नोभेम्बर ६ मा डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिको रूपमा दोस्रो चारवर्षे कार्यकाल सुरक्षित गर्न आवश्यक इलेक्टोरल भोट प्राप्त गरे । ह्वाइट हाउसको बाटो सहज हुनु केही घन्टाअघि नै उनले आफ्नो विजयी भाषण दिए । २५ मिनेटभन्दा लामो त्यस विजय भाषणमा ट्रम्पले अमेरिकालाई एकताबद्ध बनाउने कुरामा जोड दिए । उनले आफ्नो परिवार, प्रचार प्रबन्धक र मतदातालगायतलाई धन्यवाद दिए ।
सम्बोधनमा ट्रम्पले एकजना व्यक्तिको अलि जोड दिएर विशेष प्रशंसा गरे । ‘हामीसँग एक जना नयाँ स्टार छन् । ती हुन् एलोन,’ अर्बपति व्यापारी एलोन मस्कतर्फ इंगित गर्दै ट्रम्पले भने । ट्रम्पले त्यसपछि अर्को चार मिनेट मस्कको स्वामित्वमा रहेको अन्तरिक्ष कम्पनी स्पेसएक्सको रोबोटले अन्तरिक्षबाट फर्किएको रकेट सफलतापूर्वक समातेको दृश्यको वर्णन गर्न खर्चिए । उनी त्यतिमै रोकिएनन् । उनले मस्कको थप प्रशंसा गर्दै भने, ‘उनी एक विशिष्ट प्रतिभा हुन् । हामीले हाम्रा प्रतिभालाई जोगाउनुपर्छ, भलै हामीसँग त्यति धेरै प्रतिभा त छैनन् ।’
ट्रम्पको चुनावी अभियानमा मस्कको करोडौँ डलर खर्च
एलन मस्कले राष्ट्रपति निर्वाचनमा ट्रम्पको सक्रिय प्रचारमा १३२ मिलियन डलर खर्च गरे । ट्रम्पले आफूलाई नोकरशाही शुद्धीकरणको अभियन्ता बनाउने धारणा राख्दै आएका छन् । उनले मस्कलाई यस्तो नोकरशाही शुद्धीकरण गर्ने आयोगको नेतृत्व दिने बताउदै आएका थिए, जसलाई उनले अहिले पुरा पनि गरेका छन् । आयोगको मुख्य काम सरकारी खर्च कटौती गर्ने हो । जसअन्तर्गत सम्भावित रूपमा हजारौँ कर्मचारीलाई बर्खास्त गरिने योजना छ । ट्रम्प संघीय कर्मचारीहरूलाई अमेरिकी सरकारको एउटा शाखाभन्दा पनि ‘डिप स्टेट’ हिस्सा भएको विश्वास गर्छन्, जसले आफ्नै एजेन्डा पछ्याउँछ । शासनको संक्रमणमा सहयोग गरिरहेका उनका एक सहयोगी कास पटेल छन् । उनले ट्रम्प प्रशासनमा सम्भावित पदका लागि मानिसको जाँच गरिरहेका छन् । ‘गभर्नमेन्ट ग्याङ्स्टर्सः द डिप स्टेट, द ट्रुथ एन्ड द ब्याटल फर आवर डेमोक्रेसी’ नामक पुस्तक लेखेका पटेल आफैँ ट्रम्पको मुख्य भिजनरी व्यक्ति बन्न खोजेका छन् ।
ठुला प्रविधिसँग बाइडेनको टकराव
ट्रम्पको विजयलाई अमेरिकी राजनीतिक इतिहासमा सबैभन्दा उल्लेखनीय पुनरागमनका रूपमा हेरिएको छ । उनको जित यस्तो महत्वपूर्ण घडीमा भएको छ, जतिवेला ‘बिग टेक(ठुला प्रविधि उद्योग)’ अमेरिकी सरकार (यस सन्दर्भमा जो बाइडेनको कार्यकाल)सँग लडिरहेको छ । राष्ट्रपति बाइडेनका विश्वासपात्र तथा संघीय व्यापार आयोग (एफटिसी) का प्रमुख लिना खानले फेसबुक, गुगल र एप्पलजस्ता कम्पनीलाई एकाधिकार कानुन ल्याएर निरन्तर चुनौती दिइरहिन् । जारी अनुसन्धानका क्रममा प्रविधि कम्पनीका अर्बपति सिइओहरू काँप्दै संसदीय समितिहरू अगाडि बसे । किनभने समितिका ‘लडाकु’ सदस्यहरूले उनीहरूलाई आगोको भुंग्रोमा तान्न खोजेका थिए । रिपब्लिकन पार्टीको बहुमत रहेको सदनको न्यायिक समितिमा खानले विभिन्न आरोप लगाइन् । ‘खानलाई चाँडै पदमुक्त गरिनेछ,’ मतदानको एक दिनअघि मस्कले सामाजिक सञ्जाल एक्समा पोस्ट गरेबाट पनि प्रविधि क्षत्रमा उनको कुख्यातिलाई इंगित गर्छ ।
ट्रम्पका उपराष्ट्रपति जेडी भान्सको साथमा मस्कको प्रवेशले अमेरिकी राष्ट्रिय राजनीतिमा सिलिकन भ्यालीको सबैभन्दा सघन घुसपैठको संकेत गर्छ । एकपटक ट्रम्पलाई ‘सांस्कृतिक हेरोइन(लागुऔषध)’ भनेर उपहास गर्ने भान्सलाई ट्रम्पले सल्लाहकारसँग धेरै छलफलबिनै ठाडै छनोट गरेका थिए । उनलाई ओहायो राज्यको सिनेटर बनाउन प्रशस्त आर्थिक लगानी गरिएको थियो । त्यसपछि भान्स भुक्तानी फर्म पेप पल र तथ्यांक विश्लेषण कम्पनी पलान्टिर टेक्नोलोजीका स्वतन्त्रतावादी संस्थापक पिटर थियलले ट्रम्पको उपराष्ट्रपतिको उम्मेदवार बन्न सहयोग गरेका थिए ।
अन्य प्रविधि उद्यमीसँग नजिक भए पनि ट्रम्पले मार्क जुकरबर्गजस्ता उद्यमीलाई खासै मन पराउँदैनन् । उनका साथी मस्क र थियेल धेरै पहिले ‘उदारवादी(वक)’ क्यालिफोर्नियाबाट बाहिरिए । ट्रम्पले लगानीकर्ता जेफ्री यासलाई विश्वस्त पारेपछि मेटाका प्रतिद्वन्द्वी चिनियाँ सामाजिक सञ्जाल एप ‘टिकटक’लाई प्रतिबन्ध लगाउने अडानबाट पछाडि फर्किएका छन् । प्रविधि उद्योगका अर्बपतिहरूले रिपब्लिकनहरूका लागि ४६ अर्ब डलरभन्दा बढी दान दिए । सिनेट र तल्लो सदन पनि अर्बपति प्राविधिक उद्यमीहरू र लगानीकर्ताको समर्थनमा निर्वाचित विधायकले प्रस्ट रूपमा भरिएको छ । शक्ति परिवर्तन पनि सबै स्पष्ट छ ।
ट्रम्पलाई एक अनियन्त्रित विध्वंसकारी शक्तिको रूपमा हेरिए पनि अर्बपति मस्क अझ अप्रत्याशित साबित भएका छन् । चाहे शुल्क घटाउने विषय होस् वा पेसेवरहरूको आवागमन, प्रविधि स्थानान्तरण वा सैन्य तैनाथीमा विश्वभरका देशहरूले ट्रम्पको प्रभावका लागि हौसला प्रदान गरिरहेका छन् । यदि मस्क ट्रम्प प्रशासनमा सामेल भए भने उनको प्रभाव अझ ठुलो हुनेछ । चुनावको दिन र विश्वभरका व्यापारिक चासोहरूका रूपमा २८६ अर्ब डलर सम्पत्ति भएका पृथ्वीकै धनाढ्य मस्कको चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायत धेरै नेतासँग घनिष्ठ सम्बन्ध छ । यस वर्षको सुरुमा उनले चिनियाँ नेतृत्वसँगको बहसका लागि बेइजिङ जानकै लागि अन्तिम मिनेटमा अचानक भारत भ्रमण रद्द गरे । त्यो भ्रमणले चीनमा टेस्लाको बाटो खाली गर्यो ।
भारतले टेस्ला र स्टारलिंकको न्यून प्रवेशमा देखिएका अड्चन र विशेष उपचारका लागि अनुरोध अस्वीकार गरेको छ । ट्रम्प अमेरिकी व्यवसायको हितका लागि अन्य देशसँग हस्तक्षेप गर्न जान्दछन् । आफ्नो अघिल्लो कार्यकालमा उनले हार्ले डेभिडसन मोटरसाइकलमा सहुलियतका लागि भारतलाई दबाब दिएका थिए ।
ट्रम्पका लागि यसकारण मस्क खतरा
तर, मस्क ट्रम्पका लागि जोखिम पनि हुन्, किनभने उनको व्यापारसम्बन्धी नीति अमेरिकी विदेश नीतिसँग टकराव गर्न सक्छ । उदाहरणका लागि टेस्लाको सबैभन्दा ठुलो कारखाना संघाईमा छ र अर्को बर्लिनमा छ । दुवै देश ट्रम्पको नेतृत्वमा लगाइएको उच्च शुल्कका कारण अवरोधको सामना गरिरहेका छन् । मस्कले पुटिनसँग गोप्य व्यवहार गरेको पनि रिपोर्ट गरिएको छ, जसले स्टारलिंकमा ताइबानको पहुँच बन्द गर्न आफ्ना साथी सीको तर्फबाट लबिङ गरेको बताइएको छ । मस्कले पनि अमेरिकी हित र ताइबानका बारेमा सार्वजनिक रूपमा व्यक्त गरेको अडानसँग विरोधाभासपूर्ण बयान दिएका छन् ।
हरित पहलप्रति शत्रुतापूर्ण दृष्टिकोण र पेट्रोलियममा विश्वास कायम राख्ने ट्रम्पको धारणाले इलेक्ट्रिक कारहरूका लागि राम्रो नहुन सक्छ । तर कतिपयले मस्क पहिले नै विद्युतीय सवारीबाट टाढा गएको विश्वास गर्छन् । उनको भविष्यको सम्पत्ति अन्य व्यवसायमा निर्भर रहेको उनीहरू बताउँछन् । अमेरिकाको राष्ट्रपतिको रूपमा र आधा दर्जन उद्यमहरूको संस्थापकको रूपमा विरोधाभासलाई ध्यानमा राख्दै ट्रम्प र मस्कको चासो धेरै लामो समयसम्म एकै ठाउँमा रहन गाह्रो छ ।
–एनडिटिभीबाट