Skip This
सुदूरपश्चिममा तीन दिनभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण १९ शनिबार
  • Thursday, 19 September, 2024
२o८१ श्रावण १९ शनिबार १o:o६:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

सुदूरपश्चिममा तीन दिनभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ श्रावण १९ शनिबार १o:o६:oo

सुदूरपश्चिममा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ। प्रदेश प्रमुख नजिर मियाँले  संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा  मुख्यमन्त्रीमा तीन दिनभित्र दाबी पेस गर्न आह्वान गरेका छन्।

मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार पदबाट राजीनामा दिएपछि शुक्रबार साँझ नै विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुख मियाँले आइतबार बेलुका पाँच बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन्। सुदूरपश्चिममा नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार गठन गर्ने तयारी गरेका  छन्। दुई दलबीच प्रदेश सरकारको नेतृत्व कांग्रेसले गर्ने सहमति छ।

५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ सदस्यको समर्थन चाहिन्छ। कांग्रेसका १८ र एमालेका ११  सदस्य छन्। सात सदस्य रहेको नागरिक उन्मुक्ति पार्टी पनि सरकारमा जान तयार छ। नयाँ सरकार गठनका लागि आह्वान भए पनि कांग्रेसले मुख्यमन्त्रीमा कसलाई अघि सार्ने भन्ने निर्णय शुक्रबारसम्म गरिसकेको छैन। कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले मुख्यमन्त्रीका सम्बन्धमा निर्णय भइनसकेको उल्लेख गर्दै पार्टी  सभापतिले निर्णय गर्ने बताए।

‘मुख्यमन्त्री कसलाई बनाउने भन्ने निर्णय केन्द्रीय नेतृत्वले गर्छ। नेतृत्वको निर्णयअनुसार हामी अगाडि बढ्छौँ,’ उनले भने।

कांग्रेसमा मुख्यमन्त्रीका लागि संसदीय दलका नेता शाह, सांसदहरू प्रकाश देउवा, बहादुरसिंह थापा र दिवानसिंह विष्टले दाबी गरेका छन्। 

सदनमै मुख्यमन्त्री सोडारीले शुक्रबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष पदबाट राजीनामा दिनुअघि प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिने घोषणा गरेका थिए। मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा बैठक बोलाइएको थियो। तर, मुख्यमन्त्री सोडारीले मतविभाजनमा नगई मार्गप्रशस्त गरेको घोषणा गरे। 

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीका दुई र एक स्वतन्त्र सांसदको समर्थनमा एकीकृत समाजवादीका संसदीय दलका नेता सोडारी गत ६ वैशाखमा मुख्यमन्त्री नियुक्त भएका थिए। गत २० असारमा एमालेले समर्थन फिर्ता लिएपछि सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको थियो।