१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ १७ सोमबार
  • Sunday, 15 September, 2024
२o८१ भदौ १७ सोमबार १८:५१:oo
Read Time : > 1 मिनेट
प्रदेश डिजिटल संस्करण

गण्डकी प्रदेश : चार मन्त्रालय लिएर एमाले सरकारमा सहभागी, राजीव गुरुङको राजीनामा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ १७ सोमबार १८:५१:oo

केन्द्रमा भएको नयाँ गठबन्धनअनुसार गण्डकीमा सत्ताघटक दलहरूलाई भागबन्डा मिलाउन दुई मन्त्रालय फुटाइएसँगै प्रदेश मन्त्रिपरिषद्ले पूर्णता पायाे। सात मन्त्रालयमध्ये दुई मन्त्रालय फुटाएर मन्त्रालयको संख्या नौ पुर्याउने निर्णय आइतबारको मन्त्रिपरिषद् बैठकले गरेको थियो। मन्त्रालय संख्या नौ पुर्याएसँगै सोमबार एमालेका चार मन्त्री नियुक्त भए। आजै उनीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मौजुदा मन्त्रिपरिषदमा हेरफेर गरी मन्त्रिपरिषद् गठन तथा कार्यविभाजनसमेत गरेका छन् ।

एमालेको कोटाबाट नवलपुरकी पदमा जिसी श्रेष्ठ (कृषि, भूमि व्यवस्था तथा सहकारी), बागलुङका कृष्णप्रसाद पाठक (स्वास्थ्य), पर्वतका मित्रलाल बस्याल (उद्योग तथा पर्यटन ) र कास्कीका प्रकाशबहादुर केसी (भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था ) मन्त्री नियुक्त भएका छन्। यसअघि गण्डकीमा कांग्रेसका सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री र अन्य चार मन्त्री रहेका थिए। चार मन्त्रीमध्ये दुई कांग्रेसका डा. टकराज गुरुङ (आर्थिक मामिला) र माओवादीको चुनावचिह्नबाट निर्वाचित नेपाल समाजवादी पार्टीका नेता गोरखा २ (क) बाट निर्वाचित फणीन्द्र देवकोटा (ऊर्जा, जलस्रोत तथा खानेपानी) को मन्त्रालय यथावत राखिएको छ। कांग्रेसका विन्दुकुमार थापालाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयबाट सामाजिक विकास, युवा तथा खेलकुद र मनाङ १ (ख)बाट स्वतन्त्र निर्वाचित राजीव गुरुङ (दीपक मनाङे) लाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थाबाट हटाएर वन तथा वातावरण मन्त्रालयको जिम्मा दिइएको छ।

तर, मन्त्रिपरिषद्ले पूर्णता पाएकै दिन वन मन्त्रालयकाे जिम्मेवारी पाएका राजीव गुरुङले पदबाट राजीनामा दिएका छन्।मन्त्रिपरिषद् विस्तारका क्रममा भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रहेका गुरुङलाई वन मन्त्रालयको जिम्मेवारी दिएपछि उनले असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन्।

प्रदेश सभाका दोस्रो र तेस्रो ठूलो दलको समर्थनविना राप्रपा, गुरुङ र देवकोटाको सहयोगमा विश्वासको मत प्राप्त गरेका मुख्यमन्त्रीले आफ्नो वरीयतासँगै मन्त्रालयसमेत परिवर्तन गरिदिएपछि गुरुङले राजीनामा दिएका हुन्। यसअघि पाँचसदस्यीय मन्त्रिपरिषदमा तेस्रो वरीयतामा रहेका उनी हाल नौसदस्यीय मन्त्रिपरिषदमा छैटौँ नम्बरमा पुगेका थिए।

वरीयतासँगै मन्त्रालय परिवर्तन भएपछि शपथग्रहणस्थलबाट रिसाउँदै उनी राजीनामा दिने भन्दै बाहिर निस्किएका थिए। त्यसलगत्तै उनले स्वकीय सचिव सन्तोष अधिकारीमार्फत मुख्यमन्त्री कार्यालयमा राजीनामा पत्र बुझाएका हुन्।

यसअघि रहेको सात मन्त्रालयमध्ये नेपाली कांग्रेसले खाली रहेको दुई मन्त्रालयमा मन्त्री पठाउन एमालेलाई भनिरहेको थियो। तर, एमालेले सरकारमा आफूहरूको समान सहभागिता हुनुपर्ने अडान राख्दै आएको थियो। एमालेले सात मन्त्रालयलाई कायम गर्ने हो भने तीन मन्त्रालय पाउनुपर्ने अडान राखेको थियो। कांग्रेसले आफ्ना तीनसँगै देवकोटा र गुरुङलाई यथावत् राखी दुई मन्त्री पठाउन एमालेलाई भनिरहेको थियो। कांग्रेसले दुई दिने र एमालेले तीन लिने अडानका कारण गण्डकीमा सरकार विस्तारमा ढिलाइ भइरहेको थियो। आइतबार दुई मन्त्रालय फुटाएर मन्त्रालयको संख्या नौ बनाएसँगै एमाले सरकारमा सहभागी भएको हो।

केन्द्रमा नयाँ गठबन्धन बनेको ठिक दुई महिनामा एमाले सरकारमा गएको हो । मन्त्रालयको संख्या र भागबण्डा नमिलेका कारण केन्द्रमा सत्ता गठबन्धन परिवर्तन भएको दुई महिना पुग्दा समेत गण्डकीमा बनेको गठबन्धनअनुसार मन्त्रिपरिषद विस्तारमा ढिलाई भएको थियो। १७ असारमा केन्द्रमा नेपाली कांग्रेस, नेकपा एमालेसँगै अन्य दलको गठबन्धन बने पनि मन्त्रालयको संख्याको भागबण्डा नमिल्दा गण्डकीमा सरकार विस्तार हुन सकेकाे थिएन।