१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २४ सोमबार
  • Tuesday, 17 September, 2024
२o८१ भदौ २४ सोमबार १६:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सडक निर्माणमा ढिलाइ गरेको भन्दै गैँडाकोटका स्थानीयले गरे चक्काजाम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ २४ सोमबार १६:४६:oo

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको काममा ढिलासुस्ती गरेको भन्दै नवलपुरको गैँडाकोटमा स्थानीयले चक्काजाम गरेर विरोध जनाएका छन्।

सडक विस्तार तथा मर्मतमा भएको ढिलासुस्तीका कारण यात्रु र स्थानीयले दुःख पाएको भन्दै स्थानीय आन्दोलित भएका हुन् । गैँडाकोट– २ पुल्चोकनजिक इलाका प्रहरी कार्यालय गैँडाकोटअगाडि स्थानीयले करिब एक घण्टा चक्काजाम गरेका छन्। 

चाडपर्व नजिकिँदासमेत सडक मर्मतमा कुनै चासो नदिएको उल्लेख गर्दै स्थानीयले टायर बालेर सडक अवरुद्ध गरेका हुन्। छिटो काम गर्न दबाब दिनका लागि सडक अवरुद्ध गरिएको स्थानीयहरूको भनाइ छ।

होटेल व्यवसायी कमल गौतमले सडकमा हिँड्ने मात्रै नभई पसलमा बस्नेहरूलाई पनि असर गरिरहेकाले बाध्यताले चक्काजाम गर्नुपरेको बताए। लामो समयसम्म पनि पसलअगाडिको सडकमा ठुलाठुला खाल्डो खनेर अलपत्र पारेको उनको भनाइ छ।

गैँडाकोट– २ का वडाध्यक्ष प्रकाश सापकोटाले निर्माण पक्षलाई पटकपटक आग्रह गर्दा पनि अटेर गरेका कारण सडकमा उत्रनुपरेको बताए।

प्रहरी निरीक्षक हस्तबहादुर सुनारले सडक निर्माण पक्षलाई बोलाएर छलफल गराउने आश्वासन दिएपछि अवरुद्ध सडक स्थानीयले खोलेका थिए।