१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २१ शुक्रबार
  • Monday, 16 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ २१ शुक्रबार १५:४९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रहरीमा चैतदेखि स्टाफ कलेज सुरु हुँदै, त्रिविसँग समझदारीपत्रमा हस्ताक्षर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ २१ शुक्रबार १५:४९:oo

नेपाल प्रहरीमा आगामी चैतदेखि मास्टर इन पुलिस साइन्स (स्टाफ कलेज) सुरु हुने भएको छ। यसका लागि प्रहरीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र त्रिभुवन विश्वविद्यालयबिच समझदारीपत्रमा शुक्रबार हस्ताक्षर भएको छ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्राडा डिल्लीराज शर्माले नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित कार्यक्रमबिच यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। 

कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले प्रहरीको नेतृत्व तहमा पुग्ने क्षमता भएका प्रहरी अधिकृतहरूको क्षमता र दक्षतालाई अभिवृद्धि गर्दै हाल नेपाल प्रहरीमा विद्यमान बढुवा प्रणालीलाई समेत पारदर्शी र अनुमानयोग्य बनाउन यो कोर्स सहयोगी हुने  बताए।

‘सिनियर प्रहरी अधिकृतहरूको वृत्ति विकास र नेतृत्व विकास कोर्सको रूपमा रहने यस एमपिएस कार्यक्रम तथा यसमा समाहित विषयले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देखापरेका नवीनतम परिवेशअनुरूप कार्यसम्पादन गर्न सक्ने व्यावसायिक र सक्षम जनशक्तिको विकास हुने अपेक्षा लिएका छौँ,’ उनले भने, ‘अनुसन्धान, रणनीति र योजना तर्जुमा गर्न सक्ने दक्ष जनशक्ति विकास भई नेपाल प्रहरीको आधुनिकीकरण तथा सांगठनिक सुदृढीकरणका क्षेत्रमा अपेक्षित लक्ष्य प्राप्त हुनेमा विश्वस्त छौँ।’

सो अवसरमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्राडा डिल्लीराज शर्माले समझदारीले प्रहरी अधिकृतहरूको क्षमता विकासमा उल्लेखनीय योगदान पुग्ने बताए।

समझदारीपत्रमा हस्ताक्षर भएपछि प्रहरी एकेडेमीले अब प्रवेश परीक्षाको तयारी थालेको छ। आगामी चैतदेखि पढाइ सुरु हुने गरी तयारी अघि बढाइएको एकेडेमीका कार्यकारी निर्देशक एआइजी सुदीप गिरी बताउँछन्। त्यसको तीन महिनाअघि प्रवेश परीक्षा सञ्चालन हुनेछ। जसअनुसार मंसिर वा पुसमा प्रवेश परीक्षा गर्ने एकेडेमीको तयारी छ।

२०७० सालमा भर्ना भएको प्रहरीको १५८औँ टोलीदेखि यो कोर्स अनिवार्य गर्न लागिएको छ। १६ महिना लामो हुने यो कोर्स एकपटकमा ३५ जनाले अध्ययन गर्नेछन्। त्यसका लागि प्रहरी प्रधान कार्यालयले १०५ जनालाई सिफारिस गर्नेछ। उनीहरूबिच नै प्रवेश परीक्षाका लागि प्रतिस्पर्धा हुनेछ। प्रवेश परीक्षामा उत्कृष्ट ३५ जनाले यो कोर्समा भर्ना हुनेछन्। एकजनाले तीनपटकसम्म प्रवेश परीक्षा दिन पाउने प्रावधान राखिएको छ।

एमपिएस कोर्स नगर्नेहरूलाई एसएसपीभन्दा माथिल्लो तहमा बढुवा नगर्ने प्रहरीको नीति छ। यद्यपि, यससम्बन्धी कानुन भने बनिसकेको छैन।

प्रहरी एकेडेमीले डिआइजी मनोज केसीलाई एमपिएस कोर्सको प्रमुखका रूपमा जिम्मेवारी दिएर तयारी अघि बढाएको छ।