Skip This
नेपालले आज क्यानडाको सामना गर्दै : सात महिनापछि नेपालले एकदिवसीय फर्म्याट खेल्दै
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ३१ सोमबार
  • Wednesday, 18 September, 2024
२o८१ भदौ ३१ सोमबार o७:५९:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपालले आज क्यानडाको सामना गर्दै : सात महिनापछि नेपालले एकदिवसीय फर्म्याट खेल्दै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ ३१ सोमबार o७:५९:oo

राष्ट्रिय क्रिकेट पुरुष टोलीले सात महिनापछि एकदिवसीय फर्म्याटको प्रतिस्पर्धा गर्दै छ। नेपालले सोमबार आइसिसी विश्वकप लिग २ अन्तर्गत आफ्नो दोस्रो सिरिजमा क्यानडाविरुद्ध खेल्दै छ। अंकतालिकामा क्यानडा तेस्रो तथा नेपाल सातौँ स्थानमा छन् । नेपालले अन्तिमपटक ५० ओभरको क्रिकेट फेब्रुअरीमा खेलेको थियो। 

त्रिवि क्रिकेट मैदानमा आइसिसी विश्वकप लिग २ को पहिलो सिरिजमा नेपालले नामिबिया र नेदरल्यान्ड्सविरुद्ध प्रतिस्पर्धा गरेको थियो । घरेलु मैदानमा नेपालले केवल २ अंक मात्र बटुल्यो । नेपालले तीन खेल गुमायो । यो सिरिजपछि नेपाल आइसिसी टी–२० विश्वकपको तयारीमा व्यस्त रह्यो । अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गरेको टी–२० विश्वकपमा नेपालले एक खेल पनि जित्न सकेन । तर, नेपाली क्रिकेटर विश्वकपमा आफ्नो छाप राख्न सफल भएका थिए । 

एकदिवसीय खेलमा नेपालले पहिलोपटक टेस्ट मान्यता प्राप्त दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध प्रतिस्पर्धा गरेको थियो । नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको थियो । बंगलादेशले नेपाललाई हराउन ठूलो मिहिनेत गर्नुपरेको थियो । वर्षाका कारण नेपाल र श्रीलंकाबिचको खेल रद्द भयो । 

नेपाल नेदरल्यान्ड्ससँग ६ विकेट पराजित भएको थियो । आइसिसी टी–२० विश्वकपछि नेपालले विश्वकप लिग २ को तयारी गरेको थियो । नेपालले घरेलु सिरिजमा भएको पहिलो सिरिजमा गतिलो प्रदर्शन गर्न नसके पनि क्यानडामा राम्रो नतिजा निकाल्ने अपेक्षा प्रशिक्षक मोन्टी देसाई लिएका छन् । क्यानडामा उड्नुअघि प्रशिक्षक मोन्टीले गल्ती सच्याउँदै क्यानडामा राम्रो प्रदर्शन गर्ने बताएका थिए । 

फर्ममा छैन क्यानडा
नेपालले प्रतिस्पर्धा लागेको घरेलु टोली क्यानडा पछिल्लो समय फर्ममा छैन । क्यानडाले आफ्नो पहिलो सिरिजमा लगातार चार खेल जित्दै सनसनी मच्चाएको थियो । तर, त्यसपछि दोस्रो सिरिजमा क्यानडाले चारै खेल गुमायो । गत मार्चमा क्यानडाले नेदरल्यान्ड्स र अमेरिकासँग खेलेको थियो । यस सिरिजमा क्यानडा ब्याटिङ र बलिङमा चुकेको थियो । अमेरिकासँग पहिलो खेलमा १४ तथा दोस्रो खेलमा ५० रनले पराजित भयो । नेदरल्यान्ड्सले क्यानडामाथि ६३ रन र पाँच विकेटको जित निकालेको थियो । 

क्यानडाले विश्वकप लिग २ अन्तर्गत आफ्नो तेस्रो सिरिजमा नेपालविरुद्ध उत्कृष्ट नतिजा निकाल्ने तयारी गरेको छ । घरेलु मैदानमा हुने खेलमा क्यानडाले ब्याटिङ र बलिङमा बढी मिहिनेत गरेको छ । नेपालले भने सिरिजका लागि श्रीलंका र भारतमा अभ्यास गरेको थियो । नेपाल क्रिकेट संघ (क्यान)ले भारतको बेंग्लोरमा लगभग डेढ महिना र श्रीलंकामा दुई साताको प्रशिक्षणमा खेलाडीलाई राखेका थिए ।

 यी दुवै राष्ट्रमा नेपालका सिनियर खेलाडीहरू रोहितकुमार पौडेल, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी सहभागी भएनन् । यी तीनजना क्रिकेटर क्यानडामै भएको ग्लोबल टी–२० फ्रेन्चाइज लिगमा सहभागी हुँदै त्यही प्रशिक्षण गरेका थिए । नेपाली टोलीका कप्तान रोहित पौडेलले क्यानडामा हुने सिरिजमा पछिल्लो गल्ती सच्याउने जनाएका छन् । सिरिजमा सहभागी तेस्रो राष्ट्र ओमान छैटौँ स्थानमा छ । ओमानले पछिल्ला चारमध्ये एक खेलमा जित निकालेको छ । 

युवा खेलाडीलाई प्राथमिकता
नेपालका प्रशिक्षक मोन्टीले सिरिजका लागि युवा खेलाडीलाई प्राथमिकतामा राखेका छन् । उनले युवा क्रिकेटर रिजन ढकाल र अर्जुन साउदलाई समावेश गरेका छन् । यी दुवै खेलाडीले भारत र श्रीलंकामा भएको प्रशिक्षणमा उत्कृष्ट प्रदर्शन गरेका कारण स्थान बनाउन सफल भएका हुन् । नेपाली टोलीमा रोहितसँगै दीपेन्द्रसिंह, कुशल भुर्तेल, कुशल मल्ल, आसिफ शेख, गुल्सन झा, सन्दीप लामिछाने, करण केसी, ललितनारायण राजवंशीजस्ता खेलाडी छन् । ‘हाम्रो लक्ष्य भनेको सुखद सुरुवात हो,’ कप्तान रोहितले भने ।