ज्येष्ठ नागरिकले बैंकबाट निकालेको रकम लुटेर फरार भएका चारजनालाई बारा प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका चारैजना भारतीय नागरिक रहेका छन् ।
असोज १ गते कलैया उपमहानगरपालिका– १ स्थित प्रभु बैंकअगाडिबाट ५० हजार रकम निकालेर घरतर्फ जाँदै गरेका बलिरामपुरका वृद्धलाई बाटोमा चक्कु देखाएर रकम लुट्ने गिरोह पक्राउ परेकाे हाे । पक्राउ पर्नेमा भारत बिहार जिल्ला पश्चिम चम्पारणका ४३ वर्षीय सुरेशप्रसाद बानियाँ, ४५ वर्षीय शर्मा मुखिया, ३५ वर्षीय शैलेश तिवारी र बिहार मोजफ्फरपुरका ३४ वर्षीय रवि दास रहेका छन् ।
बलिरामपुरका उक्त ज्येष्ठ नागरिकका परिवारले दिएको जाहेरीका आधारमा प्रहरीले उनीहरूको खोजी गरिरहेको थियो । प्रहरीका अनुसार चारैजना पुनः अर्को व्यक्तिलाई लुट्ने योजना बनाइरहेको अवस्थामा कलैयाबाट पक्राउ परेका हुन् । आफूहरूलाई आएको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले चारजनालाई पक्राउ गरेकाे बाराका प्रहरी प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिए ।
उनीहरूको साथबाट भारतीय नम्बरको एउटा मोटरसाइकलसमेत बरामद भएको प्रवक्ता सापकोटाले बताएका छन् । पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।