
२२ पटकका ग्रान्डस्लाम विजेता राफेल नाडालले नोभेम्बरमा मालागामा हुने डेभिस कप टेनिस प्रतियोगितामा अन्तिमपटक सहभागी हुने भएका छन् । नाडालले डेभिस कप नै व्यावसायिक टेनिसको अन्तिम प्रतिस्पर्धा हुने र त्यसपछि सन्न्यास लिने घोषणा गरेका हुन् । ३८ वर्षीय नाडाल लगातार दुई सिजन चोटका कारण खेल्न सकिरहेका छैनन् । ‘तपाईंहरूलाई जानकारी दिनका लागि डेभिस कपबाट म सन्न्यास लिँदै छु,’ एक भिडियो अन्तर्वार्तामा उनले भने, ‘लगातार दुई वर्ष चोटका कारण राम्रोसँग खेल्न सकिनँ, यो वर्ष मलाई निकै गाह्रो भएको छ ।’
पुरुष टेनिस इतिहासमा नोभाक जोकोभिकपछि सर्वाधिक सफल खेलाडीका रूपमा नाडाल रहेका छन् । टेनिस क्षेत्रमा उनलाई क्ले कोटका महाराजा भनिन्छ । फ्रान्सको पेरिसमा आयोजना हुने फ्रेन्च ओपन उनले कीर्तिमानी रूपमा १४ पटक जितेका थिए । अहिले फ्रेन्च ओपनको नाम रोनाल्ड गारोस राखिएको छ । एकै ग्रान्डस्लाम धेरैपटक जित्ने रेकर्ड उनको नाममा छ । उनले फ्रेन्च ओपनमा ११६ मध्ये ११२ खेल जितेका छन् । उनले करिअरमा चारपटक युएस ओपन हात पारेका छन् ।
विम्बल्डन तथा युएस ओपन समान दुईपटक जितेका नाडालले एकपटक ग्रीष्मकालीन ओलम्पिकमा एकल र डबल्समा स्वर्ण जिते । कुनै समय टेनिसमा रोजर फेडेरर, नोभाक जोकोभिक र नाडालको दबदबा थियो । जसलाई ‘बिग थ्री’ नाम दिइएको थियो । फेडेरर, जोकोभिक र नाडालले दुई दशक टेनिसमा राज गरेका थिए । ग्रान्डस्लामदेखि एटिपी प्रतियोगितामा तीनमध्ये एकजना खेलाडी फाइनलमा पुगेका हुन्थे । नाडालका समकक्षी फेडेररले भनेका छन्, ‘टेनिसमा नाडालको अचम्मको करिअर रह्यो ।’ सन् २०२२ मा फेडेररले सन्न्यास लिएका थिए । ‘टेनिस खेललाई आकर्षक र रोमाञ्चक बनाउन सहयोग गर्नुहुने साथी नाडाललाई समान गर्न चाहन्छु,’ उनले भने ।
चोट नै मुख्य समस्या
अहिले नाडालले सिजनको अन्त्यसँगै सन्न्यास घोषणा किन गरेका हुन् भन्ने प्रश्न उठेको छ । सन् २०२३ मा उनले फ्रेन्च ओपन खेलेनन् । यस सिजनमा उनको चाहना पुनः एकपटक फ्रेन्च ओपन जित्नु थियो । तर, चोटका कारण उनको यो योजना साकार भएन । एटिपी पुरुष वरीयताका पूर्वएक नम्बर खेलाडी नाडालले पुनरागमन राम्रो बनाउन नसक्दा नै सन्न्यासको बाटो रोजेका हुन् । गत जुलाईमा लामो समयका प्रतिद्वन्द्वी जोकोभिकसँग ओलम्पिकमा उनी पराजित भए । ‘अवश्य पनि यो निर्णय लिनु सहज होइन, तर जब शरीरले साथ दिँदैन भने सन्न्यास लिनु नै सही समयजस्तो लाग्यो,’ नाडालले भने, ‘जीवनमा सुरु भएपछि अन्त्य आवश्यक पर्छ, मैले खेल करिअरको अन्त्यका रूपमा सन्न्यास घोषणा गरेको हुँ ।’
सिजनको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपनमा पनि उनी चोटग्रस्त भए । यस सिजनमा उनले चार प्रतियोगितामा भाग लिँदा गतिलो नतिजा निस्किएन । गत साता उनी सम्मिलित स्पेनले डेभिस कपका लागि टोली घोषणा गरेको थियो ।
नाडालले जितेका उपाधि
अस्ट्रेलिया ओपन : २ (२००९, २०२२)
फ्रेन्च ओपन : १४ (२००५ देखि ०८, २०१० देखि ०१४, २०१७ देखि ०२०, ०२२)
विम्बल्डन : २ (२००८, ०१०)
युएस ओपनः ४ (२०१०, ०१३, ०१७, ०१९)
ओलम्पिक स्वर्ण : २ (२००८ एकल, २०१६ डबल्स)
डेभिस कप : ४ (२००४, ०९, ०११, ०१९)
एटिपी टुर उपाधि : ९२