चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)का केन्द्रीय सदस्य तथा छिङ्घाई प्रान्तका पार्टी महासचिब चेन गाङ नेतृत्वको प्रतिनिधिमण्डल सोमबार स्वदेश फर्केको छ । शनिबार काठमाडौं आएको प्रतिनिधिमण्डलले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली तथा पूर्वप्रधानमन्त्रीद्वय कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेको छ । चिनियाँ नेता गाङले आइतबार प्रमुख दलका दोस्रो पुस्ताका नेताहरूसँग चीनको आधुनिकीकरणबारे छलफलसमेत गरेका छन् ।
सिपिसी अन्तर्राष्ट्रिय विभागमा नेपाल डेस्क हेर्ने जेङ युया (नेपाली नाम सरला)सहित आएका गाङले चीनले नेपालका सबै दलहरूसँग सम्बन्ध अघि बढाएको र थप सुदृढ गर्ने बताए । आइतबार आयोजित अन्तर्क्रियामा गाङले तीन महिनाअघि चिनियाँ कम्युस्टि पार्टीको २०औँ केन्द्रीय समितिको तेस्रो सत्रले चीनलाई थप आधुनिकीकरणतर्फ लैजाने निर्णय गरेको र त्यो अर्थपूर्ण रहेको सुनाए । उनले चीन शान्तिपूर्ण आधुनिकीकरणमा विश्वास गर्ने पनि स्पष्ट पारे ।
‘४० वर्षअघि म आफैँ पनि विश्वस्त थिइनँ कि हामी आधुनिक राज्य बन्नेछौँ । हामी आधुनिक समाजवादी राज्य बन्ने कुराको आधार दुई वर्षको युद्धको अनुभवले तय गरेको हो,’ उनले भने, ‘चिनियाँ आधुनिकीकरण सपना होइन, यथार्थ हो ।’ उनले एक अर्ब ४० करोडभन्दा बढी जनसंख्यालाई व्यवस्थापन गरेर चीन आधुनिक समाजवादी राज्य बनेको र हानसहित सबै जातजातिलाई एकताको सूत्रमा बाँधिएको अनुभव पनि सुनाए ।
‘बिआरआईमा आबद्ध भएका नेपालजस्ता मुलुक चिनियाँ विकासको प्रवाहमा हातमा हात मिलाएर अघि बढ्ने अवसर सिर्जना भएको छ । हामी जलविद्युत् परियोजना, सीमापार विद्युतीय प्रसारण लाइनलगायत प्रतिबद्धता व्यक्त गरिएका परियोजना निर्माणमा बचनबद्ध छौँ,’ गाङले भने, ‘हाम्रा राष्ट्रपति सि जिनपिङले अघि सारेको ग्लोबल सिभिलाइजसनल इनिसिएटिभ (जिसिआई) बाट नेपालले लाभ लिन सक्छ । नेपाल र चीनबिच सांस्कृतिक प्रवद्र्धनलगायतका कार्य हुन सक्छन् ।’
चिनियाँ नेता गाङले कोरोना अवधिमा नेपालमा चीनबाट पर्यटक आउने संख्या घटेको उल्लेख गर्दै अब बढ्ने बताए । ‘हामी चीनमा सन् २०२५ मा नेपाल भ्रमण वर्षका रूपमा नेपाली संस्कृति प्रवद्र्धन गर्छौँ । मलाई विश्वास छ, यसले नेपालमा चिनियाँ पर्यटकको संख्या वृद्धि गर्नेछ,’ उनले भने । उनले नेपाल र छिङ्घाई प्रान्तले जलवायु परिवर्तन, प्राकृतिक प्रकोपलगायतका मुद्दामा पनि सहकार्य गर्न सक्ने उल्लेख गरे ।
‘चिनियाँ कम्युनिस्ट पार्टीले नेपालका सबै दलहरूसँग सम्बन्ध कायम गरेको छ । यसलाई हामी भविष्यमा पनि निरन्तरता दिँदै जानेछौँ,’ उनले भने, ‘सम्बन्धको आधार वैचारिक लाइन होइन, दुई देशको हितका आधारमा हामी सबैसँग सम्बन्ध राख्छौँ ।’
चिनियाँ नेतासँग प्रधानमन्त्री ओली तथा पूर्वप्रधानमन्त्री देउवा र प्रचण्डले एक चीन नीतिप्रति नेपालका सबै दलहरू प्रतिबद्ध रहेको र चीनको विकासबाट नेपालले लाभ लिन चाहेको सुनाएका थिए । नेपालका शीर्ष नेताले विगतमा भएका सबै समझदारी कार्यान्वयनमा जोड दिएका थिए । चीनले अन्य मुलुकसँग सहअस्तित्वमा आधारित सम्बन्ध विकास गर्दै आएको उल्लेख गर्दै गाङले कुनै पनि देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने, तर पार्टी–पार्टीबिचको सम्बन्धलाई भने महŒव दिने नीति सुनाएका थिए ।