१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १७ सोमबार
  • Tuesday, 02 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार १७ सोमबार o६:२४:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

लालीगुराँस सहकारीका चार सञ्चालक पक्राउ : २२ हजार बचतकर्ताको ६ अर्ब हिनामिना गरेको आरोप

संसदीय समितिले माग्यो समस्याग्रस्त २० सहकारीको कागजात

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार १७ सोमबार o६:२४:oo

लालीगुराँस सहकारीको झन्डै २२ हजार बचतकर्ताको ६ अर्ब ३० करोड रुपैयाँ हिनामिना गर्ने धन्दामा संलग्न चार अभियुक्त पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले अमरदास श्रेष्ठ, सुरेन्द्र भण्डारी, अमृतकुमार अर्याल र कदमबाबा जोशी प्रधानलाई पक्राउ गरेको हो । 

पक्राउमध्ये श्रेष्ठ सहकारीको अध्यक्ष र भण्डारी प्रमुख कार्यकारी अधिकृत हुन् । त्यस्तै, अर्याल र प्रधान क्रमशः सहकारीको कोषाध्यक्ष र सदस्य हुन् । उनीहरूविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरमा १ चैत ०८० मा बचतकर्ताले जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा उनीहरूलाई कार्यालयले पक्राउ गरेको हो । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी  सानुराम भट्टराईले बचतकर्ताको रुपैयाँँ अपचलन गरेको अभियोगमा लालीगुराँस सहकारीका चार सञ्चालक पक्राउ परेको बताए । ‘लालीगुराँस सहकारीका २२ हजार बचतकर्ताको ६ अर्ब ३० करोड रुपैयाँ हिनामिना गरेको अभियोगमा चारजना पक्राउ परेका छन्,’ उनले भने, ‘उनीहरूविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी परेको छ । सोही जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । थप अनुसन्धान ललितपुरबाटै हुनेछ ।’

पक्राउमध्ये श्रेष्ठ यसअघि ३१ वर्षसम्म नेपाल बैंकमा मुख्य म्यानेजरका रूपमा कार्यरत थिए । उनी ०६१ देखि लालीगुराँस सहकारीमा सचिवका रूपमा छिरेका थिए । ०६४ देखि उनी सहकारीको उपाध्यक्षका रूपमा आठ वर्ष कार्यरत रहे । ०७४ देखि हालसम्म भने उनी सहकारीकोे अध्यक्षका रूपमा कार्यरत छन् । त्यस्तै, कांग्रेसको महासमिति प्रतिनिधि रहेका भण्डारी ०५६ देखि सहकारीमा विभिन्न पदमा कार्यरत छन् । उनी ०५६ मा सहकारीको म्यानेजर थिए । त्यसयता उनी सहकारीको प्रमुख कार्यकारी अधिकृत, सञ्चालक सदस्य र सचिव पदमा कार्यरत भए । ०६६ र ०७६ मा उनी राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक रहे । त्यस्तै, ०७२ देखि ०७७ सम्म उनी राष्ट्रिय सहकारी महासंघमा वरिष्ठ सञ्चालक बने । प्रहरीका अनुसार उनीहरूविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा ठगीसम्बन्धी जाहेरी छ । उनीहरूविरुद्ध बाँकी अनुसन्धान अब काठमाडौं परिसरबाट पनि हुनेछ ।

संसदीय समितिले माग्यो समस्याग्रस्त २० सहकारीको कागजात 
सहकारी संस्था बचत दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले समस्याग्रस्त २० वटा सहकारीका कागजात माग गरेको छ । सहकारी विभाग र समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सार्वजनिकीकरण गरेका २० सहकारी संस्थाबाट समितिले आइतबार पत्राचार गर्दै कागजात झिकाएको हो । 

समितिले यसअघि १२ असारमा गोर्खा मिडिया नेटवर्कमा रकम प्रवाह गर्ने अनुसूची २ मा रहेका ९ वटा सहकारीको कागजात झिकाएको थियो । समिति सभापति सूर्य थापाले कार्यादेश पाएका सबै २९ वटै सहकारीको कागजात झिकाएर अध्ययन गरिने बताए । समितिलाई २९ वटै सहकारीको छानबिन गर्ने कार्यादेश छ । 

समस्याग्रस्त र सार्वजनिक रूपमा प्रश्न उठेका सहकारीमा ओरेन्टल को–अपरेटिभ लिमिटेड, स्ट्यान्डर्ड सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ, प्यासिफिक सेभिङ एन्ड इन्भेस्टमेन्ट को–अपरेटिभ, प्रभु बचत तथा ऋण सहकारी संस्था, कोहिनुर हिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ, कन्जुमर बचत तथा ऋण सहकारी संस्था, कुवेर बचत तथा ऋण सहकारी संस्था, चार्टर्ड सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ, भेगास बचत तथा ऋण सहकारी संस्था र स्ट्यान्डर्ड मल्टिप्रपोज को–अपरेटिभ लिमिटेड रहेका छन् ।

त्यस्तै, सोसाइटल बचत तथा ऋण सहकारी संस्था, लुःनिभा बहुउद्देश्यीय सहकारी संस्था, पशुपति सेभिङ क्रेडिट को–अपरेटिभ लिमिटेड, शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, तुलसी बहुमुखी सहकारी संस्था लिमिटेड, हाम्रो नयाँ कृषि सहकारी संस्था लिमिटेड, कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था, कान्तिपुर सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था र गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पनि समस्याग्रस्त सहकारीको सूचीमा रहेका छन् ।

सभापति थापाका अनुसार समितिले आइतबार ०६१ सालमा गठित सहकारी अध्ययन समितिका संयोजक डा. युवराज खतिवडा, ०७० सालमा गठित समस्याग्रस्त सहकारी जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की र ०४७ सालमा गठित सहकारी अध्ययन कार्यदलका संयोजक राधाकृष्ण मैनालीसँग छलफल गरेको छ । उनीहरूले आ–आफ्नो समयको अध्ययनको निष्कर्षका साथै हालको संकट र सहकारी क्षेत्रको समस्या समाधानका लागि सुझावहरू प्रस्तुत गरेका थिए । 

ad
ad
ad
ad