१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १७ सोमबार
  • Tuesday, 02 July, 2024
मञ्जु टेलर काठमाडाैं
२o८१ असार १७ सोमबार o६:३९:oo
Read Time : > 4 मिनेट
ad
ad
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

बाह्रै महिना डेंगु

विगतमा जेठदेखि कात्तिकसम्म बर्खा मौसममा मात्र डेंगु संक्रमण फैलिने गरेकोमा केही वर्षयता बाह्रै महिना नयाँ केस देखिने गरेका छन्, मौसमी समस्या अब सदाबहार बनेको छ

Read Time : > 4 मिनेट
मञ्जु टेलर, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार १७ सोमबार o६:३९:oo

नेपालमा सन् २००४ मा पहिलोपटक देखिएको डेंगु मुख्यतः जेठदेखि कात्तिकसम्म संक्रमण फैलिने मौसमी समस्या थियो । तर, केही वर्षयता डेंगुले सदाबहार संक्रमण फैलिने रोगको रूप लिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अधिकारीहरूका अनुसार सन् २०१९ यता डेंगु संक्रमण बाह्रै महिना देखिएको छ । तर, महाशाखाले सन् २०२२ अघिको तथ्यांक मासिक रूपमा छुट्याएर राखेको छैन । त्यसयता भने अहिलेसम्म साढे दुई वर्षमा हरेक महिना डेंगु संक्रमणका नयाँ केस देखिएको तथ्यांकले देखाउँछ ।

सन् २०२२ र २०२३ मा बाह्रै महिना डेंगु संक्रमण भएकोमा, सन् २०२४ मा पनि अहिलेसम्मका ६ महिना (जुनसम्म) नै नयाँ केस देखिएका छन् । ‘विगतमा खासगरी मनसुनको समयमा बढी डेंगु संक्रमण देखिन्थ्यो, बेलाबखत त्यसभन्दा अगाडि वा पछाडिका केही महिना पनि नदेखिएको होइन । तर, सन् २०१९ देखि भने बाह्रै महिना संक्रमण देखिँदै आएको छ । अब डेंगु मौसमीबाट पूर्णतया सदाबहार रोगको रूपमा देखिन थालेको छ,’ महाशाखाका कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. गोकर्ण दाहालले भने । 

सन् २०२२ र २०२३ मा क्रमशः जनवरीमा ११ र १३३, फेब्रुअरीमा ३ र १३०, मार्चमा १५ र १९५, अप्रिलमा १८ र १५८, मेमा २५ र १६३ तथा जुनमा ९३ र १,०२६ नयाँ केस देखिएको महाशाखाको तथ्यांक छ । त्यस्तै, जुलाईमा ७२० र ६,४५९, अगस्टमा ३,७०८ र १४,५३४, सेप्टेम्बरमा २७,५२९ र १३,९१२, अक्टोबरमा १७,८८९ र १२,६९९, नोभेम्बरमा ४,२९० र २,८०५ तथा डिसेम्बरमा ४८३ र ५७६ नयाँ केस देखिएका थिए । सन् २०२४ मा पनि अहिलेसम्म ६ महिनामै डेंगु संक्रमणका नयाँ बिरामी देखिएका छन् । जनवरीमा २४३, फेब्रुअरीमा १७३, मार्चमा २००, अप्रिलमा २१५, मेमा २५० र जुनमा १८७ केस देखिएका हुन् । 

एडिस एजिप्टाई वा एडिस एल्बोपिक्टस जातको लामखुट्टेले डेंगु संक्रमण गराउँछ । मनसुनी मौसममा सफा पानीमा फुल पारेर फैलिने यो जातको लामखुट्टे बाह्रै महिना सक्रिय मात्रै भएको छैन, चिसो हिमाली क्षेत्रसम्म पनि पुगेको छ । यो कसरी भइरहेको छ ? सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन भन्छन्, ‘लामखुट्टे बाँच्न सक्ने र फुल पार्नका लागि अनुकूल वातावरण हुँदै गएपछि अनुवंशिक उत्परिवर्तनहरू पनि हुँदै गएका छन् । यसले विस्तारै हरेक खालको वातावरणमा रहन सक्ने क्षमता वृद्धि गरेको छ ।’ हरेक खालको वातावरणमा रहन सक्ने र मानव शरीरमा हानि गर्न सक्ने भएकाले लामखुट्टे जनस्वास्थ्यको मुख्य चुनौतीका रूपमा देखिन थालेको उनको विश्लेषण छ । 

लामखुट्टेको संख्या वृद्धि हुँदै गएपछि प्राकृतिक वातावरणलाई उसले आफूअनुकूल बनाउने चिकित्सकहरू बताउँछन् । अध्ययनहरूका अनुसार एउटा लामखुट्टेले आफ्नो जीवनकालमा कम्तीमा तीन सय अन्डा पार्छ । यसकारण प्रत्येक वर्ष लामखुट्टेको संख्या बढ्दै गएको छ । उनीहरूले वातावरणलाई आफूअनुकूल बनाउँदै लगेका छन् । क्लाइमेट एनालिटिक्स दक्षिण एसियाका अध्यक्षसमेत रहेका जलवायुविज्ञ मन्जित ढकाल पनि मौसमी रूपमा देखिने डेंगु बाहै्र महिना घातक रूपमा देखिनुमा लामखुट्टेको अनुवंशिक परिवर्तनलाई प्रमुख आधार मान्छन् । लामखुट्टेको संख्या बढ्दै जानु अर्थात् डेंगु संक्रमण वर्षभरि र सबै स्थानमा देखिन थाल्नुलाई उनी जलवायु परिवर्तनको मुख्य कारणसँग पनि जोड्छन् । 

‘लामखुट्टेजस्ता किराहरू फैलिनका लागि तापक्रम निकै महत्वपूर्ण मानिन्छ । तापमानमा आइरहने फेरबदलले उनीहरूलाई बाँच्न सक्ने वा फैलिन सक्ने अवस्था सिर्जना गर्छ । जसका कारण यस्ता रोग फैलिनुमा तापमानको महत्वपूर्ण भूमिका हुन जाने विभिन्न अध्ययनले देखाएका छन्,’ ढकालले भने, ‘मनसुनको अवधि लम्बिनु वा ढिला हुनु, तापमानमा आइरहेको निरन्तर वृद्धि लामखुट्टेका लागि अनुकूल भइरहेको छ र मौसमी रूपमा देखिने डेंगु घातक बन्दै गएको छ ।’ 

डेंगु विश्वव्यापी समस्या, दक्षिण  एसियामा प्रत्येक वर्ष ‘आउट ब्रेक’ 
नेपालसँगै बंगलादेश, भारत, पाकिस्तानलगायत देशमा प्रत्येक वर्ष डेंगु आउट ब्रेक भइरहेको छ । बंगलादेशमा गत नोभेम्बरमा हालसम्मकै सबैभन्दा ठूलो आउट ब्रेक भएको थियो । डेंगु संक्रमण फैलिएसँगै अस्पतालहरूमा सबै बेड भरिएका थिए भने मृत्युदरसमेत निकै उच्च देखिएको थियो । 

सन् २०२३ मा बंगलादेशमा तीन लाख १६ हजारभन्दा बढीमा संक्रमण फैलिँदा एक हजार ६४३ जनाको मृत्यु भएको थियो । यो वर्ष पनि डेंगु संक्रमण उकालो लागेको सरकारी निकायहरूले जानकारी दिन थालेका छन् । भारतमा समेत डेंगु संक्रमणको दर उच्च भएकाले प्रत्येक वर्ष महामारीको रूप लिइरहेको छ । भारतको राष्ट्रिय सरुवारोग नियन्त्रण केन्द्रको तथ्यांकअनुसार गत वर्ष त्यहाँ ९४ हजारभन्दा बढीमा संक्रमण देखिएको र ९१ जनाको मृत्यु भएको थियो । त्यस्तै, २०२२ मा दुई लाख ३३ हजारभन्दा बढी संक्रमित भएका थिए भने ३०३ जनाको मृत्यु भएको थियो । 

पाकिस्तानको राष्ट्रिय स्वास्थ्य संस्थानको तथ्यांकले समेत पछिल्ला वर्षहरूमा डेंगु संक्रमण बढ्दै गएको देखाउँछ । सन् २०२१ मा ४८ हजारभन्दा बढी प्रभावित भएकामा २०२२ मा ४१ हजार ७४६ जनामा संक्रमण पुष्टि भएको थियो । त्यस्तै, पछिल्लो वर्ष संक्रमितको संख्या ५० हजार नाघेको थियो । 

श्रीलंकामा समेत पछिल्लो वर्ष संक्रमितको संख्या ६५ हजार नाघेको थियो । श्रीलंकाको डेंगु संक्रमण नियन्त्रण केन्द्रको तथ्यांकअनुसार सन् २०२२ मा समेत ५३ हजारभन्दा बढी जनसंख्यामा डेंगु संक्रमण भएको थियो । पछिल्ला वर्षहरूमा डेंगु संक्रमण दक्षिण एसियालगायत अन्य दक्षिण पूर्वी एसियाली देशहरू, अमेरिका र युरोपमा समेत महामारीको रूप देखिइरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

संगठनले पनि यसलाई जलवायु परिवर्तनकै असरको रूपमा व्याख्या गरेको छ । कोभिड संक्रमणसँगै बढ्दै गएको डेंगु अबका वर्षहरूमा अर्को मुख्य घातक संक्रमणको रूपमा देखिन सक्ने भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सचेत गराएको छ । डब्लुएचओको तथ्यांकअनुसार हाल विश्वका ३.५ अर्ब मानिस डेंगुको महामारीको उच्च जोखिममा छन् । जुन कुल जनसंख्याको झन्डै आधा हो । धेरै डेंगु संक्रमित लक्षणविहीन हुन्छन् वा सामान्य लक्षण मात्र देखिन्छ । तर, पछिल्ला वर्ष संक्रमण गम्भीर हुने र मृत्युदरसमेत बढेको पाइन्छ । 

 डा. गोकर्ण दाहाल, कीटजन्य रोग नियन्त्रण 
शाखा प्रमुख, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा

विगतमा खासगरी मनसुनको समयमा बढी डेंगु संक्रमण देखिन्थ्यो, वेलाबखत त्यसभन्दा अगाडि वा पछाडिका केही महिना पनि नदेखिएको होइन । तर, सन् २०१९ देखि भने बाह्रै महिना संक्रमण देखिँदै आएको छ । अब डेंगु मौसमीबाट पूर्णतया सदाबहार रोगको रूपमा देखिन थालेको छ ।
डा. शेरबहादुर पुन, सरुवारोग विशेषज्ञ

लामखुट्टे बाँच्न सक्ने र फुल पार्नका लागि अनुकूल वातावरण हुँदै गएपछि अनुवांशिक उत्परिवर्तनहरू पनि हुँदै गएका छन् । यसले बिस्तारै हरेक खालको वातावरणमा रहन सक्ने क्षमता वृद्धि गरेको छ । हरेक खालको वातावरणमा रहन सक्ने र मानव शरीरमा हानि गर्न सक्ने भएकाले लामखुट्टे जनस्वास्थ्यको मुख्य चुनौतीका रूपमा देखिन थालेको छ ।

मन्जित ढकाल, अध्यक्ष, क्लाइमेट एनालिटिक्स दक्षिण एसिया
लामखुट्टेजस्ता किराहरू फैलिनका लागि तापक्रम निकै महत्वपूर्ण मानिन्छ । तापमानमा आइरहने फेरबदलले उनीहरूलाई बाँच्न सक्ने वा फैलिन सक्ने अवस्था सिर्जना गर्छ । मनसुनको अवधि लम्बिनु वा ढिला हुनु, तापमानमा आइरहेको निरन्तर वृद्धि लामखुट्टेका लागि अनुकूल भइरहेको छ र मौसमी रूपमा देखिने डेंगु घातक बन्दै गएको छ ।

 जुलाईदेखि अक्टोबरसम्म उत्कर्षमा पुग्छ,सचेत रहन सरकारको अपिल
बर्खायाममा डेंगु संक्रमण धेरै देखिने गरेको छ । पछिल्ला वर्षको तथ्यांक हेर्दा मध्यजुन अर्थात् असार पहिलो सातादेखि अक्टोबरसम्म डेंगु संक्रमण ‘पिक’मा पुग्ने गरेको छ । पछिल्ला दुई वर्षमा सबैभन्दा धेरै संक्रमण अगस्टदेखि अक्टोबरसम्म देखिएको छ । मध्यअसारबाट देशभर वर्षा सुरु भएकाले संक्रमण अझ बढ्न सक्ने भन्दै सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयले अपिलसमेत जारी गरिसकेको छ ।

२०२३ को जुलाईमा ६ हजार ४५९, अगस्टमा १४ हजार ५३४, सेप्टेम्बरमा १३ हजार ९१२ र अक्टोबरमा १२ हजार ६९९ जनामा डेंगुको संक्रमण देखिएको थियो । त्यस्तै, २०२२ को जुलाईमा ७२० जनामा देखिएको संक्रमण अगस्टमा तीन हजार ७०८ जनामा देखियो । सेप्टेम्बरमा त अहिलेसम्मकै धेरै २७ हजार ५२९ जनामा संक्रमण देखियो । अक्टोबरमा १७ हजार ८८९ मा देखिएको संक्रमण क्रमशः ओरालो लागेको थियो । नेपालमा डेंगुको संक्रमण देखिन थालेको सन् २००४ देखि हो । साढे २० वर्षमा १०८ जनाले संक्रमणबाट ज्यान गुमाए । २०२२ मा ८८ र २०२३ मा २० जनाले ज्यान गुमाएको सरकारी तथ्यांक छ ।

ad
ad
ad
ad