मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ३१ सोमबार
  • Tuesday, 07 January, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार ३१ सोमबार o८:३९:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

रोहित र दीपेन्द्रले क्यारेबियन टी–१० लिग खेल्ने

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार ३१ सोमबार o८:३९:oo

नेपाली कप्तान रोहित र अलराउन्डर दीपेन्द्रसिंहले वेस्ट इन्डिजको म्याक्स टी–१० लिग खेल्ने भएका छन्, सोमपाल अहिले माल्दिभ्स प्रिमियर लिग खेलिरहेका छन् भने सन्दीप ग्लोबल टी–२० लिगमा आबद्ध छन् 

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल तथा अलराउन्डर दीपेन्द्रसिंह ऐरी वेस्ट इन्डिजमा हुने म्याक्स ६० क्यारेबियन टी–१० लिग खेल्ने भएका छन् । वेस्ट इन्डिजमा शनिबार भएको ड्राफ्टमा रोहित र दीपेन्द्रसिंहले म्याक्स ६० क्यारेबियन टी–१० लिग खेल्ने पक्का गरेका हुन् । रोहित मियामी लायन्स तथा दीपेन्द्रसिंह ग्रान्ड क्यामन स्टिंर्गेसमा अनुबन्ध भएका छन् । रोहित दोस्रो अन्तर्राष्ट्रिय फ्रेन्चाइज टोलीमा आबद्ध भएका हुन् । यसअघि उनी क्यानडाको ग्लोबल टी–२० लिगमा पहिलोपटक आबद्ध भएका थिए । 

यी दुवै खेलाडीका अनुबन्धित रकम खुलाइएको छैन । रोहित आबद्ध मियामी लायन्सको आइकोनिक खेलाडीका रूपमा वेस्ट इन्डिजका डवाने ब्राभो रहेका छन् । यस टोलीमा पाकिस्तानका पूर्वकप्तान सोएब मलिक र वेस्ट इन्डिजका रवि भोपारा छन् । यसैगरी, न्युजिल्यान्डका कोरी एन्डरसन पनि रोहितकै टोलीमा छन् । आइसिसी टी–२० अलराउन्डरको शीर्ष सातभित्र रहेका दीपेन्द्रसिंह आबद्ध ग्रान्ड क्यामनको आइकोनिक खेलाडीमा एलेक्स हालेस छन् । 

भारतका रोबिन उथप्पा, वेन डंक तथा मिचेल म्याक्लेघान रहेका छन् । प्रतियोगितामा अस्ट्रेलियाका डेभिड वार्नर, जिम्बावेका सिंकन्दर राजा तथा श्रीलंकाका थिसरा परेरा फरक–फरक टोलीका आइकोनिक खेलाडीका रूपमा रहेका छन् । म्याक्स ६० टी–१० लिगमा पाँच टोली छन् । यो प्रतियोगिता १८–२५ अगस्टसम्म हुनेछ । पछिल्लो समय टी–२० खेलमा रोमाञ्चकता प्रदान गर्न ६० बलको लिग सुरु भएको हो । 

ग्लोबल टी–२० पनि खेल्दै
यसै महिना अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गरेको आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितालगत्तै नेपालका तीन खेलाडी क्यानडाको ग्लोबल टी–२० फ्रेन्चाइज लिगमा आबद्ध भए । लेग स्पिनर सन्दीप लामिछाने, कप्तान रोहित र दीपेन्द्रसिंह चर्चित ग्लोबल टी–२० लिगमा आबद्ध भएका हुन् । सन्दीप र दीपेन्द्रले भ्यानकुभर नाइट्सबाट खेल्नेछन् । रोहित टोरन्टो नेसनलमा आबद्ध छन् । रोहितले पहिलोपटक अन्तर्राष्ट्रिय फ्रेन्चाइज प्रतियोगितामा डेब्यु गर्नेछन् । 

सन्दीप ४० लाख र दीपेन्द्रसिंह ऐरी २४ लाखमा भ्यानकुभर नाइट्समा आबद्ध भएका हुन् । रोहितलाई टोरन्टोले १६ लाख रुपैयाँ खर्चेर भिœयाएको हो । सन्दीप चौथोपटक र दीपेन्द्रसिंहले दोस्रोपटक ग्लोबल टी–२० लिग खेल्न लागेका हुन् । सन्दीपले यसअघि सन् २०१८ मा भएको पहिलो संस्करणमा मोन्ट्रेल टाइगर्सबाट खेलेका थिए । त्यसपछि उनी सन् २०१९ मा टोरोन्टोमा आबद्ध भए । पछिल्लोपटक सन्दीपले सर्रे जागुएर्सबाट खेलेका थिए । 

सन्दीप र दीपेन्द्रसिंह आबद्ध भएको म्यानकुभरमा पाकिस्तानका बाबर अजाम, मोहमद आमिर तथा मोहमद रिजवान छन् । यसैगरी यस टोलीमा पाउल भान मिकेरेन, रुवेन ट्रम्पेल्म्यान तथा जेरेम गोर्डान छन् । रोहित आबद्ध टोरन्टोमा कालिन मुन्रो, साहिन अफ्रिदी तथा रसिए भान डेर छन् । एसोसिएट राष्ट्रका साद विन जाफर, निकोलास किर्टन तथा जुनिद सिद्दिकी छन् । प्रतियोगिता २५ जुलाईदेखि सुरु हुँदै छ ।

सोमपाल माल्दिभ्स प्रिमियर लिगमा 
रोहित, सन्दीप र दीपेन्द्रसिंह ऐरी क्यारेबियन र क्यानडाको फ्रेन्चजाइज लिगमा आबद्ध हुँदा नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख फास्ट बलर माल्दिभ्समा व्यस्त छन् । उनी माल्दिभ्सको टी–२० प्रिमियर लिगमा खेलिरहेका छन् । सोमपाल मिलान क्रिकेट एकेडेमीमा आबद्ध छन् । मिलानले हालसम्म तीन खेल खेलेको छ । जसमा तीनवटै खेलमा जित निकाली ६ अंक बटुलेको छ । सोमपालले पछिल्लो खेलमा व्यान्सा क्लबविरुद्ध बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै १४ रन खर्चेर महŒवपूर्ण ३ विकेट लिए ।

यसअघि सिबिएल स्पोर्टस्सँगको प्रतिस्पर्धामा उनले विकेट लिन सकेनन् । तर, ब्याटिङमा उनको प्रदर्शन अब्बल रह्यो । उनले १६ बलमा २९ रन जोड्न तीन चौका र दुई छक्का प्रहार गरे । उनले सिबिएल स्पोर्टस्विरुद्ध तीन ओभरमा ४४ रन खर्चे पनि विकेट लिन सकेनन् । यो प्रतियोगिताको फाइनल ३ अगस्टमा हुनेछ । 

टी–२० अलराउन्डरमा दीपेन्द्रसिंह सातौँमा
क्यारेबियन, माल्दिभ्स र ग्लोबल टी–२० मा आबद्ध नेपाली खेलाडीहरू आइसिसीको वरीयतामा समावेश छन् । आइसिसीको पछिल्लो वरीयतामा दीपेन्द्रसिंह टी–२० अलराउन्डर वरीयताको सातौँ स्थानमा छन् । आइसिसीको वरीयतामा शीर्ष दशभित्र समावेश उनी एक मात्र नेपाली खेलाडी हुन् । माल्दिभ्स प्रिमियर लिगमा आबद्ध सोमपाल टी–२० बलिङमा ९४औँ स्थानमा छन् । वरीयतामा दीपेन्द्रसिंह सयौँ स्थानमा रहेका छन् । टी–२० ब्याटिङमा उनी ४६औँ स्थानमा रहे । यसैगरी टी–२० ब्याटिङमा रोहित ६१औँ स्थानमा रहेका छन् ।