दुई वर्षयता बाह्य क्षेत्र बलियो भए पनि आन्तरिक अर्थतन्त्र भने सुस्त थियो, तर पछिल्ला तथ्यांकले चलायमान भएको देखाउँछ
दुई वर्षदेखि सुस्त रहेको नेपालको आन्तरिक अर्थतन्त्र चलायमान बन्न थालेको छ । बाह्य क्षेत्रसँगै आन्तरिक अर्थतन्त्रमा समेत सुधारको संकेत देखिएको सरकारी निकायहरूले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । चालू आर्थिक वर्षको दोस्रो महिना भदौमा आयात, कर्जा प्रवाह र राजस्व संकलन बढेको छ ।
कोभिड महामारीका कारण प्रभावित अर्थतन्त्रको बाह्य क्षेत्रमा दुई वर्षयता सुधार देखिन थालेको भए पनि आन्तरिक अर्थतन्त्र भने चलायमान हुन सकेको छैन । खासगरी निर्माण र व्यापार क्षेत्र सुस्त देखिँदै आएको छ । जसका कारण आयात वृद्धिदर ऋणात्मक, कर्जा प्रवाह सुस्त र सरकारको राजस्व संकलनसमेत अपेक्षाकृत हुन सकेको थिएन । त्यस्तै, बैंकहरूले समेत अधिक तरलताको समस्या भोगिरहेका थिए ।
भदौसम्ममा ११ महिनापछि आयात बढेको छ । त्यस्तै, अघिल्लो वर्षको तुलनामा भदौमा कर्जा प्रवाह पाँच अर्बले बढेको छ । अघिल्लो वर्षको तुलनामा यो दुई महिनामा सरकारको कुल राजस्व संकलन २५ अर्ब ३१ करोडले बढेर एक खर्ब ६६ अर्ब ३८ करोड पुगेको छ । त्यस्तै, पछिल्लो दुई महिनामा घरजग्गा र सेयर कारोबारबाट १३ अर्ब ७४ करोड राजस्व संकलन भएको छ । अन्तर्राष्ट्रिय मुद्राकोष, विश्व बैंक तथा एसियाली विकास बैंकलगायत अन्तर्राष्ट्रिय संघ–संस्थाले समेत नेपालको अर्थतन्त्र सुधार हुँदै गएको बताउँदै आएका छन् ।
अहिले अर्थतन्त्रमा सुधारको संकेत देखिन थालेको र थप सुधारका लागि आधार पनि तयार भएको राष्ट्रिय योजना आयोगका सदस्य प्रकाश श्रेष्ठले बताए । चाडबाडले पनि समग्र माग बढाएको उनको बुझाइ छ ।
राजस्व वृद्धिदरलाई अहिलेकै अनुपातमा कायम राख्न सकेमा विकास निर्माणले पनि तीव्रता पाउने भएकाले अर्थतन्त्रमा सुधार हुने अपेक्षा गर्न सकिने उनले बताए ।
११ महिनापछि बढ्यो आयात
११ महिनादेखि निरन्तर घटिरहेको वस्तुको आयात बढेको भन्सार विभागको तथ्यांकले देखाएको छ । विभागका अनुसार साउन र भदौमा दुई खर्ब ६२ अर्ब ५४ करोड रुपैयाँको वस्तु आयात भएको छ । जुन गत आवको तुलनामा १.०८ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा दुई खर्ब ५९ अर्ब ७५ करोडको आयात भएको थियो । गत आवको तीन महिनामा (साउन–असोजसम्म) आयात १.६९ प्रतिशतले बढेको थियो । सो अवधिमा चार खर्ब सात अर्ब ७५ करोड ८९ लाख ७५ हजार रुपैयाँको आयात भएको थियो । आव ०७९/८० को असोजसम्ममा चार खर्ब ९९ करोड ८३ लाख दुई हजार रुपैयाँको वस्तु आयात भएको थियो ।
आयात बढे पनि निर्यात भने निराशाजनक छ । गत आवको पहिलो दुई महिनाको तुलनामा ५.१२ प्रतिशतले निर्यात घटेको छ । गत आवको असोजसम्ममा २६ अर्ब ४४ करोड ७० लाखको निर्यात भएकोमा चालू आवको सोही अवधिमा २५ अर्ब नौ करोड ३१ लाख निर्यात भएको छ । यो अवधिमा व्यापार घाटा दुई खर्ब ३७ अर्ब ४४ करोड ९५ लाख पुगेको छ । यो गत आवको सोही अवधिको तुलनामा १.७८ प्रतिशतले बढी छ ।
सेयर र घरजग्गाबाट पौने १४ अर्ब राजस्व
चालू आर्थिक वर्ष ०८१/८२ को पहिलो दुई महिनामा सेयर र घरजग्गा कारोबारमा हुने नाफाबाट सरकारलाई पौन १४ अर्ब रुपैयाँ पुँजीगत लाभकर प्राप्त भएको छ । त्यस्ता कारोबारमा हुने नाफाबाट लगानीकर्ता र जग्गाधनीले सरकारलाई साउन र भदौमा १३ अर्ब ७४ करोड २६ लाख ८३ हजार रुपैयाँ राजस्व तिरेका हुन् । सिडिएस एन्ड क्लियरिङ लिमिटेड र भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले यस्तो देखाएको हो । यो राजस्व गत आवको सोही अवधिको तुलनामा ११२ प्रतिशतले बढी हो । गत आवको पहिलो दुई महिनामा ६ अर्ब ४९ करोड ७३ लाख पुँजीगत लाभकर उठेको थियो । गत आवभरमा भने सेयर र घरजग्गा कारोबारबाट ४७ अर्ब ५२ करोड नौ लाख राजस्व उठेको थियो ।
एक महिनामै ५३ अर्ब कर्जा विस्तार
भदौमा वाणिज्य बैंकहरूले मात्रै ५३ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन् । साउन मसान्तसम्म वाणिज्य बैंकहरूको कर्जा प्रवाह ४५ खर्ब ७३ अर्ब रुपैयाँ थियो । भदौ मसान्तसम्म आउँदा त्यो बढेर ४६ खर्ब २६ अर्ब रुपैयाँ पुगेको तथ्यांक छ ।
नेपाल बैंकर्स संघबाट प्राप्त २० वाणिज्य बैंकको कर्जा–निक्षेपसम्बन्धी तथ्यांकले यस्तो देखाएको हो । कर्जा आउटस्ट्यान्डिङ (बक्यौता)का आधारमा भदौमा सोबराबरले कर्जा बढेको देखिएको संघको भनाइ छ । भदौको कर्जा प्रवाह पछिल्लो आठ महिनायताकै उच्च हो । यसअघि पुस ०८० मा ७८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको थियो । साथै, यो गत आवको भदौ महिनाकै तुलनामा पनि १०.१ प्रतिशतले बढी हो । गत आवको भदौमा मात्रै ४८ अर्ब रुपैयाँले कर्जा प्रवाह बढेको थियो ।
एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)ले पनि भदौमा कर्जाको माग उच्च भएको बताए । ‘साउनमा सेयर बजार बढेको थियो । भदौमा सेयर बजार घटे पनि जेठ–असारको तुलनामा माथि नै छ, भदौमा आयात पनि केही बढेको देखियो । त्यसले अर्थतन्त्र चलायमान हुन लागेको सन्देश दियो कि जस्तो लाग्छ,’ उनले भने, ‘त्यसले कर्जा माग बढाएको छ । विशेष गरी सेयर खरिदका लागि कर्जाको माग उच्च भएको देखिन्छ ।’
भदौ महिनामा वाणिज्य बैंकहरूको निक्षेप ७३ अर्ब रुपैयाँले बढेर ५७ खर्ब ८९ अर्ब रुपैयाँ पुगेको छ । गत साउन मसान्तसम्म वाणिज्य बैंकहरूमा भएको निक्षेप ५७ खर्ब १६ करोड रुपैयाँ थियो । भदौसम्ममा वाणिज्य बैंकहरूमा ऋण दिन मिल्ने रकम भने ६ खर्ब ४० अर्ब रुपैयाँ देखिएको छ । भदौ मसान्तसम्म बैंकहरूको कर्जा निक्षेप अनुपात ७८.९४ प्रतिशत छ ।
सुधारका आधार तयार भएका छन् : प्रकाश श्रेष्ठ, सदस्य, राष्ट्रिय योजना अयोग
अर्थतन्त्रमा सुधारका संकेत देखिन थालेका छन् । सुधारका आधार तयार भएका छन् । आयातमा मार्जिनल ढंगले वृद्धि भएको छ । यद्यपि, निर्यात घटेको छ । खानेतेलले अर्काे महिनादेखि निर्यात पनि बढ्लाजस्तो देखिन्छ । सुधारको संकेत छ । तर, युवा बिदेसिएकाले समग्र माग कसरी बढाउन सकिन्छ भन्ने चिन्ताको विषय हो । चाडबाडले पनि माग त बढाउने नै देखिन्छ । राजस्वमा भएको वृद्धिलाई स्थायित्व दिनुपर्ने चुनौती छ ।
सेयर बजार बढ्दा पनि कर्जाको माग बढ्यो : सुदेश खालिङ, प्रमुख कार्यकारी अधिकृत, एभरेष्ट बैंक
विगतका महिनाको तुलनामा भदौमा कर्जाको माग उच्च देखियो । यसबिचमा सेयर बजार पनि बढ्यो । त्यसले अर्थतन्त्र चलायमान हुन लागेको सन्देश दियो कि जस्तो लाग्छ । भदौमा आयात पनि केही बढेको देखियो । त्यसमाथि चाडपर्वको समय पनि आएको छ । त्यसले कर्जा माग बढायो जस्तो लाग्छ । विशेष गरी सेयर खरिदका लागि कर्जाको माग उच्च भएको देखिन्छ । यस्तै, गाडी खरिद गर्न र व्यापारिक क्षेत्रबाट पनि कर्जाको माग बढेको देखिन्छ । तर, असोज लागेपछि भने कर्जाको माग न्यून छ ।