मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २४ आइतबार
  • Monday, 07 April, 2025
२o८१ चैत २४ आइतबार १२:५३:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

भलिबलको साख फर्काउने चाहनामा कप्तान अरुणा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत २४ आइतबार १२:५३:oo

राष्ट्रिय महिला भलिबल टोलीका कप्तान अरुणा शाहीले पोखरा-३ नदीपुरमा एलिट भलिबल एकेडेमी सञ्चालन गरेकी छन् । सो एकेडेमीमा महिला खेलाडीलाई नियमित प्रशिक्षण प्रदान गरिँदै आइएको छ । एकेडेमीबाट क्षमतावान् महिला भलिबल खेलाडी उत्पादन गरेर विगतको गण्डकीको भलिबलको साख फर्काउने चाहना अरुणाको छ ।

एकेडेमी चलाउनका लागि भने आर्थिक रूपमा समस्या भएकाले स्रोत जुटाउनका लागि यही चैत २९ देखि वैशाख १ गतेसम्म प्रथम एलिट कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको तयारी गरिएको छ । एकेडेमीमै हुने प्रतियोगिताबाट खेलाडी उत्पादनमा टेवा पुग्ने राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान एवं एकेडेमीकी प्रशिक्षक शाहीले बताइन्।


प्रतियोगिता संयोजकसमेत रहनुभएकी अरुणाले प्रतियोगिताबाट बचत रकम महिला खेलाडी उत्पादनमा खर्चिने बताइन् । उनले भनिन्, “प्रतियोगिताबाट आएका उत्कृष्ट खेलाडीलाई पठनपाठनमा छात्रवृत्तिसँगै नि:शुल्क प्रशिक्षण गराउनेछौँ । त्यसले भविष्यमा खेलाडी उत्पादनमा टेवा पुग्ने हाम्रो विश्वास छ ।” एकेडेमीले उत्कृष्ट दुई महिला खेलाडीलाई पठनपाठनसँगै नि:शुल्क प्रशिक्षण गराउने जनाएको छ ।

विशेष गरी महिला भलिबल खेलाडी उत्पादन गर्ने लक्ष्य एकेडेमीको रहेको शाही बताउँछिन् । “पुरुषभन्दा पनि महिला खेलाडी उत्पादन गर्नु हाम्रो एकेडेमीको लक्ष्य हो । कसरी हुन्छ, पहिलाको जुन साख छ पोखरा र गण्डकीको त्यसलाई उजागर गर्ने हाम्रो उद्देश्य हो”, शाहीले भनिन् ।

प्रतियोगितामा पुरुषतर्फको विजेताले रु. एक लाख र उपविजेताले रु. ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । महिलातर्फ विजेतालाई रु. ५० हजार र उपविजेतालाई रु. २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा सर्वोत्कृष्ट पुरुष खेलाडीले रु. पाँच हजार र सर्वोत्कृष्ट महिला खेलाडीले रु. तीन हजार प्राप्त गर्नेछन् ।

विधागततर्फ उत्कृष्ट हुने पुरुष खेलाडीलाई समान रु. दुई हजार र महिलातर्फ समान रु. एक हजार ५०० प्रदान गरिनेछ । पुरुषतर्फ दर्ता शुल्क रु. छ हजार ५०० र महिलातर्फ रु तीन हजार ५०० तोकिएको छ । दुवैतर्फ टिममा सातौँ, आठौँ र नवौँ राष्ट्रिय खेलकुद र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएका बढीमा दुई जना खेलाडी समावेश गर्न पाइने प्रतियोगिता संयोजक शाहीले बताइन् ।

हालसम्म पुरुषतर्फ नौ र महिलातर्फ सात टोलीले नाम दर्ता गराएको खेल संयोजक तथा एकेडेमीका प्रशिक्षक मलिन रोकाले जानकारी दिइन् । महिला भलिबलका कप्तान शाहीसहित तीन जना मिलेर नदीपुरमा एलिट भलिबल एकेडेमी सञ्चालन गरेका छन् । उनीहरूले महिला खेलाडीलाई नियमित प्रशिक्षण गराउँदै आएका छन् ।