१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १७ सोमबार
  • Tuesday, 02 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार १७ सोमबार o७:१८:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

कक्षा ११ मा काठमाडौं महानगरले चार हजार ३१५ विद्यार्थीलाई छात्रवृत्ति दिँदै

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार १७ सोमबार o७:१८:oo

काठमाडौं महानगरपालिले यस वर्ष कक्षा ११ मा भर्ना हुने विद्यार्थीमध्ये चार हजार तीन सय १५ जनालाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । महानगरमा रहेका निजी विद्यालयसँग समन्वय गरी उक्त संख्यामा छात्रवृत्ति उपलब्ध गराउन लागेको हो । अघिल्लो वर्ष महानगरभित्रका निजी विद्यालयमा करिब ५० हजार विद्यार्थी कक्षा ११ मा भर्ना भएका थिए । सोही अनुपातमा कुल भर्ना विद्यार्थीका आधारमा १० प्रतिशतलाई महानगरले छात्रवृत्ति दिएको थियो । यस वर्ष एसइईमा उत्तीर्ण विद्यार्थी कम भएको र भर्ना हुने पनि कम हुने महानगरको अनुमान छ । 

महानगरले १५ असारमा सूचना जारी गरी २९ असारभित्र छात्रवृत्तिका लागि आवेदन फाराम भर्ना विद्यार्थीलाई जानकारी गराएको छ । ‘हामी निरन्तरतामा विश्वास गर्छाैँ, यस वर्ष पनि अघिल्लो शैक्षिक सत्रमा जस्तै छात्रवृत्तिमा कक्षा ११ मा अध्ययन गर्न चाहने विद्यार्थीका लागि चैत ०८० मा एसइई परीक्षा दिएका विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाका लागि अनलाइन आवेदन फाराम भर्ने व्यवस्था मिलाएका छौँ,’ महानगरका मेयर बालेन्द्र साहले फेसबुकमा लेखेका छन्, ‘काठमाडौं महानगरपालिकाभित्र सञ्चालित कक्षा ११ अध्यापन हुने संस्थागत (निजी) शिक्षण संस्थामा शैक्षिक सत्र ०८१÷०८२ का लागि छात्रवृत्तिमा विद्यार्थी छनोट गर्न सञ्चालन हुने परीक्षाका लागि चैत ०८० मा सञ्चालित एसइई परीक्षामा सफल भएका विद्यार्थीले अनलाइन आवेदन फाराम पेस गर्न सूचना आह्वान गरिएको छ ।’ 

आवेदन दिने विद्यार्थीले एसइईमा न्यूनतम जिपिए १.६ ल्याएको हुनुपर्नेछ । एसइईभन्दा अघि विद्यार्थीले सामुदायिक विद्यालयमा अध्ययन गरेको हुनुपर्नेछ । तर, काठमाडौं महानगरपालिकाको स्थायी बासिन्दा, ल्यान्डफिल्ड साइट प्रभावित क्षेत्रका स्थायी बासिन्दा र ५ प्रतिशत सिटको हकमा संस्थागत विद्यालयमा छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थी पनि यसमा समावेश हुन सक्नेछन् । 

ल्यान्डफिल साइट प्रभावित क्षेत्र नुवाकोटको ककनी गाउँपालिकाको वडा नम्बर १, २, ३ र धादिङ धुनिबेँसी नगरपालिका वडा नम्बर १, ३, ४ का स्थायी बासिन्दाले सम्बन्धित वडाको सिफारिसपत्रसहित छात्रवृत्तिका लागि आवेदन भर्नुपर्नेछ । उनीहरूले निजीमा पढे पनि छात्रवृत्तिमा पढेको हुनुपर्छ । छात्रवृत्ति प्रदान गर्न विद्यार्थी छनोट गर्दा परीक्षासमेत लिइनेछ । जसमा बहुवैकल्पिक प्रश्नावलीमा परीक्षा हुनेछ । छात्रवृत्ति परीक्षा उत्तीर्ण हुन न्यूनतम ४० प्रतिशत अंक प्राप्त गर्नुपर्नेछ ।

छात्रवृत्ति परीक्षा सञ्चालनका लागि संस्थागत विद्यालयले उपलब्ध गराउने कम्तीमा १० प्रतिशत छात्रवृत्तिलाई शतप्रतिशत मानी छात्रवृत्ति उपलब्ध गराइनेछ । जसअनुसार सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई ४० प्रतिशत, संस्थागत विद्यालयमा छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीलाई ५ प्रतिशत, काठमाडौं महानगरपालिकाभित्र स्थायी बसोवास भएका सबै विद्यार्थीका लागि १४ प्रतिशत, ल्यान्डफिल्ड साइट प्रभावित क्षेत्रको सामुदायिक–संस्थागत विद्यालयमा अध्ययन गरेको हकमा १ प्रतिशतलाई छात्रवृत्ति प्रदान गरिनेछ ।

सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीको हकमा छात्रा ३३ प्रतिशत, आदिवासी–जनजाति १५ प्रतिशत,  मधेशी १२ प्रतिशत, खस–आर्य १७ प्रतिशत, दलित ९ प्रतिशत, मुस्लिम २ प्रतिशत, थारू ४ प्रतिशत, अपांगता भएका व्यक्ति २ प्रतिशत, पिछडिएको क्षेत्रका व्यक्ति ४ प्रतिशत,  सहिद–बेपत्ता पारिएका नागरिकको परिवार र द्वन्द्वपीडित नागरिकको परिवारका लागि २ प्रतिशत कोटा उपलब्ध गराइनेछ ।

महानगरपालिकाले छात्रवृत्ति कार्यक्रमलाई व्यवस्थित बनाउन वडाध्यक्षको संयोजकत्वमा छात्रवृत्ति छनोट समिति बनाएको छ । जसमा विद्यालयका प्रधानाध्यापक, जिल्ला शिक्षा समन्वय इकाइ, विद्यालय व्यवस्थापन समितिका अध्यक्षको सहभागिता रहनेछ । यसमध्ये प्रमुख जिम्मेवारी वडाध्यक्षलाई प्रदान गरिएको छ । 

 भक्तपुरले पनि खुलायो छात्रवृत्ति फाराम
भक्तपुर नगरपालिकाले पनि छात्रवृत्तिका लागि फाराम खुला गरेको छ । नगरपालिकाले छात्रवृति वितरण प्रक्रियालाई पारदर्शी बनाउन नगर शिक्षा समितिलाई जिम्मा दिएको छ भने प्रतिस्पर्धाका आधारमा र लक्षित वर्गका आधारमा छात्रवृत्ति प्रदान गरिन्छ । ‘हामीकहाँ छात्रवृत्ति कार्यक्रम पारदर्शी छ, परीक्षा लिएर छनोट गर्छौँ, नगर शिक्षा समितिले यसको निर्णय गर्छ,’ भक्तपुर नगरपालिकाका मेयर सुनील प्रजापतिले भने, ‘जसले छात्रवृत्ति पाउनुपर्ने हो, उसैले पाउँछ, यसमा कुनै चलखेल हुन पाउँदैन ।’

ललितपुर महानगरपालिकाभित्र भने छात्रवृत्ति कार्यक्रम व्यवस्थित बन्न नसकेको अभिभावक–विद्यार्थीको गुनासो छ । महानगरले आफैँले छनोट कार्यमा जिम्मेवारी नलिँदा छात्रवृत्ति कार्यक्रम पादरर्शी नभएको विद्यार्थी तथा अभिभावकबाट गुनासो आउने गरेको छ । 

ad
ad
ad
ad