
नेपाल हक्की संघको आयोजनामा पाँचौँ गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय हक्की पोखरामा सोमबारदेखि सुरु भएको छ । पहिलो दिन घरेलु टोली गण्डकीले दुई खेलमा समान एक जित र हारको सामना गरेको छ । नेपाल आर्मीले दुई जित निकाल्यो । उद्घाटन खेलमा नेपाल पुलिसले गण्डकीलाई ३–१ ले हरायो । अर्को खेलमा गण्डकीले कोशी प्रदेशलाई ६–० ले पाखा लगायो । गण्डकीका असिमबाहेकले ह्याट्रिक गरे ।
विभागीय टोली आर्मीले कर्णालीमाथि ५–० को जित निकाल्यो । आर्मीले बागमती प्रदेशविरुद्ध ८–० ले बाजी मार्यो । कर्णालीविरुद्धको खेलमा दीपेन्द्र ऐरले ह्याट्रिक पूरा गरे । बागमतीका दीपेन्द्र राजवंशीले चार गोल गरे । प्रतियोगिताअन्तर्गत मधेश प्रदेशले बागमतीलाई ३–० ले हरायो । अर्को खेलमा कोशीले लुम्बिनीलाई २–० गोलले पाखा लगाएको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै राखेपका सदस्यसचिव टंकलाल घिसिङले आफू सधैँ खेलाडीहरूको सारथि बन्ने बताएका छन् । नेपालको इतिहास बोकेको खेल हक्कीलाई नजिक बाट हेरिरहेको उनले बताए । ‘नेपाली खेलाडीलाई सम्मान गर्न कानुन नै निर्माण गरेर हामी अघि बढेका छौँ । यहाँहरू आ–आफ्नो खेलबाट अघि बढनुहोस् । म यहाँहरूको सारथि बनेर यहाँहरूको साथमा रहनेछु,’ घिसिङले भने, ‘पोखरामा विभिन्न प्रतियोगिताहरू निरन्तर भइरहेको छ । पोखरालाई खेलकुदको हब बनाउँदै व्यावसायिक खेलकुदको विकाससँगै यसको उचाइ बढाउनसमेत परिषद् तयार रहेको छ ।’ १२ असारसम्म हुने प्रतियोगितामा आठ टोलीले भाग लिइरहेका छन् । विजेताले ५० हजार, उपविजेताले ३० हजार र तेस्रो स्थानमा रहने टोलीले १५ हजार रुपैयाँ पाउनेछ ।