१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २० बिहीबार
  • Monday, 16 September, 2024
२o८१ भदौ २० बिहीबार २o:o५:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

मकवानपुर जिल्ला लिगः हाँडीखोला, सहिद स्मृति र न्यू कम्बाइन विजयी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ २० बिहीबार २o:o५:oo

मनहरी गाउँपालिकाको हाँडीखोला युथ क्लब, बागमती गाउँपालिकाको सहिद स्मृति क्लब र हेटौँडाको न्यू कम्बाइन एफसीले हेटौँडामा जारी मकवानपुर जिल्ला लिगमा जित निकालेका छन्।

बिहीबार भएका खेलहरूमा जित निकाल्दै हाँडीखोला, सहिद स्मृति र न्यू कम्बाइनले तीन अंक बटुलेका छन्। लिगमा दोस्रो खेल खेलेको हाँडीखोलाले पहिलो जित निकाल्दै ३ अंक बटुलेको हो। बिहीबारको खेलमा हाँडीखोलाले हेटौँडा १७ को प्रगतिशील युवा क्लबलाई २–० ले हरायो। 

हाँडीखोलाका लागि दुवै गोल सञ्जीव गिरीले गरेका हुन्। पहिलो हाफमा एक गोल गरेका उनले दोस्रो हाफमा अर्को गोल थप्दै टिमलाई जित दिलाएका हुन्। यसअघि बागमती गाउँपालिकाको सहिद स्मृतिसँग हाँडीखोलाले बराबरी खेल्दै अंक बाँडेको थियो। बिहीबारको जितसँगै हाँडीखोलाको ४ अंक भएको छ।

यस्तै, बागमती गाउँपालिकाको सहिद स्मृति क्लबले पनि दोस्रो खेलमा पहिलो जित निकालेको छ। पहिलो खेलमा हाँडीखेलासँग बराबरी खेलको सहिद स्मृतले प्रतिभा क्लबलाई २–० ले हराएको छ। सहिद स्मृतिको जितका लागि बुद्धबल तामाङ र रमेश थिङले एक-एक गोल गरे। दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो। 

यसैगरी, बिहीबार नै भएको न्यू कम्बाइन र हिटया स्पोर्ट्स एकेडेमीबिचको खेलमा न्यू कम्बाइनले बाजी मारेको छ। उसले हटिया स्पोर्टस् एकेडेमीलाई ३–० गोल अन्तरले हराउन सफल भयो । कम्बाइनका लागि विशाल भ्लोनले २ र सुजल थिङले एक गोल गरेका हुन्। लगतार दुई खेल जितेको कम्बाइनको ६ अंक भएको छ। यसअघि कम्बाइनले हेटौँडाको ७ नम्बर फुटबल टिमलाई हराएको थियो ।

बुधबार वर्षाका कारण स्थगित भएर बिहीबार बिहान भएको खेलमा एफसी नामटार र पदमपोखरी युथ क्लबले एक-एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। 

खेलमा नामटारले सुरुवाती अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा अंक बाँड्न वाध्य भएको हो। नामटारका लागि कार्सङ थिङले गोल गरेका थिए। तर, पदमपोखरीका नवराज थिङले बराबरी गोल फर्काउँदै टिमलाई हारबाट जोगाए।

यता वर्षाका कारण बिहीबार पनि दुई खेल स्थगित भएका छन्। बिहीबार दिउँसो ४ बजे खेलाउन तालिकामा रहेका खेलहरू वर्षाका कारण स्थगित भएका हुन्। बिहीबार एफसी पोताला र विजय युथको खेल गौरीटार रंगशालामा तथा पशुपति युवा क्लब र एफसी चाइना क्वाटरको सिमलटार खेल मैदानमा हुने तालिका रहेको थियो। 

वर्षाका कारण दुवै खेल स्थगित गरिएको प्रतियोगिता संयोजक मकवानपुर जिल्ला फुटबल संघका उपाध्यक्ष युवराज लामाले जानकारी दिए। लामाका अनुसार स्थगित खेल दुवै क्लबसँगको छलफलमा पछि आयोजना गरिनेछ। वर्षाका कारण लिगका खेलहरू स्थगित हुँदै आएको छ। ५ वर्षपछि भएको जिल्ला लिग फुटबलमा मकवानपुरका २८ वटा क्लबको सहभागिता रहेको छ।

लिगमा प्रथम हुने टिमले प्रदेशस्तरीय लिगमा सहभागिता जनाउन पाउनुका साथै एक लाख नगद पुरस्कार पाउनेछ भने उपविजेता बन्ने टिमले ५० हजार रुपैयाँ र विधागत उत्कृष्ट खेलाडीहरूले समेत पुरस्कार प्राप्त गर्नेछन्।