यस वर्षको चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी वैज्ञानिकद्वय भिक्टर एम्ब्रोस र ग्यारी रभ्कनलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ । नोबेल पुरस्कार समितिले सोमबार सो घोषणा गरेको हो । उनीहरूलाई ‘माइक्रोआरएनए’ आविष्कार र आनुवंशिक प्रणालीको नियमनमा त्यसको भूमिकाका लागि पुरस्कृत गर्ने निर्णय गरिएको समितिले जनाएको छ ।
उनीहरूले एक मिलिमिटर लामो एक प्रकारको जुकामा कोष उत्परिवर्तन किन भयो र कहिले भयो भनेर निर्धारण गर्न अनुसन्धान गरेका थिए । सन् १९९३ मा दुई लेखमा प्रत्येक कोषलाई सान्दर्भिक निर्देशन मात्र चयन गर्न अनुमति दिने आनुवंशिक प्रणालीको नियमनसम्बन्धी उनीहरूको आधारभूत निष्कर्ष प्रकाशित भएको थियो । आनुवंशिक गतिविधिको नियमनलाई बुझ्नु दशकौँदेखि एक महत्वपूर्ण लक्ष्य रहेको नोबेल पुरस्कार निर्णायक मण्डल –जुरी)ले बताएको छ । यदि आनुवंशिक प्रणालीको नियमनमा गल्ती भयो भने यसले क्यान्सर, मधुमेह वा स्वप्रतिरक्षाजस्ता गम्भीर रोगको जोखिम निम्त्याउन सक्छ । निर्णायक मण्डलले भनेको छ, ‘उनीहरूको अभूतपूर्व खोजले आनुवंशिक प्रणालीको नियमनको पूर्ण रूपमा नयाँ सिद्धान्त प्रकट गर्यो, जुन मानवसहित बहुकोषीय जीवका लागि आवश्यक साबित भयो ।’
यो जोडीले माइक्रोआरएनए पत्ता लगाउन र जिनको नियमनमा यसको भूमिकाको खोजीमा सहकार्य गरेको थियो । ७० वर्षीय एम्ब्रोस युनिभर्सिटी अफ म्यासाचुसेट्स मेडिकल स्कुलका प्राध्यापक हुन् भने ७२ वर्षीय रुभ्कुन हार्वर्ड मेडिकल स्कुलका प्राध्यापक हुन् । सन् १८९६ मा वैज्ञानिक अल्फ्रेड नोबेलको निधन भएको दिन डिसेम्बर १० मा स्टकहोममा आयोजित एक औपचारिक समारोहबिच उनीहरूलाई उक्त पुरस्कार प्रदान गरिनेछ । पुरस्कारको राशी १.१ करोड स्विडिस क्रोन रहेको छ ।