१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २१ शुक्रबार
  • Monday, 16 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ २१ शुक्रबार १७:५o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

संक्रमणकालीन न्यायलाई टुंगाेमा लगिन्छ : प्रधानमन्त्री ओली

द्वन्द्वकालीन घटनाको पुनरावृत्ति हुन नदिने प्रतिबद्धता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ २१ शुक्रबार १७:५o:oo

प्रधानमन्त्री केपी ओलीले पुनर्स्थापित शान्ति प्रक्रियालाई दिगो बनाउँदै द्वन्द्वकालीन घटनाको पुनरावृत्ति हुन नदिनेतर्फ वर्तमान सरकार स्पष्ट रहेको बताएका छन्।

संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा शुक्रबार नेपाल समाजवादी पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको प्रतिनिधिमण्डलको १९बुँदे ध्यानाकर्षणपत्र बुझ्दै प्रधानमन्त्री ओलीले नेपाली जनतालाई जातीय आधारमा विभाजित गरेर र सामाजिक रूपमा घृणा फैलाएर राष्ट्रिय एकतालाई कमजोर पार्ने प्रयास सफल नहुने बताए।

‘जनताले उहिल्यै फाल्नुपर्ने राजतन्त्र आफ्नो रगतसँग साटेर बल्ल फालेका छन्। संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ। यो व्यवस्थालाई सबल तुल्याएर जनताको विकास, समृद्धि र स्थायित्वको चाहना पूरा गर्नु छ। त्यसकारण अहिले कुनै अराजकताले ठाउँ पाउने वा सत्तासमीकरणमा यताउता हुने सम्भावना छैन,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले भने, ‘कम्तीमा म प्रधानमन्त्री र नेकपा एमालेको अध्यक्ष रहुन्जेल अहिले चर्चामा ल्याइएजस्तो नेपालमा बंगलादेश वा श्रीलंकामा भएकाजस्ता घटना हुने स्थिति हुँदैनन्। मेरो अबको २२ महिने कार्यकालभित्र संक्रणकालीन न्यायलाई टुंगाेमा लाने गरी काम गरिन्छ।’

प्रधानमन्त्री ओलीले आफू पहिलेदेखि नै इमानदार रूपमा शान्ति प्रक्रियालाई अन्तिम निष्कर्षमा लाग्न लागिपरेको र अहिले पनि थप पहल गरेर सत्य निरुपण तथा मेलमिलाप आयोग तथा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसम्बन्धी विधेयक पारित गर्दा पीडितलाई केन्द्रमा राखेर राजनीतिक सहमति जुटेको सुनाए।

आफू सशस्त्र द्वन्द्वकालमा सत्तापक्ष वा विद्रोही पक्षमा नरहेकाले निष्पक्ष भएर संक्रमणकालीन न्यायलाई टुंगाेमा लाने अठोटमा रहेको स्पष्ट गर्दै प्रधानमन्त्री ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विनाआशंका यस प्रक्रियामा साथ दिनुपर्ने भनाइ राखे।

अध्यक्ष दाहालले हालै प्रतिनिधिसभामा असंसदीय, असभ्य र लाञ्छनायुक्त अभिव्यक्ति दिएको उल्लेख गर्दै ओलीले आफ्नो ध्यान भने जसरी पनि पीडितलाई न्याय दिने र मुलुकमा समृद्धि ल्याउने रहेको बताए।

संयोजक डा. भट्टराईले दुई ठुला दलको सरकार बनेकाले संक्रमणकालीन न्याय टुंगाेमा लाने अवसर भएकाले यसमा आफूहरूको साथ रहने अवगत गराए। सो अवसरमा उक्त पार्टीले ती विधेयकहरू पारित भएकाेमा स्वागत गर्दै आगामी प्रक्रियामा बृहत् सहमतिका साथ सत्यको अन्वेषण गर्न आग्रह गरेको छ। सो पार्टीले आयोगहरू गठन गर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा स्वीकार्य व्यक्तिलाई छनोट गर्न, आयोगमा पीडितको प्रतिनिधि राख्न र परिपूरणका विधि र मापदण्डबारे स्पष्ट हुनुपर्नेलगायत माग राखेको थियो।