मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ कार्तिक २३ शुक्रबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक २३ शुक्रबार १३:४८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गंगोत्रीबाट पशुपतिनाथका लागि गंगाजल लिएर टोली आउँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक २३ शुक्रबार १३:४८:oo

भारतको उत्तराखण्डस्थित गंगोत्रीबाट पशुपतिनाथ मन्दिरका लागि चढाइने गंगाजल लिएर एक टोली शनिबार गोरखपुर हुँदै काठमाडौं आउँदै छ। गंगोत्रीधामका प्रमुख रावल शिवप्रकाश महाराजको नेतृत्वमा १० जना सन्तहरूको टोली  एक हजार एक सय लिटरको कलशमा गंगाजलको घडा लिएर आउन लागेको हो। 

गंगाजलबाट सोमबार पशुपतिनाथ मन्दिरमा अभिषेक हुनेछ । यसलाई गंगाजल कलशयात्रा भनिएको छ । ‘यो हाम्रो युगौँदेखि हुँदै आएको परम्परा हो। मैले बुझेसम्म अमरसिंह थापाको पालामा नेपालले गढवाल जितेपछि गंगोत्रीधामबाट हरेक वर्ष जल ल्याउने र पशुपतिनाथ मन्दिरमा चढाउने कार्य हुँदै आएको छ,’ संहिताशास्त्री एवं पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य अर्जुनप्रसाद बास्तोलाले बताए, ‘यही क्रममा गंगोत्रीबाट कलशयात्रा आउँदै छ । गंगोत्रीबाट ल्याइएको जलले वर्षभरि पशुपतिनाथको अभिषेक हुँदै आएको छ ।’ 

रावल शिवप्रकाशले ११ सय लिटर गंगाजल बोकेको विश्वको सबैभन्दा ठुलो कलश लिएर आफू काठमाडौं आउँदै गरेको जानकारी दिए । ‘पशुपतिनाथलाई चढाउने गंगाजल, गंगाको छडी र  गन्धर्व वाद्ययन्त्रसहित लिएर हामी आउँदै छौँ,’ उनले टेलिफोनमा नयाँ पत्रिकासँग भने । 

टोली १९ कात्तिकमा गंगोत्रीबाट हरिद्वार, मुरादावाद, बरेली, लखनउ, काशी, गोरखपुर हुँदै सुनौली नाकाबाट नेपाल आउनेछ । टोली शनिबार बिहान ११ बजे गोरखपुरबाट सुनौली नाकातर्फ प्रस्थान गरेर साँझ नारायणघाटको हनुमान मन्दिरमा वास बस्नेछ । आइतबार साँझ कलशयात्रा काठमाडौं आइपुग्नेछ । रावल शिवप्रकाशका अनुसार अघिपछि सुरक्षा स्कर्टिङसहित कलशयात्रा भइरहेको छ । ‘नेपालमा पनि सुरक्षालगायतको बन्दोबस्तका लागि आग्रह गरेका छौँ । त्यहीअनुसार हामी आइपुग्नेछौँ,’ उनले भने ।

कार्यक्रम तालिकाअनुसार सोमबार बैंकटेश्वर मन्दिरबाट पशुपतिनाथ मन्दिरपरिसरमा कलशयात्रा पुग्नेछ भने पशुपति क्षेत्र विकास कोषका पदाधिकारीसहितको उपस्थितिमा पशुपतिनाथको जलाभिषेक हुनेछ । गंगोत्रीधामको टोली मंगलबार भारत फर्किने कार्यक्रम छ ।