१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १७ सोमबार
  • Tuesday, 02 July, 2024
ब्रेक सुमा तस्करी गरेर ल्याइएको सुन पगाल्दै राष्ट्र बैंकका कर्मचारी । गत २ साउनमा ‘ब्रेक सु’मा तस्करी गरेर ल्याइएको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलस्थित भन्सार जाँचपास गरेर बाहिरिएपछि राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । फाइल तस्बिर
टेकराज थामी काठमाडाैं
२o८१ असार १७ सोमबार o६:३o:oo
Read Time : > 3 मिनेट
ad
ad
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

वर्षमा एक खर्ब ११ अर्बको सुन तस्करी : ९६ अर्ब भुक्तानीको भौचर नै भेटियो

त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयबाटै भित्रिएको थियोे अधिकांश सुन

Read Time : > 3 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार १७ सोमबार o६:३o:oo

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको ६०.७१६ केजी सुन तस्करीसँग सम्बद्ध गिरोहले ९६ अर्ब रुपैयाँ भुक्तानी गरेको भौचर नै फेला परेको छ । उनीहरूले उक्त रकम ‘पे–वेल’ र ‘सजिलो–पे’को ‘गेट–वे’मार्फत भुक्तानी गरेका थिए । 

अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का अनुसार पे–वेलबाट ८७ अर्ब १७ करोड र ‘सजिलो–पे’बाट ३६ अर्ब ९४ करोड रुपैयाँ गरी एक खर्ब २४ अर्ब ११ करोड रुपैयाँ भुक्तानी भएको छ । उक्त रकममध्ये ९० प्रतिशत तस्करीको सुनका लागि भएकाले दुई ‘गेट–वे’मार्फत तस्करीको सुनका लागि मात्रै एक खर्ब ११ अर्ब ६९ करोड भुक्तानी भएको सिआइबीको निष्कर्ष छ । भुक्तानी लिने सबै चिनियाँ नागरिक र उनीहरू आबद्ध कम्पनी छन् । 

‘तस्करले सुनको मूल्य भुक्तानी गर्न पे–वेल र सजिलो–पे प्रयोग गरेको देखिन्छ । वर्ष दिनमा पे–वेलबाट ८७ अर्ब १७ करोड र ‘सजिलो–पे’बाट ३६ अर्ब ९४ करोड रुपैयाँ गरी एक खर्ब २४ अर्बको भुक्तानी भएको देखिन्छ । त्यसको ९० प्रतिशत अर्थात् एक खर्ब ११ अर्ब ६९ तस्करीको सुनका लागि भुक्तानी भएको अनुसन्धानले देखाएको छ । जसमध्ये ९६ अर्बको त भौचर नै फेला परेको छ,’ सिआइबी प्रमुख एआइजी श्यामलाल ज्ञवालीले भने । 

भुक्तानी भएकोमध्ये ३० अर्ब ८२ करोड २२ लाख ९१ हजार दुई सय ७२ रुपैयाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्कर भई आएको सुनको हो । सिआइबीका अनुसार विमानस्थलस्थित भन्सार कार्यालयबाट मात्रै वर्ष दिनमा ३१९४.६६८ केजी सुन तस्करी भई आएको थियो । उक्त सुन तस्करीमा प्रयोग भएको झन्डै तीन ट्रक इलेक्ट्रोनिक्सका विभिन्न डिभाइस प्रहरीले बरामद गरेको छ । विशेष गरी स्मार्ट वाच, ब्रेक सु, रोलिङ पाइप, स्प्रे मेसिन, पानी तान्ने मेसिन, सेभिङ मेसिनलगायतका इलेक्ट्रोनिक डिभाइसभित्र लुकाई उक्त सुन ल्याएका थिए । 

सिआइबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले इलेक्ट्रोनिक डिभाइसभित्र लुकाएर ल्याइएको सबै सुन विमानस्थलस्थित भन्सार कार्यालयबाट पास भएर आएको हो । उनले भने, ‘६० केजी सुन तस्करीसँग सम्बन्धित दोस्रो चरणको अनुसन्धानमा प्रहरी छ । यस क्रममा सुन ल्याउन तस्करले प्रयोग गरेका विभिन्न इलेक्ट्रोनिक डिभाइस बरामद भएका छन् । उक्त डिभाइसभित्र लुकाएर मात्रै तस्करले ३१९४.६६८ किलो सुन तस्करी गरेको खुलेको छ । बरामद भएका यी सबै विमानस्थलस्थित भन्सार कार्यालयबाट छिरेका हुन् ।’

सिआइबीले अनुसन्धानका क्रममा हालसम्म २० अभियुक्त पक्राउ गरेको छ । उनीहरूकै सूचनाका आधारमा तस्करीका लागि प्रयोग गरिएका स्मार्ट वाच, मोबाइल, ब्रेक सु, रोलिङ पाइप, स्प्रे मेसिन, पानी तान्ने मेसिन, सेभिङ मेसिनलगायतका विभिन्न इलेक्ट्रोनिक डिभाइस बरामद गरेको छ । बरामदमध्ये सबैभन्दा धेरै परिमाण स्मार्ट वाचको छ । तस्करले प्रयोग गरेको उक्त सामग्री परीक्षणका लागि सिआइबीले त्रिभुवन विश्वविद्यालयस्थित भौतिक शास्त्र विभाग र विद्युतीय प्राविधिक समाजमा लगेको थियो । विभाग र समाजले गरेको प्राविधिक परीक्षणपछि उक्त डिभाइसमा लुकाएर ३१९४.६६८ किलो सुन तस्करी भएको पुष्टि भएको थियो । विमानस्थलबाहेकका सीमाबाट भएको सुन तस्करी भने यसमा जोडिएको छैन ।

तस्करीका मुख्य नाइके चिनियाँ नागरिक हुन् । उनीहरूले सुन तस्करी गर्नकै लागि नेपाली नागरिकको नाममा दर्जनभन्दा धेरै कम्पनी खडा गरेका छन् । सोही कम्पनीको नाममा उनीहरूले स्मार्ट वाच, मोबाइल, ब्रेक सु, रोलिङ पाइप, स्प्रे मेसिन, पानी तान्ने मेसिन, सेभिङ मेसिनलगायतका विभिन्न इलेक्ट्रोनिक डिभाइस विमानस्थल हुँदै नेपाल भिœयाउँथे । काठमाडौंमा गोप्य रूपमा खोलिएको सेफ हाउसमा जम्मा गर्थे । डिभाइसबाट सुन निकाल्थे । अत्याधुनिक मेसिन प्रयोग गरी गाल्थे, आवश्यक आकारमा ढाल्थे र तस्करी गर्थे । 

प्रहरीले सुन गाल्ने मेसिन, जोख्ने तराजुसमेत बरामद गरेको छ । उक्त सुन भारतीय बजारको अलावा नेपाली बजारमा समेत बिक्री हुने गरेको अनुसन्धानबाट खुलेको छ । धन्दामा चिनियाँ नागरिकका अलावा भारतीय नागरिक पनि संलग्न रहेको खुलेको छ । विशेष गरी अनमोल कटप्पा, बम्बइया, रकेश सिंह, सन्दीप, विस्लेरिवाला, पिन्टुलगायतका भारतीय नागरिक संलग्न छन् । उनीहरूमध्ये केहीको पहिचान खुलेको, केही पक्राउ परेको र केही अझै फरार रहेको प्रहरीको भनाइ छ । 

सिआइबीले सुन तस्करीमा संलग्न बैजनाथ महादत्त गोयल, सुरेन्द्रमान श्रेष्ठ, प्रशान्त गणेश बजवलकार, सिद्धार्थ भनिने सिद्धनाथ अशोक गायकवाड, दिनेश भनिने धीरज दिनेश बैटे, राजु खत्री, कान्छा लामा, प्रज्ज्वल आचार्य, सुरजशम्शेर जबरा, भीमप्रसाद तिमिल्सिना, सुशील जाकिबन्जार, कश्यप मानन्धर, लालबहादुर कुँवर, अरुणकुमार यादव, मनोजराज श्रेष्ठ र रूपक भण्डारी, कुङ्गा टासी शेर्पा भनिने गेङ्गा सासी, सेरब ग्याल्मालगायतलाई पक्राउ गरिसकेको छ । 

उनीहरूविरुद्ध सोमबार(आज) अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमा पेस गरिने सिआइबी प्रवक्ता  एसपी बोगटीले बताए । उनले भने, ‘सिआइबी सुन तस्करीसँग सम्बन्धित दोस्रो चरणको अनुसन्धानमा छ ।अनुसन्धान करिब–करिब पूरा भएको छ । प्रतिवेदन आजै(सोमबार) सरकारी वकिलको कार्यालयमा पेस हुनेछ ।

२० जना पक्राउ परेका छन्, बाँकी अभियुक्त फरार छन् ।’ गत २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलस्थित भन्सारको जाँचपास पार गरेर बाहिरिएको ६०.७१६ किलो सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । उक्त सुन मोटरसाइकल र स्कुटरको ‘बे्रक सु’मा लुकाएर हङकङबाट क्याथे प्यासिफिकको जहाज हुँदै नेपाल ल्याइएको थियो । उक्त सुन तस्करीको अनुसन्धान पछि सिआइबीले गरेको थियो । २९ जनालाई प्रतिवादी बनाइएको उक्त मुद्दा अहिले पनि जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ । 

सिआइबीका अनुसार हङकङबाट नेपाल हुँदै भारतमा सुन तस्करी गर्ने गिरोहका मुख्य नाइके चिनियाँ नागरिक वाङ डाओजिन हुन् । सिचुवान प्रान्तका उनी कारोबारका लागि पटक–पटक नेपाल आउने/जाने गर्थे । ६०.७१६ किलो सुन बरामद हुनु केही दिनअघि मात्रै उनी नेपाल आएका थिए । कारोबारका लागि उनी हङकङ बस्ने गर्छन् । उनको कारोबारमा जेनपेङ योङ्छिन, झोङ जिङ्गछुन,  लिन र लीसहित अन्य तीनजना साझेदार छन् । उनीहरू पनि हङकङमै बस्छन् । 
 

ad
ad
ad
ad