१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ १७ सोमबार
  • Sunday, 15 September, 2024
२o८१ भदौ १७ सोमबार १६:११:oo
Read Time : > 2 मिनेट
ब्लग डिजिटल संस्करण

यसपालिको कुसेऔँसी पितृकार्यका लागि विशेष शुभ दिन

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ १७ सोमबार १६:११:oo

कुसेऔँसी पर्वलाई विशेष महत्त्वका साथ मनाउने परम्परा सदियौँदेखि चलिआएको छ । यस वर्ष भदाै १७ गते सोमबार औँसी परेकाले पनि विशेष महत्त्वका साथ हेरिरहेको छ । सोमबार र औँसी एकैपटक परेको समयमा मौन स्नान गर्ने शास्त्रीय मान्यता पनि रहिआएको छ । आजका दिन विशेषगरी स्नान, दान तर्पण तथा पितृ कार्य गर्नाले भौतिक तथा आध्यत्मिक लाभ हुने कुरा स्मृति शास्त्र तथा पुराणहरूमा बताइएको छ । 

कुसेऔँसीको महत्त्व
कुसेऔँसी अर्थात् कुश संकलन गर्ने औँसी । यसदिन वर्षभरिलाई आवश्यक पर्ने कुश संग्रह गरिन्छ । नेपाली सांस्कृतिक परम्पराले कुशलाई अत्यत्नै पवित्रतम वनस्पति कारूपमा व्याख्या गरेको छ । वेदकै अर्को पाटो शतपथ ब्राह्मणमा “आपः हि कुशस्” अर्थात् पानी नै कुश हो भनी व्याख्या गरिएको छ । यसले पानीको जीवनत्त्व विशिष्ट गुणमा तुलना गरेको देखिन्छ अर्थात् कुश पनि पानी जत्तिकै मानवीय जीवनका लागि आवश्यकीय तत्त्वका रूपमा स्वीकारिएको छ । वेदमा ब्रह्माजीको उत्पत्तिसँगै कुशको पनि उत्पत्ति भएको उल्लेख गरिएको छ । यसरी हेर्दा मानव जीवनको आधार कुश हो भन्दा अन्यथा हुँदैन । आधुनिक संसारका कल्पनाकार ऋषि महर्षीहरूले पनि विशेष विधि र पद्धतिका माध्यमबाट निर्माण गरिएको कुशको पवित्र धारण गरेर मात्र यज्ञ, व्रत, तप आदि गर्दथे भन्ने प्रसंग पुराणहरूमा व्याख्या गरिएको छ। 

धार्मिक ग्रन्थहरूमा कुशको विशेष महत्त्वलाई कैयौँ स्थानमा व्याख्या गरिएको छ। भाद्र कृष्ण औँसीमा कुश संग्रह गरिने भएकाले यसलाई कुशोत्पाटिनी अमावाश्य भनिन्छ। यसै दिन वर्ष दिनलाई आवश्यक कुश संग्रह गरिन्छ। यद्यपि, सम्भव भए दैनिक पूजामा फूल टिपेसरह नै प्रत्येक दिन कुशको संग्रह गर्न पनि सकिन्छ। तर, त्यो सधैँ सम्भव नहुने भएकाले कुसेऔँसीमै कुश उखेलेर राख्नुपर्छ मान्यता संस्थापित भएको हो। कुशे औँसीमा उखेलिएको कुश वर्ष दिनसम्म पवित्र रहने हुँदा वर्षभरि चलाउन मिल्छ भनिएको छ। 

स्नाने होमे जपे दाने स्वाध्याये पितृकर्मणि ।
करौ सदर्भौ कुर्वीत तथा सन्ध्याभिवादने ।। 

ब्राह्मणले गर्ने दैनिक स्नान, होम, जप, दान, पढ्ने र पढाउने कार्य होस् या सन्ध्या वन्दना र पितृ कार्य जे गर्दा पनि सर्वदा हातमा कुशको धारण गर्नुपर्छ भनेर बताइएको छ । यसरी हेर्दा बाैद्धिक समाजको सबैभन्दा महत्त्वपूर्ण वनस्पति कुश हो ।

सोमबारे औँसी परेका दिन उखेलेको कुशचाहिँ १२ वर्षसम्मै चलाउन हुन्छ भन्ने जनश्रुति पनि पाइन्छ। कुश संग्रह गर्ने विधि पनि शास्त्रहरूमा बताइएको छ । बिहानै उठेर कुश रोपेको बारीमा गई पूर्व वा उत्तर फर्किएर :
ॐ विरिञ्चिना सहोत्पन्न ! परमेष्ठिनिसर्गज ।
नुद सर्वाणि पापानि दर्भ स्वस्तिकरो भव ।।

यो मन्त्रको उच्चारण गरी कुशको प्रार्थना गर्नुपर्छ अनि त्यसपछि मात्र कुशको छेदन गर्नुपर्छ भनिएको छ । यसरी शास्त्रीय विधिबाट नित्य नैमित्तिक कार्यका लागि आवश्यक पर्ने कुशको संग्रह गरी ब्राह्मण संरक्षित बौद्धिक समाजको निर्माणमा उल्लेख्य भूमिका खेल्नु यस दिनको प्रमुख उद्देश्य रहेको छ  ।

बुबाको मुख हेर्ने दिन
कुशे औँसीलाई नेपाली समाजमा बुबाको मुख हेर्ने पर्वका रूपमा पनि मनाइने गरिन्छ । यस दिन बुबाको मुख हेर्नाले धनधान्यको वृद्धि भई सन्तानले सुख प्राप्त गर्ने लौकिक मान्यता रहेको छ । पूर्वीय दर्शन परम्पराबाट विकसित हरेक शास्त्रहरूले माता पितालाई जीवित एवं साक्षात् देवताका रूपमा वर्णन गरेका छन्। हिमाली संस्कारबाट विकसित हाम्रो नेपाली वैदिक परम्परामा संसारमा सम्मान गर्न पर्ने हरके मान्छेभन्दा मातापितालाई बढी सम्मान गरेको पाइन्छ। व्यावहारिक जीवनमा पाइने शिक्षादीक्षाका साथै शरीर पनि पिताको अंशबाट नै निर्माण भएका कारण नै श्रुति अर्थात् वेदले पनि ‘आत्मा वै पुत्रः’ भनेर आफ्नो स्वरूप नै पुत्रका रूपमा उत्पन्न हुन्छ भनेको छ ।

यसरी हेर्दा हाम्रो जीवन निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुने पिताको सम्मानस्वरूप मनाउने पर्व बुबाको मुख हेर्ने दिनले आफैँमा नेपाली सामाजिक तथा परम्परागत मान्यतालाई आत्मसात् गरेको पाइन्छ ।