बागमती प्रदेश सभाले चारवटा कानुन बनाउन १५ करोडभन्दा बढी खर्च गरेको छ । प्रदेश सभाले गत वर्ष दुईवटा सालवसाली, एउटा संशोधन र एउटा मूल कानुन निर्माण गरेको हो । जसका लागि प्रदेश सभाले १५ करोड ८५ लाख ४५ हजार रुपैयाँ खर्च गरेको छ । गत आवमा प्रदेश सभाका लागि प्राप्त विभिन्न ११ शीर्षकअन्तर्गत सो परिमाणको बजेट खर्च भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
सभामुख, उपसभामुख तथा सांसदका लागि पारिश्रमिक, पोसाक, महँगी भत्ता, बैठक भत्ता, अन्य सुविधा, इन्धन, सवारी मर्मत, भ्रमण भत्ता, सवारी भाडा, विविध र पानीबत्तीका लागि नौ करोड ४५ लाख रुपैयाँ विनियोजन गरिएको थियो । सचिवालयका अनुसार प्रदेश सभाबाट गत आव ०८०–८१ मा आर्थिक विधेयक २०८१, विनियोजन विधेयक २०८१, प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०८० र प्रदेश सरकारी कामकाजी भाषासम्बन्धी विधेयक २०८० पारित भएको छ । प्रदेश सभाले ती कानुन निर्माण गर्ने क्रममा एक वर्षमा सभामुख, उपसभामुख र सांसदहरूको तलब भत्ता तथा अन्य सुविधामा उक्त रकम खर्च गरेको हो ।
प्रदेश सभाको अधिकांश समय सरकार निर्माणमा केन्द्रित हुँदा उक्त अवधिमा चारवटा कानुन निर्माणबाहेक अन्य कुनै उपलब्धि हुन सकेन । प्रदेश सभा बैठकको अधिकांश समय सत्ता समीकरण परिवर्तन र बजेट विवादमा बितेको थियो । प्रदेश सभा बैठकले यस अवधिमा तत्कालीन मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको विश्वासको मतबारे निर्णय गरेको थियो भने प्रदेश सभा बैठक बजेट विवादका कारण प्रभावित बनेको थियो । एक वर्षको अवधिमा प्रदेश सभाले सभामुख, उपसभामुख र सांसदहरूको तलबबापत ६ करोड ७० लाख ९३ हजार रुपैयाँ खर्च गरेको छ भने बैठक भत्ताबापत ८९ लाख ५० हजार रुपैयाँ खर्च गरेको छ । यसका लागि प्रदेश सभाले सात करोड २७ लाख ४९ हजार र ६७ लाख ५ हजार रुपैयाँ बजेट प्राप्त गरेको थियो ।
प्रदेश सभाले अन्य सुविधाअन्तर्गत विनियोजन गरेको नौ करोड १५ लाख ६९ हजार रुपैयाँमध्ये सात करोड ५७ लाख २३ हजार रुपैयाँ यसै अवधिमा खर्च गरेको छ । इन्धन सुविधाका लागि प्राप्त ३८ लाख ८८ हजार रुपैयाँमध्ये १४ लाख २२ हजार रुपैयाँ खर्च गरेको छ ।
प्रदेश सभाले सवारीसाधन मर्मतका लागि ३१ लाख १२ हजार रुपैयाँ खर्च गरेको छ । सवारी मर्मतअन्तर्गत प्रदेश सरकारबाट गत आवमा ४८ लाख रुपैयाँ बजेट प्राप्त भएको थियो । प्रदेश सभाले भ्रमण भत्ताबापत ५८ लाख ५० हजार रुपैयाँ बजेट प्राप्त गरेकोमध्ये ६ लाख ६५ हजार रुपैयाँ खर्च गरेको छ ।
सवारी भाडाबापत चार लाख ९९ हजार रुपैयाँ बजेटमध्ये एक लाख ४० हजार रुपैयाँ खर्च गरेको छ । पानीबत्ती खर्चअन्तर्गत प्रदेश सभाले प्राप्त गरेको दुई लाख ७० हजार रुपैयाँमध्ये शतप्रतिशत रकम खर्च गरेको छ । प्रदेश सभाले विविध खर्चतर्फ विनियोजित ४० लाख २१ हजार रुपैयाँमा ११ लाख ६७ हजार रुपैयाँ खर्च गरेको छ । पोसाक र महँगी भत्ताबापतको शीर्षकमा प्राप्त रकम भने खर्च गरेको छैन । सो शीर्षकअन्तर्गत प्रदेश सभाले क्रमशः १२ लाख २० हजार रुपैयाँ र २९ लाख २८ हजार रुपैयाँ बजेट प्राप्त गरेको थियो ।
गत आवमा प्रदेश सभामा दर्ता भएको तीनवटा विधेयकले अझै पूर्णता पाउन सकेको छैन । एक वर्षदेखि संसदीय समितिमा विचाराधीन तीन विधेयक समितिबाट छलफल सम्पन्न भई प्रतिवेदन भने बनेको छ । तर, संसद् बैठक आह्वान नहुँदा ती प्रतिवेदन प्रदेश सभामा पेस हुन सकेको छैन ।