१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १४ शुक्रबार
  • Sunday, 30 June, 2024
टेकराज थामी काठमाडाैं
२o८१ असार १४ शुक्रबार १o:o३:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

दुलही बनाएर नेपाली युवतीको चीनमा तस्करी

तस्करीमा संलग्न एक नेपाली युवती पक्राउ, दुई पीडित युवतीको चीनस्थित नेपाली दूतावासबाट उद्धार, धनी युवाको प्रलोभन देखाएर फसाइन्थ्यो युवतीहरूलाई

Read Time : > 2 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार १४ शुक्रबार १o:o३:oo

कतै रोजगारी त कतै अन्य प्रलोभनमा भारतदेखि मध्यपूर्वसम्म नेपाली युवतीको तस्करीको डरलाग्दो जालो देखिएकै छ । आश्यर्चजनक रूपमा चीनमा पनि नेपाली युवतीको तस्करीको घटना सतहमा आएको छ । 

नेपाल प्रहरीको एक अनुसन्धानमा विवाह गर्ने प्रलोभनमा नेपाली युवती चीनमा तस्करी हुने गरेको खुलेको छ । घटनामा संलग्न उदयपुर त्रियुगा नगरपालिका– १ जोगीदहकी ३१ वर्षीया सुन्दरी राई पक्राउ परेपछि यो तथ्य खुलेको हो । उनलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले पक्राउ गरेको हो । 

राईले सम्पन्न चिनियाँ युवासँग विवाह गराइदिने प्रलोभनमा नेपाली युवती चीन लैजाने र प्रतियुवती एक लाख ५० हजार रुपैयाँमा बिक्री गर्ने गरेको खुलेको छ । उनले चीन पठाएका दुई युवतीलाई प्रहरीले चीनस्थित नेपाली दूतावासबाट उद्धार गरेको छ । 

ब्युरोका प्रवक्ता एसपी गौतम मिश्रले नेपाली युवतीलाई बेहुली बनाएर चीन लैजाने र उतै बिक्री गर्ने तथ्य खुलेको बताए । ‘आर्थिक रूपमा सम्पन्न चिनियाँ युवासँग विवाह गराइदिने प्रलोभनमा नेपाली युवतीलाई जम्मा गर्ने र भिजिट भिसामा चीन लैजाने गरिँदोरहेछ । र, युवतीलाई उतै बिक्री गर्ने रहेछन् । धन्दामा संलग्न एक महिला पक्राउ परेकी छिन् । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ,’ उनले भने । 

प्रहरीका अनुसार धन्दामा संलग्न राई आफैँले पनि चिनियाँ युवासँग विवाह गरेकी छिन् । उनी १० वर्षदेखि चीनमै रहँदै आएकी छिन् । उनले सामाजिक सञ्जालमार्फत नेपाली युवतीसँग सम्पर्क गर्ने र अनेक प्रलोभन दिएर युवतीलाई नजिक पार्ने गरेको अनुसन्धानमा खुलेको छ । र, धनी चिनियाँ युवासँग विवाह गर्न प्रोत्साहित गर्थिन् । विवाह गर्न इच्छुक युवा सम्पन्नशाली रहेको प्रमाणित गर्न उनले सामाजिक सञ्जालमार्फत ठूला–ठूला घर र आलिसान जीवनशैलीको दृश्य देखाउँथिन् । 

अनुसन्धानमा पाइएअनुसार युवती विवाह गर्न राजी भएपछि उनी चिनियाँ युवासहित नेपाल आउँथिन् । युवतीसँग चिनियाँ युवाको भेट गराइदिन्छिन् । विवाह गर्न राजी भएपछि भिजिट भिसाको सबै प्रक्रिया मिलाउँथिन् । युवतीलाई युवासँगै जहाजमार्फत चीनको विकट गाउँ पुर्‍याउँथिन् । र, बिक्री गरेर सम्पर्कविहीन बन्थिन् ।

ब्युरोका प्रवक्ता एसपी मिश्रले सोही तरिका अपनाएर राईले अन्य नेपाली युवती पनि चीन लगेर बिक्री गरेको सूचना प्राप्त भएको बताए । ‘उनले आफैँले चिनियाँ युवासँग विवाह गरेकी रहिछिन् र चीन नै बस्ने रहिछिन् । सामाजिक सञ्जालमार्फत नेपाली युवतीसँग सम्पर्क बढाउने रहिछिन् । र, विवाहको प्रस्ताव गर्ने रहिछिन्,’ उनले भने, ‘विवाह गर्न चाहने युवा भन्दै नक्कली दुलाह खडा गर्ने रहिछिन् । धनी भएको प्रमाणित गर्न ठूला–ठूला घर र आलिसान जीवनशैलीको दृश्य सामाजिक सञ्जालबाट देखाउने रहिछिन् । यसरी यिनले धेरै नेपाली युवतीलाई चीन लगेर बिक्री गरेको सूचना प्राप्त भएको छ ।’

प्रहरीका अनुसार उद्धार गरिएकी एक युवती मकवानपुरकी हुन् भने अर्की सिन्धुपाल्चोककी हुन् । मकवानपुरकी युवतीले निर्माणाधीन काठमाडौं–तराई दु्रतमार्गमा मजदुरी गर्ने चिनियाँ युवासँग विवाह गर्ने योजना बनाएकी थिइन् । चिनियाँ युवासँग युवतीको राईमार्फत नै भेट भएको थियो । युवाले युवतीलाई जब चीन पुर्‍याए, त्यसपछि यौन हिंसा र शारीरिक यातना सुरु गरे । 

पीडा बढ्न थालेपछि युवती नेपाल फर्कन चाहिन् । तर, एक लाख ५० हजार रुपैयाँमा खरिद गरिएको भन्दै युवाले युवतीलाई बन्धक बनाए । युवतीले उद्धारका लागि सामाजिक सञ्जालमार्फत गुहार मागिन् । त्यसपछि ब्युरोले उद्धारको कार्य अघि बढायो । उनलाई चीनको विकट गाउँबाट ९ असारमा उद्धार गरी नेपाल ल्याएको थियो ।

सिन्धुपाल्चोककी युवतीसँग पनि राईले नै चिनियाँ युवा भेट गराइदिएकी थिइन् । दुलहीका रूपमा चीन लगेपछि युवाले युवतीलाई यौन र शारीरिक हिंसा गरेका थिए । उनलाई पनि राईले एक लाख ५० हजार रुपैयाँमा नै बिक्री गरेकी थिइन् । उनलाई पनि ब्युरोले उद्धार गरी नेपाल ल्याएको हो । घटनामा संलग्न राई नेपाल आएको सूचनापछि प्रहरीले निगरानी बढाएको थियो । सोही क्रममा उनलाई प्रहरीले ११ असारमा पक्राउ गरेको थियो ।

ad
ad
ad
ad