दैलेखको जलजलेमा सुरु गरिएको पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषण अवलोकन गर्न पर्यटकको घुइँचो लाग्न थालेको छ । दिनहुँ दुई सयदेखि तीन सयसम्म पर्यटक आउने गरेका स्थानीयको भनाइ छ । अहिले जलजले क्षेत्रमा होटेल व्यवसाय गर्ने व्यापारीहरू पनि निकै खुसी देखिएका छन् । एक वर्षअघि दैनिक करिब पाँच सय मात्रै व्यापार हुने उक्त क्षेत्रमा अहिले दैनिक १० हजारसम्म व्यापार हुने गरेको जलजलेका व्यापारीहरू बताउँछन् ।
मध्य पहाडी सडक खण्डको एक सय २५ किलोमिटर सडक पूर्ण रूपमा कालोपत्रे भएसँगै समग्र दैलेखको आर्थिक अवस्था सुधारका बाटाहरू खुलेका छन् । दैलेखको शिरस्थाननजिकै जलजले क्षेत्रमा सुरु गरिएको पेट्रोलियम अन्वेषण स्थल, मध्य पहाडी राजमार्गसँगै जोडिएका छन् । कर्णाली प्रदेशको रारा घुम्ने पर्यटकहरूको फर्कने क्रममा यतिवेला दैलेखको पञ्चकोशी ज्वाला क्षेत्र र अन्वेषण स्थल पुग्ने गरेका छन् ।
कर्णालीका मुख्यमन्त्री र एमाले उपमहासचिवद्वारा अनुगमन
पेट्रोलियम अन्वेषण कार्यको प्रगतिबारे कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलगायतले आयोजना स्थलमा अनुगमन गरेका छन् । जिल्ला भ्रमणका क्रममा दैलेख आएका मुख्यमन्त्री यामलाल कँडेलले आयोजना स्थलमा पुगेर कर्णालीको समग्र विकासका लागि रणनीतिक महत्वका ठुला आयोजनाको निर्माण निष्कर्षमा पुर्याउनुपर्ने अभियान प्रदेश सरकारको रहेको उनले बताए । नेकपा एमालेका उपमहासचिव ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीले सुरु गरेको परियोजना उहाँकै पालामा सम्पन्न हुने र देशको आर्थिक अवस्था सुधारको एउटा ढोका खुल्नेमा आफूहरू विश्वस्त रहेको बताए ।
८० प्रतिशत निर्माण सम्पन्न
दैलेखको जलजलेमा सुरु गरिएको पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणको कार्य ८० प्रतिशत सकिएको छ । २८ वैशाख ०८१ देखि सुरु गरिएको ड्रिलिङको काम तीन हजार एक सय मिटर जमिनमुनि पुगेको छ । चार हजार पाँच सय मिटरसम्म जमिनमुनि ड्रिलिङ पाइप पुर्याउने र पेट्रोलियम पदार्थको भण्डारण पत्ता लगाउने अभियानअन्तर्गत यो कार्य सञ्चालनमा छ । अहिलेसम्मको अन्वेषणको कार्यले उत्साहित बनाएको खानी तथा भूगर्भ विभागले जनाएको छ । जमिनमुनि २७ सय मिटरसम्म पाइप पुगेपछि साना भण्डारणहरू भेटिन सक्ने अनुमान गरिएअनुसार केही लिकेज ग्यास देखिएको छ । यसले सकारात्मक संकेत देखिएको विभागका अधिकारीहरू बताउँछन् । साना ग्यासका भण्डारलाई विसर्जन गर्ने र ग्यास लिकेज गर्ने मेसिन पनि सँगसँगै जडान गरिएको छ । अहिले जमिनमुनि साना भण्डारणसमेत देखिएकाले थप आशा र उत्साह बढेको पदाधिकारीहरूले बताए ।
भण्डारण पत्ता लागेपछि मात्र आर्थिक विश्लेषण गरेर उत्पादनका लागि थप काम अगाडि बढाइने भएको छ । पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन गर्न चीन सरकारसँग सहमति भएसँगै चीन सरकारको दुई अर्ब ४० करोडको आर्थिक तथा प्राविधिक सहयोगमा अन्वेषणको काम सुरु गरिएको थियो । अन्वेषण कार्यले नेपालमा उत्पादनयोग्य पेट्रोलियम पदार्थ भेटिन सक्ने सम्भावना धेरै भएकाले दैलेखका बासिन्दा खुसी देखिएको प्रतिनिधिसभा सदस्य दीपा शर्माले जानकारी दिएकी छिन् ।