१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १९ बुधबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार १९ बुधबार o७:५३:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

निर्वाचन आयुक्तमा सिफारिस प्रधानविरुद्ध चार उजुरी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार १९ बुधबार o७:५३:oo

प्रधानको कार्यालयमा कार्यरत हुँदा यौन हिंसामा परेको र दबाबमा मिलापत्र गराइएको भन्दै पीडितको उजुरी

निर्वाचन आयोगको आयुक्त पदमा सिफारिस कृष्णमान प्रधानविरुद्ध संसदीय सुनुवाइ समितिमा चारवटा उजुरी परेका छन् । संवैधानिक परिषद्बाट २ असारमा आयुक्तमा सिफारिस भएका प्रधानविरुद्ध सुनुवाइ समितिले ७ असारमा उजुरी आह्वान गरेको थियो । समितिको मंगलबार बसेको बैठकमा उनीविरुद्ध परेका उजुरी खोलेको हो ।

समितिका एक सदस्यका अनुसार प्रधानविरुद्ध यौन हिंसाको उजुरीसमेत परेको छ । ‘प्रधानको कार्यालयमा कार्यरत हुँदा यौन हिंसा गरेको र दबाबमा मिलापत्र गराइएको भन्दै एक महिलाले उजुरी दिएकी छिन्,’ ती सदस्यले भने, ‘अब सुनुवाइपछि उपयुक्त निर्णय होला ।’ 

नेपाल कानुन समाजका कार्यकारी निर्देशक प्रधानले आफ्नै कार्यालयमा कार्यरत महिलालाई प्रलोभन दिएर पटक–पटक बलात्कार गरेको विषय यसअघि नै बाहिरिएको थियो । पीडित महिलाले प्रधानविरुद्ध प्रहरीमा जाहेरी र अदालतमा निवेदन दिएकी थिइन् । प्रधानको दबाब र प्रभावमा मुद्दा मिलापत्रमा टुंगिएको थियो । अहिले पीडित महिला फेरि आफूलाई दबाब र प्रभावमा पारेर मिलापत्र गर्न बाध्य पारिएको दाबी गर्दै आफूमाथि यौन हिंसा गर्ने प्रधानलाई निर्वाचन आयुक्त नबनाउन समितिमा निवेदन दिएकी छिन् । समिति सदस्यहरूका अनुसार चारवटै उजुरीमा प्रधानले आफ्नै कर्मचारीलाई यौन हिंसा गरेकाले नैतिक रूपमा पतन भएका उनलाई निर्वाचन आयुक्तमा अनुमोदन नगर्न माग गरिएको छ । 

यसैबीच, प्रधानले आफूविरुद्धका उजुरी सार्वजनिक नगरिदिन संसद् सचिवालयलाई आग्रह गरेका थिए । उनले उजुरी सार्वजनिक नगर्न ताकेता गरेपछि संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले सांसदहरूलाई समेत सार्वजनिक नगरिदिन अनुरोध गरेका थिए । ‘समिति बैठकमा प्रधानविरुद्ध चारवटा उजुरी परेको छ । सबै अध्ययनकै क्रममा छ,’ उनले भने ।

संविधानको धारा २४५ (६) मा निर्वाचन आयुक्त पदमा नियुक्तिका लागि उच्च नैतिक चरित्र भएको हुनुपर्ने व्यवस्था छ । नियुक्ति सिफारिससम्बन्धी कानुनमा पनि यही व्यवस्था छ । संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी ऐनको दफा ५ मा कुनै व्यक्तिलाई नियुक्तिका लागि सिफारिस गर्दा परिषद्ले निजको सामाजिक प्रतिष्ठा, उच्च नैतिक चरित्र, इमानदारिता, निजप्रतिको जनभावनालाई विचार गर्नुपर्ने भनिएको छ । 

संविधानविद् चन्द्रकान्त ज्ञवालीका अनुसार उच्च नैतिक चरित्र भन्नाले कुनै पनि काण्डमा नमुछिएको भन्ने सम्झिनुपर्छ । तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीको मुद्दामा सर्वाेच्च अदालतले द्वन्द्वमा दमन, हत्या, भ्रष्टाचार र बलात्कार तथा यौनजन्य हिंसा गर्नेहरू उच्च नैतिक चरित्र नभएको आशयको फैसला गरेको थियो । समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराका अनुसार निर्वाचन आयुक्तमा सिफारिस प्रधानको संसदीय सुनुवाइ २१ असारमा हुनेछ । त्यसअघि २० असारमा उजुरीकर्तासँग छलफल हुनेछ । 

ad
ad
ad
ad