मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण ७ सोमबार
  • Sunday, 16 February, 2025
एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया र कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा ।
२o८१ श्रावण ७ सोमबार २१:३३:oo
Read Time : > 1 मिनेट
प्रदेश डिजिटल संस्करण

मन्त्रालय भागबन्डा र मन्त्री टुंगो नलाग्दा बागमतीमा एक दिन पछि सर्‍यो मुख्यमन्त्रीमा दाबी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ श्रावण ७ सोमबार २१:३३:oo

मन्त्रालयको भागबन्डा र एमालेबाट मन्त्री बन्नेहरूको टुंगो नलाग्दा बागमती प्रदेशमा सोमबार मुख्यमन्त्रीको दाबी पेस हुन सकेन। अब प्रदेश प्रमुखले दिएको समयसीमाको अन्तिम दिन मंगलबार मात्र कांग्रेसले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएको छ।

१३ वटा मन्त्रालय रहेको बागमती प्रदेशमा दुवै दलले सात–सातवटा मन्त्रालय दाबी गरेपछि समझदारी बन्न सकेको छैन। यस्तै, एमालेमा आकांक्षी धेरै भएपछि मन्त्री बन्नेको टुंगो लाग्न सकेको छैन।

मन्त्री बन्न चाहने आकांक्षी धेरै भएपछि एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया र प्रमुख सचेतक मधुसुदन पौडेलसहितका नेताहरू शीर्ष नेता भेट्न काठमाडौं लागेका छन्। एमालेका मुख्य नेता नै काठमाडौं लागेपछि सोमबार मुख्यमन्त्रीमा दाबी पेस हुन नसकेको एमालेका एक नेताले जानकारी दिए।

कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक गोविन्द लम्सालले मंगलबार साँझ ५ बजेसम्मको समय रहेकाले त्यसैअनुसार मंगलबार नै दुवै दलको समर्थनमा कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले मुख्यमन्त्रीको दाबी पेस गर्ने जानकारी दिए।

दलहरूबीच मन्त्रालयको भागबन्डा मिलाउन बाँकी रहेको र एमाले संसदीय दलका नेता थपलियाले अकस्मात काठमाडौं जानुपर्ने जानकारी गराएकाले सोमबार मुख्यमन्त्रीमा दाबी पेस हुन नसकेको लम्सालले बताए।

‘मन्त्रालयको भागबन्डा टुंग्याउन बाँकी छ। त्यसमा कार्यदलले काम गरिरहेको छ। एमालेका साथीहरू काठमाडौं जानुभएकाले पनि सोमबार मुख्यमन्त्रीमा दाबी पेस हुन नसकेको हो,’ प्रमुख सचेतक लम्सालले भने, ‘उहाँहरू आएपछि भोलि मंगलबार दाबी पेस गर्छौंँ।’

दुवै दलका नेताहरूबीच १३ वटा मन्त्रालय रहेको बागमती प्रदेशमा मन्त्रालयको संख्या घटाउने विषयमा पनि छलफल चलेको थियो। तर, दुवैतर्फ आकांक्षीहरूको संख्या ठूलो रहेकाले तत्काल मन्त्रालय घटाउने सम्भावना कम रहेको नेताहरूले बताएका छन्। 

कांग्रेसका प्रमुख सचेतक लम्सालले कांग्रेस र एमालेबीच पाँच–पाँचवटा मन्त्रालयमा कुरा मिले पनि दुईवटा मन्त्रालयमा कुरा मिल्न नसकेको पुष्टि गरे। उनले खेलकुद मन्त्रालय र कृषि तथा पशुपन्छी मन्त्रालयका विषयमा कुरा मिल्न बाँकी रहेको उनको भनाइ छ। 

प्रमुख सचेतक लम्सालका अनुसार कांग्रेसले मुख्यमन्त्रीसहित भौतिक पूर्वाधार, आन्तरिक मामिला, सामाजिक विकास, संस्कृति, पर्यटन तथा सहकारी र श्रम, रोजगार तथा यातायात मन्त्रालय पाउने सहमति भएको छ। 

यस्तै, एमालेले आर्थिक मामिला, स्वास्थ्य, वन तथा वातावरण, खानेपानी, ऊर्जा तथा सिँचाइ र उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय लिने सहमति भएको छ। तर, खेलकुद र कृषि मन्त्रालयको विषयलाई लिएर दुवै दलले दाबी गरेपछि समस्या भएको प्रमुख सचेतक लम्सालको भनाइ छ । 

एमालेका प्रमुख सचेतक मधुसुदन पौडेलले पनि दलहरूबीच मन्त्रालय भागबन्डाको काम बाँकी रहेको स्पष्ट पारे। उनले सत्ता सहकार्य गर्ने भएपछि मन्त्रालयको बाँडफाँट पनि बराबरी हुनुपर्ने दाबी गरे। 

आइतबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठन गर्न आह्वान गरेसँगै एमालेको समर्थनमा कांग्रेसका बहादुरसिंह लामाले सोमबार बिहान १० बजे दाबी पेस गर्ने तयारी गरेका थिए। 

यसअघि मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार दिउँसो प्रदेश सभामा राजीनामाको घोषणा गर्दै प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई राजीनामा बुझाएका थिए। मुख्यमन्त्री जम्कट्टेलले पदबाट दिएको राजीनामा स्वीकृत गरेका प्रदेश प्रमुख शर्माले संविधानको धारा १६८(२) बमोजिम सरकार गठनका लागि ८ साउन मंगलबार साँझ ५ बजेसम्म दाबी पेस गर्न दलहरूलाई आह्वान गरेका छन्।

नयाँ गठबन्धनमा रहेको कांग्रेस र एमालेसँग यहाँ स्पष्ट बहुमत रहेको छ। ११० सदस्यीय बागमती प्रदेश सभामा सरकार गठनका लागि ५६ सांसद आवश्यक रहेकोमा कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसद् छन्।