उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेट गरेका छन् । उद्योग मन्त्रालयमा बुधबार भएको भेटमा मन्त्री भण्डारीले नेपाल र जनवादी गणतन्त्र चीनबीचको सम्बन्ध ऐतिहासिक, राजनीतिक तथा संस्कृतिक रूपमा पनि घनीभूत रहेको बताए।
उनले भने, ‘दुई देशबीचको जनस्तरको सम्बन्ध तथा आपसी सहयोगले नेपाल–चीनबीचको सम्बन्धको आयामलाई थप विस्तार गरेको अनुभूति गरेको छु । नेपाल सदैव एक चीननीतिप्रति प्रतिबद्ध छ र चीनविरोधी कुनै पनि किसिमका गतिविधिका लागि आफ्नो भूमिको दुरुपयोग हुन नदिने संकल्पमा नेपाल सरकार दृढ रहेको स्पष्ट पार्न चाहन्छु ।’
नेपाल चीनको शान्ति, स्थायित्व एवं विकासमा योगदान गर्न प्रतिबद्ध रहेको विश्वास दिलाउँदै मन्त्री भण्डारीले पछिल्ला वर्षहरूमा दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई थप प्रवर्द्धन गर्न महत्त्वपूर्ण उच्चस्तरीय भ्रमणहरूको आदान–प्रदान भएको बताए।
‘यस्ता उच्चस्तरीय भ्रमणहरूका क्रममा व्यापार, ‘कनेक्टिभिटी’ र द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ पार्ने उद्देश्यले धेरै सहमति तथा समझदारीहरू भएका छन्, यस्ता किसिमका भ्रमणको आदान–प्रदानले दुई देशबीचको सम्बन्ध र सहयोगका क्षेत्रहरू थप विस्तारित र समृद्ध हुनेमा म विश्वस्त छु,’ मन्त्री भण्डारीले भने।
नेपालको सामाजिक तथा आर्थिक विकासका लागि चीन महत्त्वपूर्ण तथा विश्वासिलो विकास साझेदारका रूपमा रहेको उनले बताए। मन्त्री भण्डारीले द्विपक्षीय नाकाहरू पुनः सञ्चालनमा आएपछि दुईदेशीय व्यापारको मात्रा उल्लेख्य रूपमा बढेको उल्लेख गरे। दोस्रो ठूलो व्यापार साझेदार भए पनि आयात र निर्यातबीच ठूलो खाडल देखिएको उनको भनाइ छ।
चिनियाँ सरकारको सहयोगमा रसुवाको टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाह तोकिएको मितिमा सम्पन्न हुनेमा मन्त्री भण्डारीले विश्वास व्यक्त गर्दै मुस्ताङको कोरलामा पूर्वाधार विकास गर्ने विषयमा नेपाल र चीन सरकारबीच सैद्धान्तिक रूपमा सहमति भइसकेकाले छिट्टै कार्यान्वयनमा जाने उल्लेख गरे।
चीन सरकारको अनुदान सहयोगमा दैलेखमा सञ्चालित पेट्रोलियम अन्वेषण परियोजनामार्फत पेट्रोलियम अन्वेषण कार्य द्रुत गतिमा अगाडि बढिरहेको मन्त्री भण्डारीले जानकारी गराए। उनले चीनमा नेपाली उत्पादनको बजार पहुँच विस्तार गर्न र चीनको बजारमा नेपाली वस्तुहरूको प्रवर्द्धन गर्न चीन सरकारसँग सहकार्य गर्न निकै उत्साही रहेको बताए।
भेटका क्रममा चिनियाँ राजदूत सोङले चीन–नेपाल आपसी सम्बन्ध विस्तार गरी सौहार्द वातावरण सिर्जना गर्न समर्पित रहेको बताए। व्यापार र विकास निर्माणमा साझेदारी तथा नेपालको आर्थिक विकास र समृद्धिको साझेदारका रूपमा चीनले काम गरिरहेको बताए।
राजदूतका रूपमा आफूले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका साथै अन्य मन्त्रालयसँगसमेत अन्तर्क्रिया गरी सहकार्यको वातावरण बनाउँदै गएको सोङको भनाइ छ।