१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ १५ शनिबार
  • Saturday, 14 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ १५ शनिबार १८:३६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

मुलुकमा विगतको जस्तो हिंसा सम्भव छैनः प्रधानमन्त्री ओली

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ १५ शनिबार १८:३६:oo

प्रधानमन्त्री केपी ओलीले नेपालमा अब कहिल्यै पनि विगतको जस्तो हिंसात्मक गतिविधि हुन नसक्ने र हुन नदिने बताएका छन्।

क्याप्टेन रामेश्वर थापाद्वारा लिखित ‘इन टू द फायर’ पुस्तकको विमोचन कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले श्रीलंका वा बंगलादेशको जस्तो अवस्थाबाट सिक्न भनेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएका अभिव्यक्तिप्रति असहमति व्यक्त गरे। नेपाल कुनै मुलुकको ‘फोटोकपी मेसिन’ नभएकाले यहाँ त्यस्तो हुन सम्भव नरहेको उनको भनाइ थियो।

‘नेपालको आफ्नै पहिचान, सभ्यता र संस्कृति छ। बंगलादेशमा जे भयो, त्यो यहाँ हुँदैन। हामीले लडेर ल्याएको लोकतन्त्र र संविधानलाई सबल बनाउन हामी लागेका छौँ। लोकतन्त्रविरुद्ध लड्नेहरूले हामीलाई तर्साउन सम्भव छैन,’ उनले भने, ‘हामीलाई सिक भनेर चर्काे स्वरमा बोल्नेहरूलाई म राम्ररी सिक भन्न चाहन्छुु– नेपालमा अब बेथिति, अराजकता र हिंसाको राजनीति सम्भव छैन। सम्भव हुन दिइँदैन।’

ओलीले लोकतन्त्र र देश बनाउने अभियानमा आफू ६ दशकदेखि लागिरहेको जिकिर गर्दै थपे, ‘मैले १७ हजार मान्छे मारेको छु र डराउने? लोकतन्त्रविरुद्ध लड्नेहरूले हामीलाई तर्साउने?’

माओवादीले दश वर्षसम्म ‘अन्धाधुन्ध’ हिंसात्मक गतिविधि गरेको भन्दै उनले त्यस्तो वेला हिंसाको चर्काे विरोध गरेको र राजनीतिक समाधानका लागि वार्ताको पनि पहल गरेको चर्चा गरे। लोकतान्त्रिक शासन प्रणालीमा अरूको अधिकार हनन हुने गरी हुने कुनै पनि गतिविधि वा अराजकतालाई राज्यले कानुनी रूपमा रोक्ने उनले जिकिर गरे।

उनले समाजको सुव्यवस्थाका लागि मानव जातिले राजनीति र राजनीतिक दल सिर्जना गरेकाले राजनीतिक प्रति घृणा फैलाउने प्रयासले समाजलाई संस्कारहीनता, अराजकता र बेथितितर्फ लगेर छिन्नभिन्न बनाउने धारणा राखे। 

‘अहिलेको सरकारले कसैमाथि अन्याय र अत्याचार गर्दैन। आफ्नो हित र रक्षाका लागि केही गलत काम गर्दैन, तर जनताको हित र रक्षाविरुद्ध कसैले काम गरेमा विधिको शासनबमोजिम शान्तिसुरक्षा र सम्मान कायम गर्छ,’ उनले भने, ‘राज्यका निकायले कानुनको पालना गर्छन्। न्यायोचित कानुनलाई सबैले मान्नुपर्छ। कानुनको विवेकसम्मत कार्यान्वयन हुुनुपर्छ। लोकतन्त्र सरकार र सबैको जीवन पद्धति हुनुपर्छ। हामी परिपूर्ण लोकतन्त्रको पक्षमा छौँ।’

प्रधानमन्त्री ओलीले आफ्नो न्यायिक कमाइबाहेक अरू सम्पत्तिमा लोभ नगर्ने, अनैतिक काम नगर्ने, जानी जानी झुठ नबोल्ने, अरूको अहित नगर्ने, भ्रष्टाचार नगर्ने र गर्न नदिने संकल्प दोहोर्याउँदै देशको अर्थतन्त्र शिथिल भएका वेला अर्थतन्त्रलाई सुधार्दै गरिबीको दुुष्चक्रबाट मुलुकलाई माथि उठाउन आफूहरू लागिरहेको जिकिर गरे।

कार्यक्रममा प्रधानमन्त्री ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र आदित्यनाथले थापाको पुस्तक लोकार्पण गरेका थिए। प्रधानमन्त्री ओली र सभापति देउवाले नेपालको शान्ति प्रक्रिया, राजनीतिक स्थिरता र विकासका लागि थापाले आफ्नो ज्यान जोखिममा राखेर पनि महत्त्वपूर्ण पहल गर्दै आएकामा प्रशंसा गरेका थिए।