१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २० बिहीबार
  • Monday, 16 September, 2024
रासस भोजपुर
२o८१ भदौ २० बिहीबार १५:१o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बहुवर्षीय बाली खेती प्रणालीमा जुट्दै किसान

Read Time : > 1 मिनेट
रासस, भोजपुर
नयाँ पत्रिका
२o८१ भदौ २० बिहीबार १५:१o:oo

एकपटक विस्तार गरेपछि दीर्घकालसम्म आम्दानी लिन सकिने भएसँगै भोजपुरका किसान बहुवर्षीय खेती प्रणालीमा जुट्न थालेका छन्। किसान सुन्तला, कागती, एभोकाडो, ओखर, किबीलगायत बहुवर्षीय बालीको खेती विस्तारमा जुटेका हुन्।

एकपटक विस्तार गरेर हुर्काएपछि दीर्घकालसम्म निरन्तर आम्दानी लिने खालका बाली विस्तारमा किसान आकर्षित भएका छन्। स्थानीय सरकारले पनि किसानलाई एभोकाडो, सुन्तला, कागती, किबी, ओखर, कफीलगायत बहुवर्षीय बालीको खेतीका लागि प्रोत्साहनका कार्यक्रमसँगै अनुदान सहयोगसमेत गर्दै आएको छ।

पौवादुङमा गाउँपालिकाले वडा नम्बर १ श्मामशिलामा पकेट क्षेत्र निर्धारण गरेर बहुवर्षीय बाली किबी खेती विस्तार गरेर किसानलाई आवश्यक सहयोग गरिरहेको छ। गाउँपालिकाले पकेट क्षेत्र निर्धारण गरेर किबी खेतीमा लगानी बढाएपछि यहाँका करिब ३० घरपरिवारले व्यावसायिक रूपमा किबी खेती गर्दै आएका वडाध्यक्ष राजेन्द्र तामाङले जानकारी दिए।

त्यस्तै, गाउँपालिकाले एभोकाडो, कफीलगायतको खेती विस्तारका लागि किसानलाई आवश्यक प्राविधिक सहयोगसँगै बिरुवासमेत वितरण गर्दै आएको छ। गाउँपालिकाले किसानको दिगो आयस्राेतको व्यवस्थापन गर्न बहुवर्षीय बाली विस्तारमा जोड दिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले बताए। बहुवर्षीय फलफूलको विस्तारले दीर्घकालसम्म आम्दानी लिन सकिने उनको भनाइ छ।

गाउँपालिकाले यहाँको भूगोल सुहाउँदो फलफूल तथा तरकारी खेतीमा जोड दिएर योजनाबद्ध रूपमा लगानी गरिरहेको पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले बताए। यहाँका ६ वटै वडामा माटो सुहाउँदो खेती प्रणालीमा जोड दिएको उनको भनाइ छ।

टेम्केमैयुङ गाउँपालिकाले पनि बहुवर्षीय बाली विस्तारमा प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्दै आएको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले जानकारी दिइन्। गाउँपालिकाले सुन्तला, कागती, दाँतेओखर, किबीलगायत बालीको व्यावसायिक खेती विस्तारमा किसानलाई सहयोग गर्दै आएको उनको भनाइ छ।

यहाँका नौवटै वडाका तल्लो भेगमा सुन्तलाको राम्रो खेती हुने भएकाले सुन्तला पकेट कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ। सुन्तला पकेट कार्यक्रमअन्तर्गत वडा नं २, ३ र ५ मा गत आर्थिक वर्षमा रु. ६ लाखबराबरको बिरुवा वितरण गरिएको उपाध्यक्ष राईले बताइन्। किसानलाई वडास्तरबाट पनि विभिन्न जातका बहुवर्षीय फलफूल खेतीका लागि प्रोत्साहनका कार्यक्रम सञ्चालन भइरहेको उनको भनाइ छ।

साल्पासिलिछो गाउँपालिकाले किबी, सुन्तला, अलैँची, रुद्राक्ष एभोकाडो, ओखरलगायत विस्तारमा जोड दिएको प्रशासकीय अधिकृत अनिश काफ्लेले जानकारी दिए। वडा नम्बर ५ मा ओखरको पकेट क्षेत्र बनाउने लक्ष्यका साथ काम अघि बढाएको उनको भनाइ छ।

अरुण गाउँपालिकाले आँप, लिची, सुन्तला, कागती एभोकाडोलगायतको खेतीमा जोड दिएको कृषि शाखा प्रमुख रवीन्द्र सापकोटाले बताए। किसानको मागका आधारमा सुन्तला, लिची, एभोकाडो, किबीलगायत बहुवर्षीय खेतीमा किसानलाई प्रोत्साहन गर्दै आएको रामप्रसाद राई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष पोखरेलले जानकारी दिए।

यहाँको वडा नम्बर ५ मानेभञ्याङमा एभोकाडो तथा वडा नम्बर ४ दलगाउँमा  एभोकाडो र लिची एवं वडा नम्बर १ ओख्रेमा किबी खेती विस्तार गरिएको उनको भनाइ छ। वडा नं ६ वैकुण्ठेमा सुन्तला नर्सरी स्थापना गरेर किसानलाई सुन्तलाखेतीमा प्रोत्साहन गरिरहेको प्रशासकीय अधिकृत पोखरेलले बताए। अन्य स्थानीय तहले पनि किसानलाई बहुवर्षीय खेती प्रणालीमा जोड्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन्।