नेपाल प्रिमियर लिग (एनपिएल)का आठ फ्रेन्चाइज टोलीले ८० खेलाडीका पाँच करोड ९२ लाख ५० हजार रुपैयाँ खर्चेका छन् । आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले १४२ खेलाडी अक्सनका लागि राखेको थियो । आइतबार आठ घण्टासम्म चलेको अक्सनमा आठ क्लबले समान १० खेलाडी अनुबन्ध गरेका छन् ।
आठ टोलीले समग्रमा एक करोड २७ लाख ५० हजार बचत गरेका छन् । लिगमा एक टोलीले खेलाडी खरिद गर्दा उच्चतम ९० लाख खर्च गर्न पाउने नियम छ । अक्सनमा लुम्बिनी लायन्स सर्वाधिक खर्चिलो टोली बनेको छ । लुम्बिनीले खेलाडी भित्र्याउन ८४ लाख ७५ हजार रुपैयाँ खर्च गर्यो । चितवन राइनोज सबैभन्दा कम खर्चिलो फ्रेन्चाइज टोली बनेको छ । चितवन राइजोनले ६३ लाख खर्च गरेको छ । धेरै रकम बचाउनेमा विराटनगर किङ्स हो । उसले २३ लाख ५० हजार बचाएको छ ।
क्यानले खेलाडी अक्सनमा ‘ए’, ‘बी’ र ‘सी’ ग्रेड छुट्याएको थियो । जसअनुसार ‘ए’मा रहेका खेलाडीलाई बढीमा १५ लाख, ‘बी’मा १० लाख र ‘सी’ ग्रेडका खेलाडीलाई पाँच लाख खर्च गर्नुपर्ने थियो । अक्सनबाट एक टिमले ‘ए’ श्रेणी र ‘सी’ श्रेणीमा समान तीन खेलाडी छान्न पाउने प्रावधान थियो । फ्रेन्चाइज टोलीले ‘बी’ ग्रेडका चार खेलाडी राख्न पाउने प्रावधान बनाइएको थियो ।
लिगमा फ्रेन्चाइज टोलीले धेरैमा चार विदेशी खेलाडी अनुबन्ध गर्न पाउँछन् । मार्की र ट्यालेन्ट हन्टबाट समान एक गरी कुल १६ खेलाडी टोलीमा समावेश गर्न पाउनेछन् । लिग १५ मंसिरबाट ६ पुससम्म काठमाडौंमा हुनेछ ।
आठै टोलीले आँखा लगाएका अनिल
राष्ट्रिय टोलीका सदस्य तथा विकेटकिपर अनिल साहका लागि अक्सनमा आठ फ्रेन्चाइज टोलीले बोली लगाएका थिए । अन्तिममा गोलाप्रथाबाट उनी जनकपुर बोल्ट्समा १५ लाखमा बिक्री भएका छन् । पछिल्लो समय राष्ट्रिय टोलीबाट सानदार प्रदर्शन गरिरहेका अनिलमाथि सबै टोलीले उच्चतम मूल्यमा भित्र्याउने प्रयास गरेका थिए । अलराउन्डर गुल्सन झा, लोकेश बम र रूपेश सिंहलाई सात टोलीले भित्र्याउन कोसिस गरे ।
‘ए’ ग्रेडका गुल्सनलाई कर्णाली र लोकेशलाई विराटनगरले भित्र्याए । सुरुमै ‘ए’ ग्रेडका तीन खेलाडी अनुबन्ध गरेपछि गुल्सनलाई लुम्बिनीले बोली नै लगाउन पाएन । ‘बी’ ग्रेडका रूपेशलाई चितवन राइनोजबाहेक अन्यले बोली लगाउँदा जनकपुरले प्राप्त गरेको थियो ।