
नवनियुक्त खानेपानीमन्त्री प्रदीप यादवले पहिलो निर्णयका रूपमा संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन स्वीकृत गरेका छन्। सोमबार पदभार ग्रहणपछि मन्त्री यादवले उक्त प्रतिवेदन मन्त्रिपरिषदमा पठाउने निर्णय गरेका हुन्।
यही असार ५ गते मन्त्रालयले सचिवस्तरीय निर्णय गरी सात सदस्यीय संगठन तथा व्यवस्थापन सर्वेक्षण समिति गठन गरेको थियो। समितिले तयार गरेको प्रतिवेदनमा अर्थ मन्त्रालयले असार १८ गते सहमति प्रदान गरेको मन्त्रालयका कर्मचारी प्रशासन शाखाका अधिकृत विज्ञान कोइरालाले जानकारी दिएका छन्।
‘अर्थ मन्त्रालयको असार १८ को मन्त्रीस्तरको निर्णयबाट उक्त प्रतिवेदनमा सकारात्मक सहमति प्रदान भएकाले खानेपानी मन्त्रालय र अन्तर्गतका निकायहरूको संगठन तथा व्यवस्थापन प्रतिवेदन स्वीकृतिका लागि नेपाल सरकार, मन्त्रिपरिषदमा पठाउने,’ निर्णयमा भनिएको छ।