राष्ट्रिय योजना आयोग र भारतको नीति आयोगले सम्भावित क्षेत्रहरूमा सहकार्य गर्ने भएका छन् । योजना आयोगका सचिव मधुकुमार मरासैनी र नीति आयोगका उपाध्यक्ष सुमन बेरीबिच बुधबार नयाँदिल्लीमा भएको भेटमा सहकार्यका विषयमा छलफल भएको हो ।
दुई आयोगबिच रचनात्मक सम्बन्ध स्थापित हुने गरी सहकार्य गर्ने विषयमा छलफल भएको दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ । राजदूतावासले सामाजिक सञ्जाल एक्समार्फत सचिव मरासैनी र आयोग उपाध्यक्ष बेरीबिच सहकार्यका लागि छलफल भएको जनाएको हो ।