काठमाडौं महानगरपालिकाको बजार अनुगमन टोलीले १० दिन (१० देखि २० असोजसम्म) मा १३० वटा पसलको अनुगमन गरेको छ । बागबजार, पुतलीसडक, कालीमाटी, सोल्टीमोड, महाराजगन्ज, असन, जमल, हात्तीसार, नक्साल, विशालनगर, हाँडीगाउँ, चाबहिल, मैजुबहाल, कुमारीगालसहित विभिन्न स्थानमा गरिएको अनुगमनका क्रममा २२ वटा पसलमा म्याद गुज्रिएका उत्पादन फेला पारी कारबाही गरेको छ ।
अनुगमनका क्रममा महानगर टोलीले ८२ वटा पसलमा देखिने गरी मूल्यसूची नराखेको फेला पारेको थियो । यस्ता पसललाई देखिने गरी सूची राख्न निर्देशन दिएको र व्यवसाय दर्ता नभएका ६२ वटालाई सात दिनभित्र व्यवसाय दर्ता गर्न समय दिइएको छ । चाडपर्वमा फलफूल, माछामासु, दुध तथा दुग्ध पदार्थको धेरै प्रयोग हुन्छ ।
यसवेला तौल र गुणस्तरका आधारमा मूल्यमा ठगी हुन सक्छ । अनुगमनका क्रममा मूल्यसूची नराख्नु, खरिद–बिक्री बिलको प्रयोग नहुनु, अधिकतम मूल्य र उपभोग्य मितिको ख्याल नहुनु आमसमस्या देखिएका छन् । यस्तै व्यवसाय दर्ता नगर्नु, म्याद सकिएका सामान राख्ने कक्ष नहुनुजस्ता समस्या साझा रूपमा देखिएका छन् ।
पसलमा बेच्न राखिएका सामानमध्ये प्याकेजिङ गरिएका जुस, कुकिजलगायत बिस्कुट, चकलेट, भुजिया, घिउ, अचार, विभिन्न खालका मसला, भिनेगर, केचअप, जामजस्ता खाद्य तथा पेयपदार्थ म्याद सकिएको भेटिने गरेका छन् ।