१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १७ सोमबार
  • Tuesday, 02 July, 2024
२o८१ असार १७ सोमबार o६:५४:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

टी–२० विश्वकप २०२४ मा उत्कृष्ट प्रदर्शन गर्ने सात खेलाडी

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ असार १७ सोमबार o६:५४:oo

दक्षिण अफ्रिकालाई रोमाञ्चक फाइनलमा ७ रनले हराउँदै भारत दोस्रोपटक च्याम्पियन बनेसँगै नवौँ संस्करणको टी–२० विश्वकप सकिएको छ । अहिलेसम्म वेस्ट इन्डिज, इंग्ल्यान्ड र भारतले सर्वाधिक दुई–दुईपटक विश्वकप ट्रफी उचालेका छन् । पाकिस्तान, श्रीलंका र अस्ट्रेलियाले समान एकपटक उपाधि हात पारेका छन् ।

आइसिसीले पहिलोपटक विश्वकपमा २० टोली सहभागी गराएको थियो । यसपटकको विश्वकपमा ब्याट्सम्यानभन्दा बलर हाबी भए । बलरको उत्कृष्ट प्रदर्शनका कारण नै नवौँ विश्वकपमा कुनै पनि ब्याट्सम्यानले शतकीय इनिङ्स खेल्न सकेनन् । खेलमा टस जित्ने टोली नै प्रायः विजयी भए ।

विश्वकपमा अफगानिस्तान र दक्षिण अफ्रिका ऐतिहासिक नतिजा निकाल्न सफल भए । अफगानिस्तान पहिलोपटक सेमिफाइनलमा पुग्दा दक्षिण अफ्रिकाले ३२ वर्षपछि फाइनल यात्रा तय गरेको थियो । भारतका कप्तान रोहित शर्मा, विराट कोहली र रवीन्द्र जडेजाले टी– २० बाट सन्न्यास घोषणा गरे । विश्वकपको सेमिफाइनल दौडबाट बाहिरिएपछि अस्ट्रेलियाका ओपनर डेभिड वार्नरले सन्न्यास घोषणा गरेका थिए । आइसिसीले विश्वकपको समाप्तिसँगै उत्कृष्ट प्रदर्शन गरेका सात खेलाडी सार्वजनिक गरेको छ । 

फजलहक फारुकी (अफगानिस्तान)
८ खेल, १७ विकेट, उत्कृष्ट प्रदर्शन ५/९

अफगानिस्तान पहिलोपटक सेमिफाइनल पुग्नुको पछाडि फारुकीको योगदान धेरै छ । विशेषतः उनले समूह र सुपर एटमा घातक बलिङ गरेका थिए । समूह चरणमा युगान्डाविरुद्ध करिअरकै उत्कृष्ट बलिङ प्रदर्शन गरेका फारुकीले ९ रन खर्चेर पाँच विकेट लिए । यसैगरी न्युजिल्यान्डलाई स्तब्ध बनाउँदा उनले १७ रन दिँदै चार विकेट लिए । समग्रमा उनले विश्वकपमा आठ खेलबाट १७ विकेट लिए । विश्वकपका उनी सर्वाधिक विकेट लिने सूचीको शीर्ष स्थानमा रहे । पहिलो तीन खेलमै उनले १२ विकेट लिएका थिए । 

जसप्रीत बुमराह (भारत)
८ खेल, १५ विकेट, उत्कृष्ट प्रदर्शन ३/७

चोटका कारण जसप्रीतले गत संस्करणको विश्वकप गुमाएका थिए । यसपटक उनी फर्कंदा भारतका लागि म्याच विनर नै साबित भए । भारतले सन् २००७ पछि विश्वकप उपाधि उचाल्दा उनले १५ विकेट लिए । विशेषतः उनले सेमिफाइनल र फाइनलमा विपक्षी ब्याट्सम्यानलाई चल्नै दिएनन् । दक्षिण अफ्रिकाविरुद्धको फाइनलमा उनले डेथ ओभरमा उत्कृष्ट प्रदर्शन गरी खेल फर्काएका थिए । ३० वर्षीय जसप्रीत प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी चुनिए । न्युयोर्कमा पाकिस्तानविरुद्ध उनले १४ रन खर्चेर तीन विकेट लिँदै भारतलाई जित दिलाए । उनले अफगानिस्तानविरुद्ध तीन विकेट हात पार्न ७ रन 
दिएका थिए । 

एनरिक नोट्जी (दक्षिण अफ्रिका)
९ खेल, १५ विकेट, उत्कृष्ट प्रदर्शन ४/७

दायाँहाते फास्ट बलर एनरिकले अन्तर्राष्ट्रिय क्रिकेटमा उत्कृष्ट पुनरागमन गरेका छन् । ३० वर्षीय नोट्जी नवौँ विश्वकपमा मजाले छाए । उनले वेस्ट इन्डिज र अमेरिकाको पिचमा एकनासको प्रदर्शन गरे । दक्षिण अफ्रिका पहिलोपटक फाइनलमा पुग्नुको पछाडि उनको योगदान धेरै रह्यो । उत्कृष्ट फर्ममा रहेका नोट्जीले भारतविरुद्धको फाइनलमा महत्वपूर्ण दुई विकेट लिए । श्रीलंकाविरुद्ध उनले सात रन खर्चेर चार विकेट हात पारे । यद्यपि, समूह चरणमा उनले नेपालविरुद्ध रोमाञ्चक १ रनको जित निकाल्दा आफ्नो स्वाभाविक प्रदर्शन गर्न सकेनन् । उनले सेमिफाइनलमा अफगानिस्तानविरुद्ध महत्वपूर्ण दुई विकेट लिएका थिए । 

रोहित शर्मा (भारत)
८ खेल, २५७ रन, उत्कृष्ट प्रदर्शन ९२ रन

३७ वर्षीय ओपनर रोहित शर्मा भारतलाई दोस्रोपटक विश्वकप उपाधि जिताउने एक्ला खेलाडी हुन् । विश्वकपको पहिलो संस्करण भारतले जित्दा उनले त्यति धेरै मौका पाएका थिएनन् । यसपटक आफ्नै कप्तानीमा उनले भारतलाई टी–२० विश्वकप दिलाए । विश्वकप ट्रफी चुम्दै उनले अन्तर्राष्ट्रिय टी–२० खेलबाट सन्न्यास घोषणा गरे । अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गरेको विश्वकपमा भारतका लागि सर्वाधिक रन बनाउने उनी नै हुन् । उनले सुपर ऐटमा अस्ट्रेलियाविरुद्ध ४१ बलमा ९२ रन बनाएका थिए । रोहितले सेमिफाइनलमा इंग्ल्यान्डविरुद्ध पनि ५७ रन बनाए । 

ट्रेभिस हेड (अस्ट्रेलिया)
७ खेल, २५५ रन, उत्कृष्ट प्रदर्शन ७६ रन

गत वर्ष अस्ट्रेलियाले भारतलाई हराएर एकदिवसीय विश्वकप जितेको थियो । एकदिवसीय विश्वकपमा ट्रेभिसले उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेका थिए । यसपटक टी–२० विश्वकपमा उनले अस्ट्रेलियाका लागि आक्रामक सुरुवात दिलाए । तर, सुपर ऐटको निर्णायक खेलमा भारतसँग २४ रनले पराजित भएपछि अस्ट्रेलियाको विश्वकप उपाधि यात्रा रोकियो । नवौँ विश्वकपमा बलर हाबी हुँदा ट्रेभिसले विपक्षीलाई संकटमा राखेका थिए । ३० वर्षीय ओपनर ट्रेभिसले प्रतियोगितामा २५५ रन जोडे । समग्रमा विश्वकपभरि उच्च रन बनाउने तेस्रा खेलाडी बने । उनले दुई अर्धशतक बनाए ।

रहमानुल्लाह गुर्वाज (अफगानिस्तान)
८ खेल, २८१ रन, उत्कृष्ट प्रदर्शन ८०

नवौँ विश्वकपमा प्रभावशाली प्रदर्शन गरेको राष्ट्र अफगानिस्तान हो । अफगानिस्तानले सनसनी मच्चाउँदै न्युजिल्यान्ड, अस्ट्रेलिया तथा बंगलादेशलाई हरायो । यस सफलतामा ओपनर गुर्वाजले महत्वपूर्ण योगदान गरेका थिए । २२ वर्षीय ओपनर गुर्वाजले आठ खेलमा २८१ रन बटुले । उनले सर्वाधिक रन बनाउने सूचीमा भारत, वेस्ट इन्डिज, इंग्ल्यान्ड र अस्ट्रेलियाका ब्याट्सम्यानलाई पछि परे ।

क्विन्टन डी कक (दक्षिण अफ्रिका)
९ खेल, २४३ रन, उत्कृष्ट प्रदर्शन ७४

विश्व क्रिकेटमा फाइनल खेल्न नसक्ने चोकर्सको ट्याग दक्षिण अफ्रिकाले नवाँै विश्वकपमा तोडेको थियो । यसमा ओपनर ब्याट्सम्यान डी ककले व्यक्तिगत प्रदर्शनमा आफूलाई अगाडि राखे । उनले विश्वकपमा नौ खेल खेल्दा २४३ रन जोडे । दक्षिण अफ्रिकाका लागि व्यक्तिगत दुई सयभन्दा बढी रन जोड्ने उनी एक्ला खेलाडी हुन् । विश्वकपमा नौ खेल खेल्दा उनले दुई अर्धशतकीय इनिङ्स खेले ।

 

ad
ad
ad
ad