढेका होइनन् । आर्थिक गतिविधि नभएर विदेशी मुद्रा सञ्चितिलगायतका पुँजी थुप्रिएका हुन् । तसर्थ, विदेशी मुद्रा सञ्चिति बढ्यो, ब्याजदर कम छ, मूल्यवृद्धि पनि नियन्त्रणमा छ भने मख्ख परेर बस्न हुँदैन ।