१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २३ आइतबार
  • Monday, 16 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ २३ आइतबार १२:४४:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

चिलिमे–त्रिशूली २२० केभी प्रसारणलाइन निर्माण अन्तिम चरणमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ २३ आइतबार १२:४४:oo

त्रिशूली नदी र त्यसका सहायक खोलाहरूमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत् आयोजनाहरूबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गर्न सुरु गरिएको चिलिमे–त्रिशूली २२० केभी प्रसारणलाइनको निर्माण अन्तिम चरणमा पुगेको छ।

रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित चिलिमे हब सबस्टेसनदेखि नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेँसीस्थित त्रिशूली थ्री बी हब सबस्टेसनसम्मको २८ किलोमिटर प्रसारणलाइन निर्माणको अन्तिम चरणका कामहरू भइरहेका नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। प्रसारणलाइन निर्माणका बाँकी कामहरू सम्पन्न गरी दसैँअगाडि नै सञ्चालनमा ल्याउने गरी निर्माण धमाधम भइरहेको बताइएको छ।

चिलिमे–त्रिशूली २२० केभी प्रसारणलाइन आयोजनाअन्तर्गत नै २२०/१३२/३३ केभीका चिलिमे हव र त्रिशूली थ्री बी हब सबस्टेसन निर्माण सम्पन्न भइसकेका छन्। प्रसारणलाइनमा पर्ने ७६ वटा टावरमध्ये ७५ वटाको निर्माण सम्पन्न भएको छ। एउटा टावर जडान कार्य अन्तिम चरणमा छ। प्राधिकरणका अनुसार २८ किलोमिटर प्रसारणलाइनमध्ये पाँच किलोमिटर मात्र तार तान्न बाँकी छ। टावर जडान र बाँकी रहेको तार तान्न करिब दुई सय श्रमिक परिचालित छन्।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठलगायत सम्मिलित उच्चस्तरीय टोलीले शनिबार प्रसारणलाइन निर्माण कार्यको स्थलगत अनुगमन गरी दसैँअघि नै काम सक्ने समयसीमा तय गरेको हो। आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीबिच छलफल गरी निर्माण कार्यमा ढिलाइ नगर्न, कामदार थपेर कामलाई तीव्रता दिन आग्रह गर्दै टोलीले बाँकी रहेका हरेक काम सम्पन्न गर्ने तालिका तय गरी सोहीअनुसार कार्यसम्पादन गर्न निर्देशन दिएको छ। टोलीले अन्तिम टावरको जडान कार्य भइरहेको र तार तान्न बाँकी रहेको ठाउँको अनुगमनसमेत गरेको छ।

प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा निर्माण भएका १११ मेगावाटका रसुवागढी र ४२.५ मेगावाटको साञ्जेन जलविद्युत् आयोजनाको विद्युत् यही प्रसारणलाइनमा जोडिनेछ। दुवै आयोजना निर्माण सम्पन्न भई विद्युत् उत्पादनको चरणमा छन्। यसले गर्दा पनि प्रसारणलाइन निर्माण जतिसक्दो छिटाे सम्पन्न गर्नुपर्ने दबाबमा प्राधिकरण छ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भौगोलिक रूपमा अत्यन्तै जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा निर्माणाधीन प्रसारणलाइन निरन्तरको प्रयासपछि अब सम्पन्न हुने अवस्था पुगेको बताए। उत्तरगया गाउँपालिका– १ तिरूबाट सोही वडाको सिरुचेतसम्म एक हजार २३५ मिटर लम्बाइमा तार तान्नुपर्नेछ। मैलुङखोलामाथि पर्ने उक्त खण्डमा ड्रोनको प्रयोग गरी तार तानिने प्राधिकरणको भनाइ छ। मैलुङ क्रसिङका लागि सम्पूर्ण तयारी पूरा गरिएको छ।

प्रसारणलाइन समुद्री सतहबाट ६८० देखि दुई हजार ६०० मिटरसम्म पर्ने भूभागमा निर्माण गरिएको छ । ३३ वटा टावर पहुँच सडक नै नभएका ठाउँमा निर्माण गर्नुपर्ने अवस्थाका कारण ती स्थानसम्म पुग्न छुट्टै पहुँच सडक निर्माण गरिएको छ। आयोजनाले लाइन निर्माणका लागि २० किलोमिटरभन्दा बढी पहुँच सडक बनाएको छ।

खच्चड र मानिसबाट निर्माण सामग्री र उपकरणहरू ढुवानी गरी नाैवटा टावर निर्माण गरिएको छ। दुईवटा टावर हेलिकोप्टरबाट निर्माण सामग्री ढुवानी गरी निर्माण गरिएको छ। प्रसारणलाइनअन्तर्गत चिलिमे–मैलुङ खण्ड २० किलोमिटर डबल सर्किट र मैलुङ–त्रिशूली थ्री बी हबसम्म आठ किलोमिटर चार (मल्टी) सर्किट लाइन निर्माण गरिएको छ।

कोरियन कम्पनीहरूको अगुवाइमा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको विद्युत् जोड्नका लागि मल्टी सर्किट लाइन बनाउन लागिएको हो। माथिल्लो त्रिशूली– १ ले मल्टी सर्किट लाइन बनाउँदा भएको खर्चको ६० प्रतिशत रकम व्यहोर्नेछ। प्रसारणलाइन र सबस्टेसन निर्माणका लागि चिनियाँ कम्पनी पिङगाओ ग्रुप अफ कम्पनीजसँग ०७४ को कात्तिकमा ठेक्का सम्झौता भई पुसमा कार्यान्वयनमा आएको थियो।