१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २५ मंगलबार
  • Tuesday, 17 September, 2024
स्टेफेन वुल्फ
२o८१ भदौ २५ मंगलबार १o:१o:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

पुटिनसित नजिकिँदै पूर्व एवं मध्ययुरोपेली मुलुक

Read Time : > 2 मिनेट
स्टेफेन वुल्फ
नयाँ पत्रिका
२o८१ भदौ २५ मंगलबार १o:१o:oo

भय, आक्रोश र अतीत–आसक्तिको भावनाद्वारा निर्देशित मनोवृत्तिका कारण पूर्व–सोभियत मुलुक पुटिनपरस्त भइरहेका छन्

रूसले युक्रेनी सहरमा हवाई आक्रमणलाई तीव्र पार्दै र डोनबासतर्फ बढ्दै गर्दा पूर्वी जर्मनीमा भइरहेको क्षेत्रीय चुनावमा रुसप्रति उग्र–दक्षिणपन्थी र उग्र–वामपन्थी दलको समर्थन बढिरहेको छ । दुवैले युक्रेनका लागि दिइने सहायताको विरोध गर्छन्, रुसलाई उक्साएकामा पश्चिमलाई दोष दिन्छन् र मस्कोसँगको द्वन्द्वमा व्यापक वृद्धि हुने भय पनि व्यक्त गर्छन् । यस्ता विचार तत्कालीन पूर्वी–जर्मनीका लागि अनौठा होइनन् । र, स्लोभाकिया, हंगेरी, अजरबैजान र जर्जियालगायत पूर्वसोभियत नियन्त्रणमा रहेका अन्य मध्य एवं पूर्वी युरोपेली राज्यमा पनि यस्तै भावना बढेको छ । भय, आक्रोश र अतीत–आसक्तिको भावना (नोस्टाल्जिया) द्वारा सञ्चालित यो प्रवृत्तिले सोभियत समूहको पुनस्र्थापना नखोजे पनि वैचारिक एकीकरणको संकेत गर्छ ।

हंगेरीमा रुसपरस्त विचार सन् २०१० देखि सत्तामा रहेका लोकप्रिय प्रधानमन्त्री भिक्टर ओर्बानसँगै फैलिएको छ । हंगेरी सन् १९८० र ९० को दशकको उदारवादी लोकतान्त्रिक आदर्शबाट टाढिँदै गएको छ । हंगेरीलाई युरोपियन युनियन अदालतले युनियनको शरणार्थी नियम उल्लंघन गरेको भन्दै २० करोड युरो जरिवाना लगाइएको छ । यति हुँदाहुँदै पनि सन् २०२२ मा ओर्बान चौथो राष्ट्रिय कार्यकालमा विजयी भएका थिए, यद्यपि ओर्बानसम्बद्ध गठबन्धनले सन् २०२४ को युरोपेली संसदीय चुनावमा ५० प्रतिशतभन्दा कम मत पाएको थियो । दुई दशकमा पहिलोपटक युरोपेली चुनावमा आधाभन्दा कम मत प्राप्त गरे पनि ओर्बानले पुटिनको समर्थन छाडेका छैनन्, बरु बढाएका छन् । ओर्बान पुटिनलाई भेट्ने पहिलो युरोपियन युनियन र नेटोसम्बद्ध मुलुकका नेता हुन् । उनले सन् २०२३ मा बेइजिङमा र जुलाई २०२४ मा हंगेरीले युरोपियन युनियनको अध्यक्षता लिएपछि मस्कोमा पुटिनसँग हात मिलाएका छन् । 

ओर्बानका समकक्षी एवं स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिको अक्टोबर २०२३ मा रुस समर्थक र युक्रेनविरोधी मञ्चको प्रयोग गर्दै सत्तामा फर्किएका थिए । ओर्बानका विपरीत फिको एक वामपन्थी लोकप्रियतावादी नेता हुन् र जनवरी २०२४ मा किभको भ्रमणपछि युक्रेनप्रतिको आफ्नो अडानलाई उनले नरम बनाए । यद्यपि अप्रिल २०२४ को राष्ट्रपति चुनावमा मतदातामाझ रुस समर्थक भावना बलियो रह्यो ।

नेटो र युरोपियन युनियनसम्बद्धबाहेकका मुलुकले पनि रुसपरस्त नीति अँगालिरहेका छन् । अजरबैजानका नेता इल्हाम अलियेभले पुटिनसँगको सम्बन्धलाई सुदृढ बनाएका छन् । अलियेभले पुटिनलाई अप्रिल २०२४ मा मस्कोमा भेटेका थिए र अगस्टमा राजधानी बाकुमा उनको भव्य सत्कार गरेका थिए । युक्रेनमा युद्ध सुरु भएदेखि अजरबैजान रुसका लागि एक महŒवपूर्ण मुलुक बनेको छ । अजरबैजानले प्रतिबन्धलाई बेवास्ता गर्दै इरानलाई उत्तर–दक्षिण कोरिडोरजस्ता व्यापार मार्गमा पहुँच प्रदान गर्दै आएको छ । त्यसैगरी अजरबैजानले ब्रिक्समा सामेल हुन आवेदन दिएको थियो । यसबाहेक चीनको नेतृत्वमा रहेको स्को (सांघाई सहयोग संगठन) ब्लकमा पूर्ण सदस्यता लिनका लागि अजरबैजानले हालै स्कोको पर्यवेक्षकको हैसियत माग गरेको थियो ।

कुनै समय सोभियतपछिको लोकतान्त्रिक नवीकरणको प्रतीक रहेको जर्जिया हाल रुसपरस्त हुँदै गइरहेको छ । एक दशकभन्दा बढी समयदेखि सत्तामा रहेको जर्जियाली ड्रिम पार्टीअन्तर्गतको जर्जिया रुस समर्थक निरंकुशतातर्फ ढल्किँदै छ । युरोपियन युनियनको सदस्यता प्रतिबद्धता र डिसेम्बर २०२३ मा युनियनका लागि उम्मेदवारको हैसियत हासिल गरे पनि जर्जियाको युरोपियन युनियनसँग सम्बन्ध बिग्रिएको छ । जर्जियाले एक विवादास्पद विदेशी एजेन्ट कानुन पारित गरेपछि सम्बन्धमा चिसोपन तीव्र भयो, किनभने यो रुसी कानुनबाट प्रभावित थियो, जसले युरोपियन युनियन पक्षका नागरिक समाज समूहलाई तारो बनाउँछ ।

युद्ध सुरु भएको अढाइ वर्षभन्दा बढी हुँदै गर्दा पूर्वी एवं मध्य युरोपका मुलुकको आक्रमणकारी रुसप्रतिको सहानुभूतिमा पुनरुत्थान हुँदै गएको छ । यो विकास यी मुलुकका पश्चिमा सहयोगीका समस्याको विषय हो । पूर्वी–जर्मनी, स्लोभाकिया, हंगेरी, अजरबैजान र जर्जियामा बढ्दो अधिनायकवाद युक्रेन युद्धभन्दा पहिले नै मौजुद थियो, तर युद्धले यो अधिनायकवादलाई गति दिएको छ । राजनीतिक नेताले विभिन्न तरिकाले जनताको भयलाई दोहन गर्दै आएका छन् । यस्तै एउटा भय रुससँगको द्वन्द्वमा आफ्नो मुलुक फस्ने आशंका हो । अर्को भनेको एक राजनीतिक अभिजात वर्गप्रतिको असन्तुष्टि हो, जसलाई कोभिड–१९ का प्रभाव र युक्रेन युद्धले निम्त्याएको जीविका लागत संकटको व्यवस्थापन गर्न नसकेको आरोप लगाइन्छ । यति मात्र नभई धेरै पूर्व–सोभियत मुलुकमा आमजनतामाझ आदर्श सोभियत विगत र त्यस युगका बलियो सामाजिक पृष्ठभूमि भएका पुरातनपन्थी नेताले लागू गरेको ‘विधि–व्यवस्था’का लागि अतीत–आसक्तिको भावना मौजुद छ, जब कि यो तप्काले उदारवादी समयलाई ‘अराजकता’का रूप्मा हेर्छन् । 

यद्यपि गत वर्ष चेक गणतन्त्रमा भएको राष्ट्रपतीय निर्वाचन र पोल्यान्डको संसदीय निर्वाचनले अन्य पूर्व–सोभियत समूहका देशमा गिर्दो लोकतन्त्रमा रोक लगाउन र उल्ट्याउन सकिन्छ भन्ने देखाउँछ । यसबाहेक सोभियत युगको वारसा सम्झौताको उत्तराधिकारीका रूपमा चिनिने र रुसको नेतृत्वमा रहेको सामूहिक सुरक्षा सन्धि संगठनबाट आर्मेनियाको फिर्ती भूराजनीतिक सम्बद्धता परिवर्तन हुन सक्छन् भन्ने देखाउँछ ।

यी घटनाक्रमले अस्थिर युरोपेली र विश्वव्यापी सुरक्षा परिदृश्य प्रतिबिम्बित गर्छ । युक्रेनमा युद्धको परिणाम र समयले भविष्यको क्रमलाई आकार दिनेछ । क्रेमलिनसँग जोडिएका पुराना र नयाँ निरंकुश शक्तिको पुनरुत्थानसँगै दक्षिणपन्थी र वामपन्थी लोकप्रियतावादको एकैसाथ उदयले ठुलो चेतावनी दिन्छ । यसले युक्रेन युद्धमा जसको हात माथि रहे पनि नयाँ उदार व्यवस्थाको स्थापना हुने सम्भावना न्यून देखाउँछ ।

(वुल्फ बर्मिंघम विश्वविद्यालयका अन्तर्राष्ट्रिय सुरक्षाका प्राध्यापक हुन्) द कन्भर्सेसनबाट